इतर अभियान नामक साहित्यका अभियन्ता लेखक तथा कवि पराजित पोमुद्वारा लिखित कविता कृति ‘मद्वारा मेरो निर्माण’ विमोचन भएको छ ।
गत आइतबार दक्षिण कोरियाको सउल दोङ्देमुनको एक हलमा कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाति महासंघ कोरियाका कार्यवाहक अध्यक्ष बिशन राईको उपस्थितिमा विमोचन भएको हो ।

इतर अभियान र आदिवासी जनजाति साहित्यकार लेखक महासंघ दक्षिण कोरियाको आयोजित पुस्तक सार्वजनिक तथा परिचर्चामा वक्ताहरू केरुङ हाङसेङ, जीवन खत्री, शकुन आँसु, विष्णु संन्यास, ह्यारी बोण्ड, आरएन अधिकारी, सुष्मा रानाहँमा, सेसेफुङ, दीपा मेवाहाङ राईले कृति माथि चर्चा, सुझाव र त्रुटिबारे सुझाए । साथै कृतिको एक-एक कवितासमेत वाचन गरेको थियो ।

मद्वारा मेरो निर्माण पुस्तक लेखक पराजित पोमुले वक्ताहरूले दिएको सुझावलाई धन्यवाद दिँदै पुस्तक माथिको शब्दहरूलाई सकारात्मक रूपमा बुझिदिनु अनुरोध गरे ।

त्यस्तै कविताहरूमा पहिचान मुद्दा र सिमान्तकृतको आवाज बोलेको जनाकारी दिए । त्रृटिपूर्ण शब्द र सम्पादनलाई आगामी दिनमा सुधार गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कवि पोमुको यो दोस्रो कृति हो । यस कृतिलाई फिनिक्स बुक्सले प्रकाशित गरेको छ । उनको पहिलो कविता कृति २०७३ सालमा ‘लेप्मुहाङको डुङ्गा’ प्रकाशित छ ।

पुस्तक लेखक तथा कवि पराजितलाई आयोजकले सम्मानपत्रले सम्मानसमेत गरेको थियो । पुस्तक सार्वजनिक तथा परिचर्चामा कार्यक्रमको सभापति कवि सुष्मा रानहँमा थिइन् ।