
आफ्नी स्वर्गीय धर्मपत्नीको सम्झनामा दोलखाका एक समाजसेवीले जिल्लाकै जेठो सामुदायिक क्याम्पसमा २५ लाख खर्च गरेर विद्यार्थी पढ्ने पुस्तकालय बनाउनुभएको छ । नागरिकन्युजमा रमेश खतिवडाका अनुसार जिल्लाको भीमेश्वर नगरपालिका २ स्थायी घर भएका समाजसेवी तथा वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठले आफ्नी स्वर्गीय धर्मपत्नी रुपा श्रेष्ठको सम्झनामा सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा पुस्तकालय निर्माण गर्नुभएको हो ।
पुस्तकालयलाई नगरका मेयर ईश्वरनारायण मानन्धरले उद्घाटन गर्नुभयो । मानन्धरले श्रेष्ठको कामको प्रशंसा गर्नुभयो। क्यान्सर रोगबाट पीडित श्रेष्ठपत्नी रुपाको गत वर्ष निधन भएको थियो। उहाँसमेत सामाजिक अभियानमा सक्रिय हुनुहुन्थ्यो। क्याम्पसको क्याम्पस सभा सदस्य समेत रहनुभएकी रुपाले दोलखाको शैक्षिक विकासका लागि विभिन्न अभियान चलाउँदै आउनुभएको थियो ।
समाजसेवी श्रेष्ठ दोलखाको सामाजिक अभियानमा लामो समयदेखि सक्रिय हुनुहुन्छ। जिल्लामा विद्यालय, अस्पताल लगायतको निर्माण र स्थापनामा श्रेष्ठको नाम सधैं अगाडि आउँछ। ७६ वर्षका उहाँले शिक्षा, स्वास्थ्य सहितका सामाजिक क्षेत्रमा गरेको योगदानले सामाजिक अभियानमा उत्साहका साथ काम गर्न जो कोहीलाई प्रेरित गर्ने नगरप्रमुख मानन्धरले बताउनुभयो।
विकसित समाजमा विद्यालय र क्याम्पसभन्दा बढी पुस्तकालयलाई महत्व दिने गरेको र विद्यार्थीलाई पढ्ने स्थान र किताबको अभाव नहोस् भनेर आफूले जीवनसंगिनीको सम्झनामा पुस्तकालय निर्माण गरेको श्रेष्ठले बताउनुभयो। पुस्तकालयलाई इलाईब्रेरीका रुपमा विकास गर्ने क्याम्पस प्रमुख शान्त केसीले बताउनुभयो।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले क्याम्पससमा व्यवस्थित पुस्तकालय बनेपछि शैक्षिक गुणस्तरमा सघाउ पुग्ने बताउनुभयो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

