बिब्लियो रेनेसाको आशा

एक समय पुस्तकालय भन्नेबित्तिकै चुपचाप बस्नुपर्ने किताबको खात लगाइएको अनाकर्षक ठाउँ हो भन्ने बुझिन्थ्यो । तर त्यस्तो मान्यतामा परिवर्तन आउँदैछ । संसारभरिका वास्तुविद्, वास्तुकलाका मर्मज्ञहरूले पुस्तकालयलाई आकर्षक ठाउँ मात्र होइन, सुदूर भविष्यमा समेत पुराना नहुने डिजाइनका आकर्षक पुस्तकालयहरू निर्माण गर्न थालेका छन् ।
आज यहाँ हामी संसारका उम्दा पुस्तकालयका उम्दा डिजाइनहरू हेर्नेछौँ ।
पुस्तकालय भनेको पुस्तकहरूको भिड मात्र होइन, समयानुकूल निस्किएका पुस्तकहरूको सङ्ग्रह पनि हो । पछिल्लो समय अडियो बुक पनि उत्तिकै निस्कने गरेका छन् र ती लोकप्रिय पनि हुन थालेका छन् ।
कतिसम्म भने कतिपय पुस्तकालयमा त तपाईँलाई चाहिएका पुस्तक रोबोटले दिने गरेका छन् ।
यस किसिमको क्रियाकलाप र सुविधाले पुस्तकालयलाई एउटा बेग्लै कला तथा सामाजिक अन्तर्क्रियाको थलो बन्ने देखाएको छ ।

अमेरिकाको पिउ रिसर्च सेन्टरको विश्लेषणअनुसार पछिल्लो समय अमेरिकामा मिलेनियल पुस्ता (जो सन् २००० भन्दा पछि जन्मिएको छ)ले अन्य पुस्ताभन्दा बढी पुस्तकालय प्रयोग गर्न थालेको छ ।
जसका कारण पुस्तकालयहरूलाई सेवा सुदृढ पार्नुपर्ने दबाब पनि पढेको छ । इतिहासकारहरू १७ औँ शताब्दीलाई पुस्तकालयका लागि स्वर्णयुग रहेको बताउँछन् । पछिल्लो समय पुस्तकालयलाई जसरी भविष्यमा समेत अस्तित्व जोगाउने किसिमको बनाउन ढिला भइसकेको तर्क गर्छन् । बिब्लियो-रेनेसा अर्थात् पुस्तकालयको पुनर्जागरणको समय ल्याउन केही व्यक्ति तथा संस्थाहरूले भरपुर प्रयास गरिरहेका छन् ।
तीमध्ये एक हो, आकर्षक डिजाइन,छिरूँ छिरूँ लाग्ने, बसूँ बसूँ लाग्ने सहजता र घण्टौँ बस्दा पनि थकाइ नलाग्ने ठाउँ भयो भने मात्र बिब्लियो रेनेसाको सोच व्यवहारमा लागु हुन्छ ।
आउनुस्, संसारमा कस्ता काम भइरहेका छन् पुस्तकालय पुनर्जागरणका लागि हेरौँ-
अमेरिकाको टेक्सस राज्यस्थित अस्टिनमा रहेको अस्टिन सेन्ट्रल लाइब्रेरी १२० मिलियन डलरमा निर्माण सम्पन्न भएको हो । सन् २०१७ मा निर्माण सम्पन्न भएको यो पुस्तकालयमा तीन लाख ७३ हजार लिटर पानी सङ्कलन गरेर राखिएको छ । खासगरी वर्षायाममा परेको पानीलाई संरक्षण गरी राखिएको यो पहिलो पुस्तकालय हो । खासगरी पछिल्लो समय टेक्ससमा पानीको सङ्कट चुलिएपछि त्यसको समाधानका लागि रेन वाटर हार्भेस्टिङ अर्थात् वर्षातका बेला परेको पानी सङ्कलन गरी राख्ने विधि निकै लोकप्रिय हुन थालेको छ । तर पानीको सङ्कट नगहिरियोस्, २४ सै घण्टा उपलब्ध गराउन सकियोस् भनी पुस्तकालयले विशेष व्यवस्था गरेको हो । जुन ठाउँमा पानीको अभाव हुन्छ, त्यहाँका मान्छेलाई यो व्यवस्था के हो भन्ने थाहा हुन्छ ।
पुस्तक र यहाँ पढ्न मिलाइएको व्यवस्थापनको त कुरै भएन ।
सामूहिकतामा ध्यान दिने क्यानडाको यो पुस्तकालय
क्यानडाको क्याल्गरीस्थित नयाँ सेन्ट्रल लाइब्रेरी गएको वर्ष नोभेम्बर १ मा सर्वसाधारणका लागि खुला गरिएको हो । २४५ मिलियन डलर खर्च भएको यो पुस्तकालयलाई नर्वेको आर्किटेक्चर फर्म नोहेट्टा र क्यानडेली डाइलग कम्पनीले संयुक्त रूपमा बनाएका हुन् ।
