कवि,नियात्राकार एवं समालोचक प्रदीप सापकोटाको मुक्तक संग्रह “मनको वारपार” विमोचन सम्पन्न भएको छ ।
सोही समारोहमा कवि पूर्णबहादुर श्रेष्ठको मुक्तक संग्रह “पूर्णपात्र”को पनि लोकार्पण गरिएको थियो ।
काभ्रेपलाञ्चोक जिल्लाको साहित्यको उर्वरभूमि पनौतीमा समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा नगरपालिका सभाहलमा एक भव्य समारोह बीच ती दुई कृतिको विमोचन सम्पन्न गरिएको थियो ।
कार्यक्रम आयोजक संस्थाका महासचिव समालोचक डा.लेखप्रसाद निरौलाको अध्यक्षता एवं पनौती नगर प्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यतामा वरिष्ठ कवि मोहन दुवाल, उपमेयर गीता बन्जारा, कवि एवं पनौती साहित्य समाजका अध्यक्ष राम सुन्दर देउजा, कवि सूर्यप्रसाद लाकोजु, वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, साहित्यकार डा. सुमन ताम्राकार, नेपाल रेडक्रस सोसाइटी काभ्रेका संयोजक नारायण ढुंगाना, गायक विजयराम कर्माचार्य सहितले लोकार्पणमा सहभागिता जनाउनु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख भीम न्यौपानेले श्रष्टाद्वयलाई बधाई व्यक्त गर्दै साहित्यको विकासको निम्ति नगरपालिका जहिल्यै साथ र सहयोग गर्न तयार रहेको बताउनुभयो ।
धेरैले मन पराउने मानिएको विधा मुक्तकका लोकार्पण गरिएका “मनको वारपार”को बारेमा टिप्पणी समालोचक डा. लेखप्रसाद निरौला तथा “पुर्णपात्र”को बारेमा टिप्पणी साहित्यकार सूर्य लाकोजुले गर्नु भएको थियो। मनको वारपारमा १ सय १ वटा समसामयिक, राजनीतिक दुरावस्था, प्रेम विछोड, अभाव, अमानवीयता आदि विषयवस्तु समेटिएका सचित्र मुक्तकहरू समावेश छन् भने अर्को कृति पुर्णपात्रमा १ सय ११ वटा विभिन्न विषयवस्तु केन्द्रित मुक्तकहरू समावेश गरिएका छन्।
कवि नरेन्द्रकुमार नगरकोटीले सन्चालन गर्नुभएको उक्त लोकार्पण कार्यक्रममा स्वागत मन्तव्य पनौती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले गर्नुभएको थियो भने लोकार्पण गरेका कृतिका श्रस्टाहरूले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
विशिष्ट अतिथि साहित्यकार मोहन दुवालले शुभकामना व्यक्त गर्दै काभ्रेली श्रस्टाको मुक्तक संग्रह थपिएकोमा खुशी व्यक्त गर्नुभयो । अर्का वक्ता पनौती साहित्य समाजका अध्यक्ष राम सुन्दर देउजाले आफ्नो मुक्तकसहित शुभकामना व्यक्त गर्नुभयो। लोकार्पण कार्यक्रममा थुप्रै कवि, साहित्यकारहरुको जमघट रहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।