प्रसिद्ध साहित्यकार पारिजातको नाममा स्थापित संस्था ‘पारिजात स्मृति केन्द्र’को ३० औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले कार्यव्यस्तताको कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गरी कार्यसमिति सदस्य मातृका पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गर्‍यो ।

साथै, रिक्त रहेको कार्यसमिति सदस्यमा कवि केशव सिलवाल र समालोचक अमृता शर्मालाई मनोनयन गर्‍यो ।

सभाले कोषाध्यक्ष देविका तिमिल्सिनाले दिएको राजीनामा स्वीकृत गरी कार्यसमिति सदस्य डा. विन्दु शर्मालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णयलाई कार्यसमिति बैठकको अनुमोदन गर्यो ।

प्रगतिवादी कथाकार इस्मालीको प्रमुख आतिथ्यमा सम्पन्न सभाको सभापतित्व केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले गर्नुभएको थियो । साधारण सभामा महासचिव दिलसुन्दर श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डा. विन्दु शर्माले प्रस्तुत गर्नुभएको आ.व. २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको थियो ।

साधारण सभामा स्मृति केन्द्रका पूर्व अध्यक्ष एवम् वर्तमान कार्यसमिति सदस्य डा. महेश मास्के, अध्यक्ष मातृका पोखरेल, वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक, साहित्यकार डा. गीता त्रिपाठीले मन्तव्य राखेका थिए ।

साधारण सभालाई स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले सञ्चालन गरेका थिए भने कार्यसमिति सदस्य सीता शर्माले स्वागत मन्तव्य राखेकी थिइन् ।