यो पुस्तकालयको खास विशेषता भनेको एक्लो पठन भन्दा पनि सामूहिक रूपमा पठन गर्न सजिलो पारिएको छ । अबको पठन एकलभन्दा पनि सामूहिक बनाउन सकिएन भने मानिसहरू अझ बढी एक्लिदै जाने आँकलनका साथ संयुक्त पठनका लागि यहाँ जोड दिइएको छ । डिजिटल सिकाइलाई बढी जोड दिइएको छ ।
हेलसिन्की केन्द्रीय पुस्तकालय उडी, फिनल्यान्ड
काठको दुर्लभताका बेलामा फिनल्यान्डले भने काठकै अधिकतम प्रयोग गरेर नयाँ पुस्तकालय बनाएको छ । त्यसो त फिनल्यान्डमा काठबाट निर्मित चिजबस्तुलाई विशेष महत्त्व दिइन्छ, त्यसैले पनि यो भवन पनि काठलाई जोड दिई बनाइएको हो ।
यहाँ पुस्तक पढ्ने मात्र होइन, सिनेमा हेर्ने सुविधासमेत उपलब्ध छ । बालबालिकाका लागि मनोरञ्जनस्थल पनि छुट्याइएको छ ताकि बालबालिकाका आमाबाबु पढ्न मग्न रहेका बेला उनीहरू खेलेर मनोरञ्जन लिन सकून् ।
हन्ट लाइब्रेरी, रेलिग, नर्थ क्यारोलाइना, अमेरिका
भिडियो लाइब्रेरीका रूपमा प्रख्यात भए पनि यो पुस्तकालयमा अन्य पुस्तकहरू पनि उत्तिकै पाइन्छन् । यसको मुख्य विशेषता चाहिँ सौर्य ऊर्जाको अधिकतम प्रयोग हो । सन् २०१३ मा निर्माण सम्पन्न भएको यो पुस्तकालय यस मानेमा विशेष छ कि यो पुरानो भवनलाई नै छेडछाड गरी विशेष भवन बनाइएको छ ।
फिलोलजिकल पुस्तकालय, बर्लिन, जर्मनी
जर्मनीको बर्लिनमा रहेको फिलोलजिकल लाइब्रेरी संसारका उम्दा पुस्तकालयमध्येमा पर्छ । यसलाई कसैकसैले बर्लिन ब्रेन भनी उपनाम समेत राखिदिएका छन् । सन् २००५ मा निर्माण सम्पन्न भइसकेपछि सर्वसाधारणका लागि खुला गरिएको छ । बेलायती डिजाइनर नर्मन फोस्टरको यो सिर्जनाको सबैभन्दा राम्रो पक्ष भनेको ऊर्जाको न्यूनतम खपत नै हो ।
कतार नेसनल लाइब्रेरी, दोहा, कतार
दोहा केन्द्रीय पुस्तकालयको विशेषता भन्नु नै यहाँ रहेका १० लाख पुस्तकहरूको सजावट हो । सन् २०१७ मा यो पुस्तकालयको उद्घाटन गरिएको थियो ।
द अरेबियन लाइब्रेरी, स्कट्सडेल, एरिजोना, अमेरिका
युवापुस्ताका पाठकहरूलाई लोभ्याउने हिसाबले बनाइएको यसको डिजाइन निकै राम्रो छ । यो खासमा एउटा पुरानो पुस्तकालय र नयाँ क्रियाकलापमा जोड दिने पुस्तकालय हो । वातावरणमैत्री सामग्रीहरूबाट यसको निर्माण गरिएको हुनाले विभिन्न संस्थाबाट यो पुस्तकालय पुरस्कृतसमेत भएको थियो ।
मन्सुटो पुस्तकालय, सिकागो, अमेरिका
अमेरिकाको सिकागो विश्वविद्यालयको मन्सुएटो पुस्तकालय कुनै साइफाइ फिल्मभन्दा कमको दृश्य देख्न पाइँदैन । ३५ लाख पुस्तकहरूको सङ्कलन बोकेको यो पुस्तकालय सन् २०११ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । यहाँ एक साथ १८० विद्यार्थीहरूले अध्ययन गर्न सक्छन् ।
तियानजिन बिनहाई पुस्तकालय, तियानजिन, चीन
चीनको तियानजिन बिनहाई पुस्तकालयको यो दृश्यले सबैलाई चकित बनाउँछ । सन् २०१७ मा निर्माण सम्पन्न भएको यस पुस्तकालयले हरेक दिन १० हजार जनालाई स्वागत गर्छ । एउटा डच डिजाइन कम्पनी MVRDV ले बनाएको हो । तर यहाँ देखिएका पुस्तक वास्तविक भने होइनन् । पुस्तक पढ्नका लागि बेग्लै ठाउँ जानुपर्छ तर पर्यटकहरू पुस्तकालयको यही भागमा आएर तस्बिर खिच्ने खिचाउने गर्छन् । यहाँ पढ्न नमिल्ने नक्कली पुस्तक राखेर पाठकहरूको अपमान गरिएको केहीको भनाइ रहे पनि पर्यटकहरूले भने यो सोचलाई निकै रुचाएका छन् ।