काठमाडौं । यो वर्षको मदन पुरस्कार मोहन मैनालीको कृति मुकाम रणमैदानलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेकाे साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।

साथै, ‘जगदम्बा श्री २०८०’ प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।

२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो । जसमा मैनालीको मुकाम रणमैदानसँगै  भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए ।

दुबै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ । पुरस्कार आगामी असोजमा वितरण हुनेछ ।

‘मुकाम रणमैदान’मा के छ ?

‘मुकाम रणमैदान’ नेपाल अङ्ग्रेज युद्ध सम्बन्धी ऐतिहासिक दस्तावेजहरू समेटिएकाे पुस्तक हो । १८७१-७२ सालको नेपाल-अङ्ग्रेज युद्धमा नेपाली र अङ्ग्रेज सिपाही तथा कमान्डरहरूले लेखेका चिठीका इतिवृत्तान्तहरू पुस्तकमा समेटिएकाे छ ।

देशका कुनाकन्दरा घुमेर आफूले भेटेका मान्छेबारे लेख्ने लेखक तथा पत्रकार मैनालीले यो कृतिमा नेपाल र अंग्रेजबीच २०९ वर्षअघि भएको भीषण लडाइँबारे लेखेका छन् । यसका लागि उनी त्यो लडाइँ लडेका, भोगेका र देखेका मानिसहरूको बयानमा भर परेका छन् ।

यस कृतिका लागि जानकारी बटुल्ने क्रममा मैनालीले त्यो लडाइँ भइरहेका वेला दुवैतर्फका सिपाही र कमान्डरहरूले लेखेका चिठीहरू खोतलेका छन्, जसमध्ये केही यसअघि विभिन्न रूपमा छापिएका भए पनि अहिले अप्राप्यजस्ता थिए । अधिकांश सामग्री यसअघि प्रकाशित थिए भने कति त सार्वजनिक समेत भएका थिएनन् ।

यो किताब लेख्न उनले थाहा नभएका जानकारी खोज्ने पत्रकारको सीप, असाध्यै धेरै मानिसले तयार गरेका कहिलेकाहीं त निरसिला कुरा लेखिएका कागजपत्रको थुप्रोबाट आफूलाई चाहिएका जानकारी खोज्ने खोज पत्रकारको धैर्य र कठोर मेहनत तथा संकलन गरेका तथ्य सिर्जनशील ढंगले प्रस्तुत गर्ने फिचर लेखकको कला उपयोग गरेको प्रकाशकको दावी छ ।