ढाका । बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले विशेष साहित्यिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। ढाकास्थित नेपाली दूतावास र बंगलादेश–नेपाल फ्रेन्डशिप सोसाइटीको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा दुई देशका साहित्यकार, विद्यार्थी तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बंगलादेशका सांस्कृतिक मन्त्री मुस्तफा सरवार फारोकीले कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै दुई देशबीचको बलियो भाषिक, साहित्यिक र सांस्कृतिक समानतालाई जोड दिनुभयो। उहाँले सार्वजनिक कूटनीतिमार्फत् दुई देशबीचको सम्बन्ध प्रवर्द्धन गर्ने दूतावासको प्रयासको प्रशंसा गर्नुभयो।
नेपाली राजदूत श्री घनश्याम भण्डारीले नेपाल र बंगलादेशबीचको सांस्कृतिक सम्बन्धलाई प्रकाश पार्दै जनता–जनताबीचको सम्पर्कलाई सुदृढ पार्न साहित्यिक आदानप्रदानको महत्वमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरूद्वारा सिर्जित कलाकृतिहरूको पनि प्रशंसा गर्दै त्यस्ता रचनात्मक कृतिहरूले अन्तर–सांस्कृतिक समझदारीलाई बढावा दिने धारणा राख्नुभयो।
कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले ‘वर्तमान नेपाली साहित्य र संस्कृति’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने बंगला एकेडेमीका मुजफ्फर हुसेनले ‘बंगलादेशको साहित्य: संघर्ष र रचनात्मकताको प्रतीक’ विषयमा आफ्नो धारणा राख्नुभयो। नेपालका पवन आलोक, जयदेव भट्टराई, प्रधुम्न जोशी र प्रदीप सापकोटा तथा बंगलादेशका सलिम सुलेरी र उस्मान गोनीले आ–आफ्ना सिर्जनाहरू प्रस्तुत गरेर कार्यक्रमलाई थप रोचक बनाउनुभयो।
बंगलादेश–नेपाल फ्रेन्डशिप सोसाइटीका अध्यक्ष लायन मोशिउर अहमद हुसैनले स्वागत मन्तव्य दिँदै द्विपक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न विद्यार्थी र साहित्यिक विद्वानहरूको सहभागिताको महत्वमा जोड दिनुभयो।
यसै कार्यक्रममा, जनवरी २४, २०२५ मा आयोजित ‘नेपाल मेरो आँखाबाट’ विषयक चित्रकला प्रतियोगिताका विजेता बालबालिकाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो। प्रमुख अतिथि, महामहिम राजदूत लगायतले २० विजेता कलाकृतिहरू समावेश गर्ने विशेष प्रकाशनको पनि विमोचन गर्नुभयो। योजना बमजनले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










