यस वर्षको ग्वंगः सिरपा सम्मान दुई निबन्धकाका कृतिले पाएका छन् । ‘अभिवन्द्य’ निबन्ध कृतिबाट श्रीओम श्रेष्ठ रोदन र ‘वीरग्रन्थ’ निबन्धबाट सर्जक तिलक प्रकाश सम्मानित हुनु भएको छ । सम्मानसँगै दुवै निबन्धकारलाई जनही ५० हजार ५ रूपैयाँसमेत प्रदान गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र तेजेश्वर बाबु ग्वंगःले सो पुरस्कार प्रदान गर्नुभएको हो ।

श्रीओम श्रेष्ठ रोदन र तिलक प्रकाश

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति उप्रेतीले ग्वंग: भक्तपुरको मात्र नभएर मुलुकमै निर्बन्ध निबन्ध लेख्ने पहिलो संस्कृतिविद् रहनुभएको र मुलुकभित्र निबन्ध जगतमा पहिलो पटक ठूलो राशिको पुरस्कार स्थापना गर्नुभएको र यो कार्य सराहनीय रहेको बताउनु भयो ।

वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वर बाबु ग्वंगले आफ्नो जीवनमा नुन, चुन र सुनमा खर्च नहुने रकम अर्थात आफूले जीवनभर पाएका पुरस्कार रकम संकलन गरेर अक्षय कोष खडा गरी ग्वंगः सिरपा सम्मान स्थापना गरेको बताउनु भयो ।

पुरस्कृत तथा सम्मानित सर्जक श्रीओम श्रेष्ठ रोदनले ग्वंगः नेपाली निबन्ध र साहित्यको मात्र धरोहर नभई संस्कृतिभित्र विज्ञान खोज्ने र पुष्टि गर्ने संस्कृतिविद् समेत रहनु भएको बताउनुभयो ।

उहाँले राजनेताहरूबाट दिइने पुरस्कार तथा सम्मानभन्दा विशुद्ध साहित्यकारबाट प्रदान गरिने पुरस्कारको ओैचित्य सबैभन्दा उच्च रहेको बताउनु भयो ।

त्यस्तै सम्मानित अर्का सर्जक तिलक प्रकाशले आफ्नो कृति वीरग्रन्थले पाएको पुरस्कार तथा सम्मान जिउँदा सहिदहरूको सम्मान भएको बताउनु भयो । उहाँले कृतिमा जिउँदा सहिदहरूका विषय समेटेर कृति तयार पारिएको बताउनु भयो ।

कार्यक्रममा प्राज्ञ ध्रुव मधिकर्मीले पुरस्कारको महत्त्वबारे प्रकाश पार्नु भएको थियो । त्यस्तै पुरस्कृत तथा सम्मानित सर्जकहरूको कृतित्व र व्यक्तित्वबारे प्रा.डा.लक्ष्मणप्रसाद गौतमले प्रकाश पार्नु भएको थियो ।

सर्जक ग्वंगःको जन्मदिनको अवसर पारेर पुरस्कार प्रदान गरिएको थियो। ग्वंगः मंगलबार ८७ वर्षमा प्रवेश गर्नुभएको छ ।

कार्यक्रम साहित्यिक सम्मान सङ्गमको आयोजनामा भएको थियो ।