काठमाडौँ । कवि, लेखक तथा पत्रकार नवीन अभिलाषी को कथासङ्ग्रह ‘दहाड’ एक समारोहका बीच सार्वजनिक गरिएको छ । काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान मा आयोजित कार्यक्रममा  साहित्यकार नारायण ढकाल, समालोचक राजकुमार बानियाँ तथा समीक्षक कुमारी लामा ले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएकाे हाे ।

२०८२ को अन्त्यतिर सार्वजनिक भइसकेको यस सङ्ग्रहमा १२ वटा कथाहरू समावेश छन् । कथाहरूमा विशेषगरी पञ्चायतकालीन समाजका असमानता, विभेद, अन्याय र आम जनजीवनका पीडाहरूलाई गहिरो संवेदनासहित प्रस्तुत गरिएको छ । गरिबी, अभाव, सामाजिक विसंगति र राजनीतिक बेथिति जस्ता विषय कथाभरि प्रभावकारी रूपमा चित्रित छन् ।
लेखक अभिलाषीले आफ्ना कथाहरू वर्तमानभन्दा इतिहासको दस्तावेज भएको उल्लेख गर्दै इतिहास लेखनको आवश्यकतामाथि जोड दिनुभएकाे छ । “हामी जहाँ छौँ, त्यो इतिहासकै परिणाम हो,” भन्ने उहाँको धारणा छ ।

समालोचक राजकुमार बानियाँ ले अभिलाषीका कथाहरू समाजका पिँधमा रहेका पात्रहरूको जीवन यथार्थ बोल्ने बताउनुभयाे । उहाँका अनुसार लेखकले विगतलाई वर्तमानसँग जोड्दै सशक्त शिल्प प्रस्तुत गर्नुभएकाे छ । सरल भाषामा गहिरो सन्देश दिन सक्ने क्षमता अभिलाषीको प्रमुख विशेषता रहेको उहाँले उल्लेख गर्नुभयाे ।

त्यसैगरी समीक्षक कुमारी लामा ले सङ्ग्रहका सबै कथाहरू समान रूपमा सशक्त रहेको बताउँदै पछिल्लो समय यति प्रभावकारी कथा विरलै पढ्न पाइने धारणा राख्नुभयाे ।
‘दहाड’ लाई साङ्ग्रिला बुक्स ले प्रकाशन गरेको हो । यसअघि अभिलाषीका ‘मौलामा बाँधिएको राँगो’ र ‘ईश्वरको अस्थिपञ्जर’ कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् ।