हार्भे जे. ग्राफ
हामी बडो अनाकलनको युगमा छौँ । कुन बेला के हुने हो, पत्तो छैन । नाराहरूको वर्षात भइरहेको छ । हामी तिनलाई पढिरहेका छौँ । सुनिरहेका छौँ । नारा के छ भने, फलानो क्लासिक किताब फलानो कुराको विरूद्धमा छ । त्यसैले त्यसलाई प्रतिबन्ध लगाउनु पर्छ । झट्ट सुन्दा त्यस्ता नाराहरू आकर्षक हुन्छन् । प्रकाशकले मनन गर्नुपर्ने देखिन्छ । प्रजातन्त्र र मानवताका नजरमा त्यो सही हुन्छ ।
तर उहिलेका किताबमा जब अहिलेको चश्मा लगाएर हेर्न थालिन्छ, त्यहाँ धेरै थोक गडबड हुन थाल्छ । त्यसैले त उस जमानामा हामीले क्लासिक साहित्य भनेर पढेका किताबहरू धमाधम स्कुलहरूमा प्रतिबन्धित हुन थालेका छन् । पुस्तकालयबाट ती पुस्तकहरू गायब हुन थालेका छन् । जब ती किताब पढ्न खोजिन्छ, त्यसमा भएको गलत कुराको पक्षपोषणको आरोपमा पढ्न दिइँदैन । यो अहिले युरोप र अमेरिकामा भइरहेको छ ।
र, यसले साहित्यमाथि अत्याचार गरिरहेको छ । यसतर्फ कसैको पनि ध्यान जान सकेको छैन । यसले संविधानतः प्रदान गरिएको मौलिक अधिकार र प्रजातान्त्रिक अभ्यासको बिल्कुलै विरूद्धमा छ । सो कार्य मानवताविरोधी मात्र होइन, हाम्रो विनम्रता र सभ्यतालाईसमेत हानि पुर्याउने कार्य हो ।
गएका शताब्दीहरूमा हामीले पिँधका मानिसहरूले कुनै पनि कुरा पढ्न नपाऊन् भनेर सकेसम्म पहुँचबाहिर राख्यौँ । तिनले किताब पढे भने हामीलाई पछार्छन् भन्ने आशङ्का राख्यौँ । कसले के पढ्ने र के नपढ्ने भन्ने कुरामा जिम्मेवार भयौँ । तर अहिले पनि सोही कार्य दोहोर्याइँदैछ । यस हिसाबले त नयाँ किसिमको असाक्षरता बढ्ने छ ।
युवा र बालबालिकाहरूले के पढ्ने र के नपढ्ने भन्नेबारेमा यसअघि कहिल्यै यति साह्रो प्रतिबन्ध लगाइएको थिएन । बरू वयस्क पाठकहरूका लागि के उचित र के अनुचित भनेर छुट्याउने गरिन्थ्यो । यसअघिका सामूहिक प्रयत्न चाहिँ गोरा लेखकहरू तारोमा पर्ने गर्थे, जसमा मार्टिन लुथरदेखि मार्क ट्वेन, जोन स्टेनबेक, जेआरआर टोकिन, फिलिप रोथ र जेडी सेलिङ्गरका किताबहरू बेला मौकामा प्रतिबन्धमा पर्थे । यस्तै हार्पर लीसँगै काला जातिका लेखिकाहरू एलिस वाकर अथवा टोनी मोरिसनका पुस्तक पनि प्रतिबन्धमा परे, केही समय । त्यो बेला चाहिँ प्रतिबन्ध लगाउँदा कसैको अनुहार वा रङ हेर्ने चलन थिएन । कुनै विषय मन नपर्दाका बेला ती विधा वा विषयमा लेख्ने काला वा गोरा जस्तासुकै लेखक पनि घानमा पर्न सक्थे ।
