वैशाख । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को पहलमा जूम प्रविधिमार्फत ‘वाङ्मय विमर्श’ कार्यक्रम सम्पन्न भएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको उन्नयन गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रममा अनेसासका पूर्व तथा वर्तमान नेतृत्व र शिक्षाविद्हरूबीच गहन अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय का अङ्ग्रेजी विभाग प्रमुख डा. ध्रुव कार्की सहित विभिन्न क्षेत्रका विद्वानहरूको सहभागिता रहेको थियो । नेपाली विभाग प्रमुख डा. कृष्ण न्यौपाने भने पारिवारिक शोकका कारण उपस्थित हुन नसकेको जानकारी कार्यक्रमका सञ्चालक सुरेन उप्रेती ले गराउनुभएकाे थियाे ।
कार्यक्रमका प्रमुख वक्ता तथा अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली ले दक्षिण एशियाली सन्दर्भमा नेपाली साहित्यको अवस्थाबारे विस्तृत विश्लेषण प्रस्तुत गर्दै भारत, भूटान, बंगलादेश लगायत देशहरूमा नेपाली भाषा र साहित्यको उपस्थितिबारे चर्चा गर्नुभयाे । अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा ले संस्थाको विश्वव्यापी सञ्जाल विस्तार र सुदृढीकरणको आवश्यकता औँल्याए भने निवर्तमान अध्यक्ष गोवर्धन पूजा ले भावी नेतृत्व र संस्थागत रणनीतिबारे आफ्नो धारणा राख्नुभयाे ।
अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले ले संस्थाले विश्वभर नेपाली भाषा र साहित्य प्रवर्द्धनका लागि सञ्चालन गरिरहेका गोष्ठी, प्रकाशन, लोकार्पण तथा सांस्कृतिक कार्यक्रमहरूको चर्चा गर्नुभयाे । त्यस्तै, अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला ले नेपाली साहित्यको विश्वव्यापीकरणका लागि अनुवादको महत्त्व औँल्याउँदै अंग्रेजी मात्र नभई फ्रेन्च, जर्मन, चिनियाँ लगायत विभिन्न भाषामा अनुवाद आवश्यक रहेको बताउनुभयाे । उहाँले रवीन्द्रनाथ ठाकुर को ‘गीताञ्जली’ अंग्रेजी अनुवादमार्फत विश्वव्यापी भएको उदाहरण प्रस्तुत गर्नुभयाे ।
अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी ले विश्व साहित्यको परिप्रेक्ष्यमा नेपाली साहित्यको अवस्थाबारे चर्चा गर्दै बहुभाषिक लेखन र पठन संस्कृतिको विकासमा जोड दिनुभयाे ।
कार्यक्रममा डा. दैवकी सेडाई तिमल्सिना ले भारतको पूर्वोत्तर क्षेत्रमा नेपाली भाषा र साहित्यको अवस्थाबारे प्रकाश पार्दै भाषा संरक्षणलाई पहिचानसँग जोड्नुभयाे । त्यसैगरी यमबहादुर पौडेल क्षेत्री ले भाषा र साहित्यको ऐतिहासिक तथा संरचनात्मक महत्त्वबारे चर्चा गर्नुभयाे ।
प्राध्यापक डा. ध्रुव कार्कीले त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा मञ्जुश्री थापा, सम्राट उपाध्याय, अभि सुवेदी, नीलम कार्की निहारीका र सञ्जीव उप्रेती लगायतका कृतिहरू समावेश गरिएको जानकारी दिनुभयाे ।
कार्यक्रममा अमेरिका, क्यानडा, भारत, अष्ट्रेलिया लगायत विभिन्न देशबाट सहभागीहरूले अन्तरक्रियामा भाग लिँदै यस्ता विमर्श कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभएकाे थियाे । फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रमको संयोजन तथा सञ्चालन सुरेन उप्रेतीले गर्नुभएकाे थियाे । कार्यक्रमले नेपाली भाषा र साहित्यलाई विश्वव्यापी बनाउने दिशामा साझा सोच र सहकार्य आवश्यक रहेको सन्देश दिएको सहभागीहरूले बताउनुभएकाे छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










