कतारस्थित नेपाली दूतावासमा पुस्तकालयको स्थापना गरिएको छ ।

सरस्वती पूजाको अवसर पारेर कतारमा रहेका पुस्तकप्रेमी पाठकहरूको समूह प्रवासी नेपाली समुदायले पुस्तकालय स्थापना गरेका हुन् ।

पुस्तकालयमा रहेका नेपालको इतिहास, राजनीतिक र पर्यापर्यटनसम्बन्धी पुस्तकले कतारमा रहेका नेपालीलाई ज्ञानआर्जनमा सहज बनाउने कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले बताए ।

त्यस्तै दूतावास निरीक्षण गर्न आउने अन्य देशका कूटनीतिक व्यक्तित्वहरूलाई नेपालको बारे जान्न र बुझ्न सहयोग गर्ने उनको भनाइ छ ।

८ वर्षदेखि कतारमा वैदेशिक रोजगारीमा रहेका सुरेश भट्ट पुस्तकालय स्थापनाले पढ्न रुचि हुनेहरुलाई सजिलो हुने बताए । ‘खाडीमा केवल श्रमिकहरू मात्र जान्छन् भन्नेमा जुन भाष्य निर्माण भएको थियो, त्यो परिवर्तन भएको छ । अब दैनिक कतार उड्ने प्लेनहरूमा श्रम गर्न आउने श्रमजीवीसँगै नेपाली पुस्तक बजारमा आएका नयाँ-नयाँ पुस्तकहरू पनि आउँछन्’ उनले भने ।

पुस्तकालयमा ४०० हाराहारी पुस्तक रहेको पुस्तकालय व्यवस्थापन गरिरहेका कल्याण थापा बताउँछन् । अनलाइन खबर