यतिबेला प्रतिबन्ध लेखकबाट अघि बढेर लक्षित समूहमा पुगेको छ । किशोर किशोरीले आफ्ना पठन सूचीमा के राख्ने र के नराख्ने भन्ने कुरामा छानी छानी चियो गर्न थालियो । यसले चाहिँ गम्भीर प्रभाव पार्न थालेको छ । यसले प्रकाशक, पुस्तक बिक्रेता र लेखकहरूलाई एकै झमटमा प्रभाव पारेको छ ।
उदाहरणका लागि कुनै गोरा पुरूष लेखक छ र उसले अश्लील दृश्य लेख्यो भने प्रतिबन्ध लगाउनेहरूको ध्यान खासै आकृष्ट हुँदैन । तर त्यही कुरा काला जातिका लेखकहरू लेखेका खण्डमा त्यो अश्लील बन्न पुग्छ र त्यो पुस्तक पसलबाट गायब हुन सक्छ ।
अमेरिकन लाइब्रेरी एसोसिएसन, फ्रिडम टु रिड फाउन्डेसन, बुकरियोटले संयुक्त रूपमा गरेको एउटा शोधले गोरा पुरूषबाहेक अरूले लेखेका पुस्तकहरू बढी नै रेसिस्ट, सेक्सिस्ट, ट्रान्सफोबिक, जेनोफोबिक, इस्लामोफोबिक आदि वर्गमा राख्ने गरिएको छ । यसरी यो वर्गमा पुग्नेबित्तिकै ती पुस्तक फराकिलो पाठकमाझ पुग्न गाह्रो हुन्छ । र, ती पुस्तक निस्कनेबित्तिकै फ्लप हुन पुग्छन् । लेखकले पाउनुपर्ने सम्मान पाउँदैनन् ।
यो कुनै आकस्मिकता वा एकादुई घटना मात्र होइन । केही सामाजिक सञ्जालका अभियन्ता र कालोबजारीबाट उठाइएका पैसा चलाउने वेबसाइटहरूले त्यस्ता पुस्तकमाथि भए नभएको टिप्पणी गरेर भुत्ते बनाइिदन्छन् । एक मुखले ती किताबको विरोध गरेपछि राम्रै छ त भन्ने लाग्नेहरू पनि बोल्न हच्किन थाल्छन् ।
यसले समग्रमा भोलिका दिनमा कस्तो असर गर्छ भन्ने सोच्न जरूरी छ । जस्तो, कन्टेन्ट ठूलो बालबालिकाको समुदायमा पुगेर पढ्नुअघि नै जब त्यसलाई केही कुराको ठप्पा लगाइन्छ, त्यसमा के लेखिएको थियो भनेर बुझ्नबाट बालबालिका वञ्चित हुन्छन् । उनीहरूमा ती पुस्तक पढेर इतर विचार निर्माण गर्न पाउँदैनन् । ती विषयबारे बुझ्न, हुर्कन र वयस्क हुन पाउँदैनन्र । मानवता र प्रजातन्त्रको मूल विधाको उपभोगबाट उनीहरू वञ्चित हुन्छन् ।
ती उपन्यास पढ्न बालबालिकाहरूले अप्ठेरो महसुस गर्ने कथित धारणाका कारण ८० प्रतिशत चिजबिजहरू प्रतिबन्धित हुन पुग्छन् । र, यसले स्वतन्त्र समाजको पगरी गुथेको अमेरिकाले स्थापना गरेको कानुनी अधिकारसमेत कुण्ठित पारिदिन्छ ।
किताब प्रतिबन्ध लगाउनुपर्ने मागका कारण प्रकाशक, विक्रेता र लेखकहरूलाई एउटा अनौठो चुनौती थपिदिन्छ । र, यो चुनौतीमाथि विरलै छलफल हुने गरेको छ । उनीहरूको मर्काका बारेमा शायदै कसैलाई मतलब छ ।
हुन त यस किसिमको पुस्तक विरोधको राजनीतिले केही छोटो अवधिका लागि लेखक तथा प्रकाशकलाई फाइदा नपुग्ने पनि होइन । ती बजारबाटै गायब होलान् भनेर केही पाठकले हतारहतार किन्ने गर्छन् । यसको फाइदा तत्काल देखिन्छ । तर जब हल्ला शान्त हुन्छ, किताबको व्यापार शून्यमा झर्छ ।
