पारिजात स्मृति केन्द्रले आज स्मृति सभा २०७८ सम्पन्न गर्यो । यस अवसरमा केन्द्रले पारिजात बाल साहित्य सम्मानबाट प्रा.डा. चुडामणि बन्धु, पारिजात कला सम्मानबाट गायक तथा संगीतकार माधव प्रधान, पारिजात संघर्षशील नारी सम्मानबाट अभियन्ता सीता पोखरेल तथा पारिजात सृजन सम्मानबाट साहित्यकार सीता शर्मा सम्मान प्रदान गर्यो ।

सो कार्यक्रममा पारिजात स्मृति केन्द्रकी संरक्षक तथा पारिजातकी बहिनी सुकन्या र वरिष्ठ जनवादी गायक तथा संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति रायनले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

कीर्तिपुर ईन्द्रेणी साहित्य समाजको स्वागत गीतबाट शुरु भएको सो कार्यक्रममा, केन्द्रकी उपाध्यक्ष इन्दिरा दलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । यस्तै कार्यकारी सदस्य डा. बिन्दु शर्माले सम्मानित व्यक्तित्वहरूको परिचय दिनुभएको थियो भने कार्यकारी सदस्य तथा संस्थापक सदस्य सचिव राजेन्द्र अधिकारीले पारिजातलाई हेर्ने दृष्टिकोणबारे बोल्नु भएको थियो । यस्तै कोषाध्यक्ष दिल सुन्दर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

केन्द्रका महासचिव मातृका पोखरेलले सञ्चालन गर्नु भएको सो कार्यक्रम जुम तथा फेसबुक लाइभबाट प्रसारण गरिएको थियो । सभापतिको आसनबाट बोल्दै अध्यक्ष स्नेह सायमिले पारिजातको नामको उपस्थिति र कतिपय अग्रजहरूको भौतिक उपस्थितिले नै आवाज प्रतिध्वनित हुने हुनाले पूर्व कार्यसमितिका पदाधिकारीहरूको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्नु भयो । साथै सम्मान ग्रहण गर्नु भएकोमा सम्मानितहरूप्रति पारिजात स्मृति केन्द्र आभारी रहेको बताउनुभयो । अबका दिनमा पारिजातको व्यक्तित्व र कृतित्वसँग परिचित हुन चाहने विश्वभरका साहित्यिक तथा साँस्कृतिक अभियन्ता, विचारक, साहित्यकार, कलाकारहरूलाई एकत्रित गरी पारिजात स्मृति केन्द्रलाई अझै विस्तृत बनाउने चुनौती स्वीकार्न तयार रहनुपर्ने कुरा समेत उहाँले औंल्याउनु भयो ।