
सन १९८३ को कुरा, कलाकार रमेश खनालका अमूर्त चित्रकला प्रदर्शनीमा राखिएका थिए। कार्यक्रमको प्रमुख अतिथिमा थिए वरिष्ठ समालोचक प्रोफेसर डा. ईश्वर बराल । ‘अरुपन’ शीर्षक राखिएका कलाकृतिलाई केही छिन अवलोकन गरिसकेपछि बराललाई लाग्यो- चित्र र शीर्षकबीच समन्वय अलिक नमिलेको हो कि ? चित्रको शीर्षक परिमार्जन गर्दै कविसमेत रहेका बरालले अरुपनको साटो ‘अरुपण‘ शीर्षक राख्न सुझाए । उनको कुरो सुनेर रमेश मौन बसे।
प्रदर्शनी सकेको केही दिनपछि रमेश खनाल ईश्वर बरालकहाँ पुगे। कलाका विविध वाद र शैलीका थुप्रै कुरा गरे उनीहरुले । केही समयको भलाकुसारीपछि बरालले सल्लाह दिँदै भने, “अब आइन्दा अरुपण शैलीमा काम गर्नू ।”
रमेशमा युवा सोच र केही नौलो गरौँ भन्ने हुटहुटी पहिल्यैदेखि थियो । कलाकारको भिडमा गुमनाम हराउने हो कि भन्ने उनलाई डर लाग्थ्यो । त्यसैले बरालको सल्लाह नमान्ने कुरै थिएन । यसमा उनी सहमत भए। यही बिन्दुबाट अरुपण कला शैलीको जन्म भएको थियो।
‘अरुपण’ संस्कृत शब्द हो, जस्को अर्थ “रुपविहीन” अर्थात् आकृति नभएको भन्ने हुन्छ। यस अर्थमा अरुपण कलाले अमूर्त कलाशैलीसँग नजिकको सम्बन्ध राख्दछ भन्ने देखाउँछ तर उनी यसमा सहमत छैनन् । उनी भन्छन्, “अमूर्तकला र अरुपण कलाबीच आकाश धर्तिको फरक छ । अमूर्तकला विचार र चेतन मनबाट निर्देशित हुन्छ भने अरुपण कलामा पूर्वविचार र पूर्ण चेतन निषेध गरिएको हुन्छ । अर्धचेतन मनबाट शुरुभएको कला पुन: त्यही विन्दुमै पुगेर अन्त्य हुन्छ।”
चित्र सिर्जना गर्नुभन्दा अघि रमेशले कुनै योजना बुन्दैनन्, न त कुनै विचारबाट नै निर्देशित हुन्छन्। बस्, रङ र क्यानभास तयार पार्छन् अनि रङ र लाइनहरुको बेजोड प्रस्तुति दिन्छन्। हेर्दाहेर्दै एकैछिनमा गज्जबको चित्र सृजना भैसक्छ। उनका चित्रहरुमा अर्थ खोज्न दर्शक स्वतन्त्र छन् । उनी भन्छन्, ‘यही त अरुपण कलाको खास विशेषता हो ।’
रमेशको कला जीवनको अधिकांश समय अरुपण कला सृजनाकै सेरोफेरोमा घुमेको छ । अरुपण शीर्षकमै रहेर उनले दर्जनौँ पटक एकल कला प्रदर्शनी र सयौँ पटक सामूहिक कला प्रदर्शनीमा भाग लिई सकेका छन्।
तीन वर्ष जति कलाकार रामनन्द जोशीसँग कलाको ज्ञान लिएका रमेश सात दशक उमेर पार गर्न लाग्दा पनि थाकेका छैनन् । उनको मिहिनेत र इच्छाशक्ति लोभलाग्दो देखिन्छ। चित्रकलाको अलावा उनी संस्थागत कलाको विकास र कला लेखनमा पनि उत्तिकै सक्रिय छन्।
विभिन्न समयमा कलाका महत्त्वपूर्ण कार्यक्रममा अरुपण कलाशैलीको छलफल र विवेचना हुने गरेको छ।
रमेशलाई आफूले जन्माएको अरुपण कला सर्वस्वीकृत भएको देख्दा औधी खुसी लाग्छ। उदाहरणका लागि २० वर्षअघि विराटनगरमा एउटा कला कार्यशालामा थिए उनी । सँगै लैनसिंह बाङ्ग्देल थिए। रमेशले एकै पटक चार ओटा पेन्टिङ बनाएका थिए । एकछिन छक्क परेका बाङ्ग्देलले रमेशको अरुपण कलातिर इंगित गर्दै भने, “रमेश, मलाई यो अरुपण शब्द प्रयोग गर्न २०१८ सालतिरै किन नआएको होला? “
त्यसैगरी साँखुमा एउटा कला कार्यशाला आयोजना गरिएको थियो । कलाकार उत्तम नेपाली साथैमा थिए। रमेशले बनाएको चित्र देखेर उत्तम नेपालीले भने, “रमेश तिमी रङ खन्याउँदा खन्याउँदै स्थापित कलाकार भयौ ।”
रमेशका अरुपण कला शैलीले सहज मान्यता र स्वीकृत पाएका यी माथिका दृष्टान्त काफी छन्।
सुरुका दिनमा रमेश विम्बमाथि अरुपण कला रचना गर्थे । पछिल्लो समय उनी रङहरुसँग बढी खेल्छन् । त्यसो त उनलाई टेक्सचर औधी मनपर्छ। कलालाई जीवन्त बनाउने क्रममा टेक्सचर प्रयोगमा ल्याएका हुन्। कहिले उनी काइँयोको सहयोगले रङलाई एक कुनाबाट अर्को कुनामा पुर्याउँछन् त कहिले काठ र बालुवाको धुलो टाँस्छन्।
“टेक्चरको प्रयोगले दर्शकको मस्तिष्कलाई गहिरोसँग छुन्छ र एकप्रकारको मनोवैज्ञानिक प्रभाव छोड्छ,” उनी भन्छन्।
उनको रङ प्रयोग र तिनलाई संयोजन गर्न सक्ने गज्जबको खुबी छ। रमेशले विभिन्न रङहरुलाई एकै पटक प्रयोग गर्छन् । प्राय: निलो, रातो, हरियो, पहेँलो र कालो रङलाई क्यानभासमा खन्याउँछन् । सुरुमा ती रङहरुमा विरोधाभास देखिन्छन तर चित्र पूरा हुँदानहुँदै गज्जबको संयोजन देखिन्छन् । सरसर्ती हेर्दा उनका चित्रहरु स-साना बालबालिकाले जथाभावी रङ खन्याएजस्तो देखिन्छ। कतिका लागि ती चित्र बिग्रिएका जस्ता पनि लाग्छन् तर गहिरिएर अवलोकन गर्दा ती चित्रहरु जीवनशास्त्रको दर्शनबाट ओतप्रोत भएका हुन्छन् ।
आज हामी यिनै रमेशका केही कलाकृति अवलोकन गर्नेछौँः




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









