भक्तपुर, फागुन १ / भक्तपुरको एउटा स्कुलले स्कुलमा अध्ययनरत बालबालिकाहरुको जन्मदिनको अवसरमा जम्मा भएको रकमबाट दुर्गम क्षेत्रका तीन वटा स्कुलमा पुस्तकालय स्थापनाका लागि पुस्तक सहयोग गरेको छ ।
भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलले सिन्धुपाल्चोक, मकवानपुर र चितवन जिल्लाको दुर्गम क्षेत्रमा रहेका तीन वटा सरकारी स्कुललाई प्रतिस्कुल दुईदुई लाख भन्दा बढी रकमको पुस्तक सहयोग गरेको हो ।
स्कुलको सोमबार भएको ४० औं वार्षिकोत्सवको अवसरमा ती पुस्तकहरू हस्तान्तरण गरिएका हुन् । वार्षिकोत्सवका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ती पुस्तकहरू हस्तान्तरण गर्नुभएको हो ।
मादी ५ रमाइलो डाँडास्थित दिवाकर स्मृति माध्यमिक विद्यालय चितवन, इन्द्रवती १२ भीमटारस्थित भीमेश्वर माध्यमिक विद्यालय सिन्धुपाल्चोक र बागमति ६ रातोमाटेस्थित जनहित आधारभूत विद्यालय मकवानपुरलाई पुस्तक हस्तान्तरण गरिएको हो ।
भीमेश्वरका प्रिन्सिपल कृष्णप्रसाद श्रेष्ठ, जनहितका प्रिन्सिपल रत्नबहादुर कुलामी र दिवाकरका प्रिन्सिपल राजु अधिकारीलाई पुस्तक हस्तान्तरण गरिएको हो ।
एभरेष्ट स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले प्रत्येक वर्ष वर्षभरिमा स्कुलका विद्यार्थीको जन्मदिन रकमबाट जम्मा भएको पैसाबाट दुर्गम स्कुलका सरकारी विद्यालयहरूमा पुस्तकालय स्थापना गर्न पुस्तक सहयोग गरी हस्तान्तरण गर्दै आएको जनाउनुभयो ।
हालसम्म देशका २३ जिल्लाका २४ विद्यालयहरुलाई पुस्तकालयका लागि पुस्तक हस्तान्तरण गरिसकेको उहाँले जनाउनुभयो । विद्यार्थीको जन्मदिनको अवसरमा चकलेट बाँड्ने, कुक बाँड्नेलगायतका कामलाई राकेर त्यसको सटामा जन्मदिनमा खर्च हुने आफूले इच्छाएको रकम विद्यार्थीले जम्मा गर्ने र वर्षभरिमा यसरी जम्मा भएको रकमबाट दुर्गम जिल्लाका स्कुलमा पुस्तकालय स्थापना गर्न पुस्तक सहयोग गर्ने गर्दे गरेको उहाँले बताउनुभयो ।
यो वर्ष तीन वटा स्कुललाई प्रतिस्कुल दुईदुई लाख भन्दा बढीको रकम बराबरको पुस्तक सहयोग गरेको उहाँले जनाउनुभयो । साथै, ती तीन वटा स्कुलका प्रत्येक विद्यार्थीलाई एउटाएउटा कापी र पेन्सिल थप पेन्सिल सहयोग गरेको र ती तीनवटा स्कुलमा गरी झण्डै एक हजार नौ सय विद्यार्थी यसबाट लाभान्वित रहने उहाँले बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, अर्को विशिष्ट अतिथि राष्ट्रगानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लगायतले शिक्षाक्षेत्रका विभिन्न विषयबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, अभिभावक अरुण पौडेल लगायतले विद्यालयका विविध विषयमा चर्चा गर्नुभयो ।
कार्यक्रममा विद्यालयबाट पछिल्लो एसईई परीक्षामा चार जीपीए ल्याएन सफल दुई जना विद्यार्थी छात्रमा अनुपम भट्टराई र छात्रामा प्रिसा बज्राचार्यलाई प्रतिव्यक्ति २५ पच्चीस हजार नगदसहितको पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको बीचमा विद्यार्थीले साँस्कृतिक कार्यक्रमहरू पनि प्रदर्शन गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।