नवीन अभिलाषी

आउ
प्रायश्चित्तको गुफाबाट बाहिर निस्क
नाङ्गै निस्क
र अन्तिमपटक हामी आफ्नै घाँटी रेटौँ ।
हैन भने चुडाऔँ
यो दासताको दाम्लो आफ्नै घाँटीबाट ।
किनकि तिम्रो नाइके
आगाको राँको बोकेर
ग्याँस च्याम्बरतिर दौडिरहेको छ ।
सकिन्छ
हामी आफ्नै खुट्टाहरूले हिँडौ – हाम्रै गन्तव्यतिर
आफ्नै आँखाहरूले हेरौँ
हामी आफ्नै भाषामा – आफ्नै शब्दहरूमा
आफ्नै कुराहरू बौलौँ ।
हैन भने आऊ
यी खुट्टाहरू काटौँ
हातहरू गेडौँ
आँखा र मुखमा तेजाव हालेर
लास भएर बाँचौँ
कम्तीमा हामी मान्छे भएर मरौँ
आऊ

हामी एक्काइसौँ शताब्दीका
सबैभन्दा स्खलित मान्छे भएर
आत्म दाह गरौँ ।
हैन भने किन उम्लिँदैन तिम्रो खुन ?
किन छैन उत्तेजना ?
किन आउँदैन आँसु ?
भन, किन दुखिरहेको छैन तिमीलाई ?
हामीले टेकिरहेको एक चिम्टी यो माटो हाम्रो हो
फेरिरहेको यो मुठ्ठी श्वास हाम्रो हो
देखिरहेको यो एक टुक्रा आकाश हाम्रै हो ।
र यो आवाज हाम्रै हो ।
हैन भने आऊ
कि हामीले घाँस खान्छौ भनौँ
हैन भने अन्न खाऔँ ।

 

कोहलपुर- बाँके