साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नारी स्रष्टा पाठक र कार्कीलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’

Chovar Blues Mobile Size

नेपाल स्रष्टा समाजले योगमाया दिवसको अवसर पारेर दुई नारी स्रष्टाहरू हिरण्यकुमारी पाठक र रुकु कार्कीलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रदान गरेको छ । नेपाल प्रज्ञा पतिष्ठानको लेखनाथ सभाकक्षमा बुधबार आयोजित सो कार्यक्रममा गङ्गाप्रसाद उप्रेतीले उक्त पुरस्कार प्रदान गर्नुभयो ।

पाठकलाई २०७८ सालको र कार्कीलाई २०७९ सालको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रदान गरिएको हो । यसैगरी सोही कार्यक्रममा स्रष्टा समाजले ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ भोजपुरका अध्यक्ष मोहनकुमार बस्नेतलाई प्रदान गरेको छ । उहाँ योगमाया स्मृति प्रतिष्ठान, भोजपुरमा अध्यक्ष भई कार्यरत हुनुहुन्छ ।

कार्यक्रममा श्रीओम श्रेष्ठ रोदनले स्वागत मन्तव्य दिनुभएको थियो । सो क्रममा उहाँले प्राडा. गोविन्दमान सिंह कार्कीद्वारा पुरस्कृत व्यक्तित्वबारे चर्चा गर्नु भएको थियो । प्राडा. कार्कीले योगमायाबारे विशेष अध्ययन अनुसन्धान गरेर २०६९ सालमा ‘समाज सुधारक योगमाया’ पुस्तक प्रकाशित गर्नुभएको थियो । साझा प्रकाशनद्वरा प्रकाशित सो पुस्तकको तेस्रो संस्करणसमेत प्रकाशित भइसको छ ।

‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’का संस्थापक पवन आलोक र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’का संस्थापक राजेश न्यौपानेले योगमायाले नारी चेतना अभिवृद्धिमा पु-याएको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, हिरण्यकुमारी पाठक, रुकु कार्की, मोहनकुमार बस्नेतले पनि मन्तव्य प्रकट गर्नुभएको थियो । समाजका अध्यक्ष विधान आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जानू धितालले गर्नु भएको थियो ।

sagarmani mobile size

उक्त कार्यक्रममा लेखनाथ भण्डारीद्वारा तयार पारिएको जीवनी र मूल्याङ्कन कृति ‘योगमाया’को विमोचनसमेत गरिएको थियो ।

प्रतिक्रिया
Loading...