उदाहरणका लागि, आर्ट स्पिजेलम्यानको माउस, टोनी मोरिसनका विभिन्न पुस्तकहरू, एस्ले होप पेरेजको आउट अफ डार्कनेस, निकोल हाना जोन्स द १६१९ प्रोजेक्ट, इसाबेल क्विन्टेरोको गाबीः अ गर्ल इन पिसेज्, निक स्टोनको डिप मार्टिन र जेरी क्राफ्टको न्यु किडजस्ता किताबहरूलाई केही विक्रेताले प्रतिबन्धित पुस्तकहरूको चाङ शीर्षकमा राखिदिनाले ती केही समय राम्रै बिक्री भए ।
केहीले त अचेल ब्यान्ड बुक्स शृंखला नै चलाउन थालेका छन् । जहाँ, कुनै समय, केही कारणले प्रतिबन्ध लगाइएका पुस्तकहरू हरेक महिना मासिक शुल्क लिई पाठकहरूलाई घरैमा पुर्याइन थालेको छ ।
यस किसिमको छोटो बिक्रीले पाठक, विक्रेता र लेखकलाई खासै फाइदा भने दिलाउँदैन । कक्षाकोठामा गरिने प्रतिबन्धले राजनीतिक रूपमा दबाब सिर्जना गर्ने गर्छ । अचेल अमेरिकाको रिपब्लिकनले राज गरेका राज्यहरूमा त्यस्ता किताबलाई स्कुलसम्म भित्र्याउनबाट रोक्न कानुन निर्माण गर्ने प्रयास जारी छ र यस किसिमको व्यवहार गैरसंवैधानिक क्रियाकलाप हो भनेर कोही जङ्गिएको समेत देखिदैन । यस कानुनले प्रत्यक्ष मारमा पर्ने प्रकाशक, लेखक, प्रचारकहरू, लेखक, एजेन्ट, वितरक, बिक्रेताहरू उल्टै तिनका कुरामा समर्थन जनाइरहेको देखिन्छन् ।
यसले किताब प्रतिबन्धित नै नभए पनि यो पूराका पूरा प्रणालीले किताब कम छाप्ने, छापे पनि बजारमा नलैजाने, लगे पनि पसलमा नपुर्याउने, पुगे पनि राम्रोसँग डिस्प्ले नगर्ने बानीको विकास गर्नेछ । बिस्तारै नयाँ संस्करण छापिने छैन र बजारबाट ती पुस्तकहरू गायब हुनेछन् । छापाबाट पुस्तक गायब हुनु भनेको डरलाग्दो सांस्कृतिक, राजनीतिक र आर्थिक अवस्था हो ।
यसरी अधिकारका लागि लडाइँ लडिरहेका संस्थाले हेर्दा राम्रै देखिएन पनि नराम्रोसँग प्रकाशन उद्योगको आत्मविश्वास खाइदिन्छन् । तिनले लेखकको आत्मविश्वास खाइदिन्छन् । तिनको कलम र किबोर्ड चलाउनुअघि नै सेन्सर घुसाइदिन्छन् । बेखौफ, डरबिना नै लेख्न सकिने वातारणलाई धूमिल पारिदिन्छन् । अन्ततः केही राम्रा किताब यस्ता अभियन्ताकै कारण पुस्तकालय छिर्न, पाठकहरूको विचार निर्माण गर्नबाट वञ्चित हुनेछन् । र, यो कुरा पक्कै पनि राम्रो होइन ।
(हार्भे जे. ग्राफ ओहियो राज्य विश्वविद्यालयका अङ्ग्रेजी र इतिहासका विद्वान हुन् । सामाजिक इतिहासमाथि उनले कयौँ पुस्तक लेखेका छन् । उनको हालै सर्चिङ फर लिटरेसीः द सोसल एन्ड इन्टेलेक्टुअल ओरिजिन्स अफ लिटरेसी स्टडिज पुस्तक बजारमा आएको छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।