अमेरिका । ग्रेटर वासिङ्टन डी.सी. मेट्रो क्षेत्रका नेपाली समुदायले अमेरिकी पुस्तकालयहरूलाई नेपाली साहित्यको एक महत्वपूर्ण उपहार प्रदान गर्नुभएको छ । स्थानीय १२ वटा पुस्तकालयहरूलाई करिब दुई सय नेपाली पुस्तकहरूको दान गरिएको छ ।

गत फेब्रुअरी १५ मा प्रिन्स विलियम काउन्टीको ‘हेमार्केट गेन्सभिल पब्लिक लाइब्रेरी’ लाई एक सय असी ओटा पुस्तक हस्तान्तरण गरिएको थियो। पुस्तकालयकी निर्देशक बेथ वाकरले यस दानप्रति खुसी व्यक्त गर्दै यी पुस्तकहरूलाई विश्वभाषा खण्डमा सुरक्षित राखिने बताउनुभयो । पुस्तकालय सामग्री व्यवस्थापन सेवा विभागका सहायक निर्देशक कर्क जोनसनले यो दानले गैर–अङ्ग्रेजी भाषी पुस्तकहरूको सङ्ख्या बढाउन ठूलो सहयोग पुग्ने बताउँदै भविष्यमा नेपाली पुस्तक विक्रेताहरूसँग सम्पर्क गरी थप पुस्तकहरू थप्ने योजना समेत सुनाउनुभयो।

पुस्तक दानकर्ता मन्जु थापाले विश्वभर करिब चार करोड मानिसले नेपाली भाषा बोल्ने तथ्याङ्क प्रस्तुत गर्दै अमेरिकामा बढ्दो नेपाली जनसङ्ख्यालाई ध्यानमा राखी यो पहल गरिएको बताउनुभयो । उहाँले पुस्तकालय व्यवस्थापनसँग साढे चार महिनादेखि निरन्तर छलफल गरी यो दान सम्भव भएको जानकारी दिनुभयो।

दान गरिएका पुस्तकहरूमा नेपाली शब्दकोश, अंग्रेजी–नेपाली शब्दकोश, धार्मिक ग्रन्थ, सांस्कृतिक र ऐतिहासिक पुस्तक, उपन्यास, कथा, कविता, निबन्ध, आत्मकथा, संस्मरण, यात्रा संस्मरण आदि विधा समावेश छन्। मन्जु थापा, रमेश खनाल, लेखनाथ भण्डारी, जयदेव गौतम लगायत ११ जना नेपालीहरूले यो दानमा योगदान गर्नुभएको छ।

कार्यक्रममा पुस्तक दानकर्ताहरूका साथै अन्य नेपाली समुदायका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। पुस्तकालयले भविष्यमा पनि नेपाली पुस्तक दान गर्न इच्छुक दाताहरूलाई स्वागत गर्ने जनाएको छ। यो दानले अमेरिकामा नेपाली साहित्य र संस्कृतिको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।