यस वर्षको जगदम्बा-श्री तथा मदन पुरस्कार समर्पण समारोह अनलाइनबाटै सम्पन्न हुन पुगेको छ ।
विसं २०१३ देखि निरन्तर भइरहेको मदन पुरस्कार समारोह तथा २०४५ सालदेखि शुरू भएको जगदम्बा-श्री सम्मान कार्यक्रम यसपटक अनलाइन मार्फत् वितरण भएको थियो ।
“कोभिड महामारीका कारण प्रत्यक्ष भेट्न नसकेपनि सूचना प्रविधि मार्फत् सबैतिर फैलन पाउँदा हामी उत्साहित छौँ,” मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले भन्नुभयो।
वितरण समारोहमा कात्तिक २ गते नैनीतालबाट इतिहासकार शेखर पाठक, सिलिगुडीबाट शान्ति ठटाल (जगदम्बा-श्री सम्मानित) र पोखराबाट चन्द्रप्रकाश बानियाँ (मदन पुरस्कार सम्मानित) समारोहमा जोडिएका थिए । कार्यक्रममा सम्मानित दुई व्यक्तिले आफ्ना धारणासमेत व्यक्त गरेका थिए ।
त्यस्तै डा. पाठकले महाकाली नदी वारि-पारिको ऐतिहासिक सम्बन्धका विषयमा आफ्ना धारणा राखेका थिए । दार्जीलिङ/सिक्किम, बिहार र उत्तरप्रदेशसँग नेपालको सम्बन्धका विषयमा चर्चा भइरहे पनि पश्चिम सिमाना क्षेत्र नजिकका उत्तराखण्ड-कुमाउँसँगको सम्बन्धका विषयमा कम चर्चा भइरहेको सन्दर्भमा प्रसिद्ध इतिहासकार शेखर पाठकको प्रस्तुति निकै जानकारीमूलक रहेको थियो ।
जगदम्बा-श्रीद्वारा सम्मानित साधक शान्ति ठटालज्यूले आफ्नो साङ्गीतिक यात्राको चर्चा गरेकी थिइन् । त्यस्तै पोखराबाट ‘महारानी’ पुस्तकका लागि मदन पुरस्कारबाट सम्मानित चन्द्रप्रकाश बानियाँले पुस्तक लेखन पछाडिका तयारी र अनुभवहरू बाँडेका थिए ।
अनलाइन समारोह सम्पन्न भएपनि महामारी/बन्दाबन्दी पश्चात् गुठीका सदस्यहरू सिलिगुडी र पोखरा गएर जगदम्बा-श्री तथा मदन पुरस्कार सम्मान हस्तान्तरण गरिनेछ ।
मिडिया सञ्चालक, सम्वाददाता तथा सम्पादकज्यूहरू, यहाँहरूका लोकप्रिय ‘पोर्टल’ मार्फत् एक घण्टा लामो मदन पुरस्कार गुठीको सम्मान समारोह दर्शक-स्रोता सामू पुगोस् भन्ने अनुरोध गर्दछौँ। एउटा सभाहलमा ३-४ सय निम्तालु माझ हुने गरेको समारोह अब देश र विदेशमा रहनुहुने सबैले हेर्न/सुन्न सक्नुहुनेछ भन्ने आशा गरेका छौँ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
७ कार्तिक २०८२, शुक्रबार 









