प्रसिद्ध कवि वासु शशीका प्रतिनिधि कविताहरूको सङ्ग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा प्रसिद्ध कवि एवम् गीतकार कालीप्रसाद रिजाल, यादव खरेल, गायक-सङ्गीतकार गणेश रसिक, वासु शशीकी पत्नी जुलुम वैध, कवि मोमिला र समालोचक राजकुमार बानियाले कृतिको लोकार्पण गर्नुभयो ।
“वासु शशी मानवतावादी कवि हुन् र कवितामै जीवन व्यतीत गरे,” लोकार्पित कृतिमाथि बोल्दै कालीप्रसाद रिजालले भन्नुभयो, “कवितामा बाँच्ने थोरै कविहरूमध्ये वासु शशी एक हुनुहुन्थ्यो ।”
वासु शशीको कथा ‘लोभीपापी’मा पहिलो हास्यव्यङ्ग्य चलचित्र निर्माण र निर्देशन गर्नु भएका यादव खरेलले उहाँको सरल जीवन र काव्यिक बहुआयामको चर्चा गर्नुभयो । “कविता लेखेर पाउने जति चर्चा नपाए पनि उनी आफ्नो समयका सर्वाधिक शक्तिशाली कवि हुन्,” खरेलले भन्नुभयो ।
त्यस्तै, गणेश रसिकले वासु शशीका गीतमाथि चर्चा गर्दै भन्नुभयो, “गीतकारले लेखेका गीतमा केवल तुकबन्दी मात्रै हुन्छ, कविका गीतमा विम्ब-प्रतीकलाई उचित प्रयोग गरिएको हुन्छ, जुन वासु शशीका गीतमा पाइन्छ ।”
कृतिगत समीक्षा गर्दै कवि मोमिलाले “मानवीयता, राजानीतिक र सामयिक व्यङ्ग्य, प्रेम र जीवन-जगतका मसिना विषयलाई कविता बनाएका शशीका कविताले अबको पुस्तालाई काव्यिक चेत प्रदान गर्ने” टिप्पणी गर्नुभयो ।
त्यसैगरी, कृतिका सम्पादक राजकुमार बानियाले वासु शशी, लेखनाथ, देवकोटा, सम, भूपि, रिमालहरूको लहरका कवि भएको र नयाँ पुस्ताले उनका कविता पढ्न नपाएकोमा आफूले यो कृति ल्याउने प्रयास गरेको बताउनुभयो ।
वासु शशी स्मृति परिषदले आयोजना गरेको कार्यक्रममा परिषदका सचिव कवि प्रधुम्न जोशीले यो कृतिबाट शशीलाई नयाँ पुस्ताले अध्ययन गर्ने अवसर प्राप्त गर्ने बताउनुभयो ।
शशीका ८ वटा कृतिबाट समालोचक राजकुमार बानियाले चयन गर्नुभएका ११८ वटा कविताहरू यस सङ्ग्रहमा समावेश गरिएका छन् । पुस्तकलाई बुकहिलले क्लासिक सेरिज अन्तर्गत ‘हार्डकभर’मा सार्वजनिक गरेको हो । २६४ पृष्ठको किताबको मूल्य ५५५ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।