कवि नवीन अभिलाषीको कविता संग्रह ‘मौलामा बाँधिएको राँगो’को एक कार्यक्रमका बीच विमोचन गरियो ।

डा. अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासीको सभापतित्वमा एवं अतिथि महेश पौडेल, सबिता बिजलीको आतिथ्यमा बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरि कविता संग्रह विमोचन गरियो ।

मोफसलमा बसेर करिब एक दशकदेखि साहित्य तथा पत्रकारिता गर्दै आइरहनु भएका कवि नवीन अभिलाषीको यो तेश्रो कृति हो ।

कार्यक्रममा समालोचक महेश पौड्यालले संग्रहमा मानव जीवनका यावत उत्साह निराशा, आवेग र मानवीय चेतहरू सुन्दर रुपले प्रस्तुत गरिएको बताउनु भयो । कवि मनले सामाजिक, आर्थिक, राजनैतिक परिवर्तनका लागि मानव जीवनका निराशाजनक आवेगहरूलाई उत्साहमा रूपान्तरण गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

यसैक्रममा पाठकीय समीक्षकको रुपमा प्राध्यापक कवि तथा लेखक सविता विमलीले कविताहरू मूलतः ५ खण्डमा विभाजित रहेको र कृतिले सामाजिक सांस्कृतिक सीमान्तकृत प्रेमिल र राजनैतिक मुद्दाहरू लेखनमा फरक धारका रुपमा विकसित भइरहेको परिप्रेक्ष्यमा यो कविता संग्रहले यथार्थतालाई टेकेर विचार र मुद्दाहरू जोडदार रुपमा उठाइएको महसुस आफूले गरेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि कवि तथा समालोचक डा. अमर गिरीले साहित्य आकाशमा कवितालाई सर्वप्रिय विधाको रुपमा लिइए पनि सबल रुपमा कविता न्यून रहने परिप्रेक्ष्यमा प्रस्तुत संग्रहले वर्तमान समयको पदचापलाई पछ्याएको बताउनुभयो । वर्तमान परिप्रेक्षमा समाज मात्र नभएर देश अनि पुरा विश्वकै स्पष्टता रुपमा समस्याग्रस्त रुपमा रहेकोले कविले लेखकीय अनुशासनको सीमाभित्र रहेर सन्तुलन मिलाउने प्रयास गरेकोमा सन्तोष व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै सर्जक कवि नवीन अभिलाषीले यथार्थताको धरातलबाट आफूले कविता सृजना गरेको भएता पनि कृतिमा प्रस्तुत गरिएको सम्पूर्ण पक्षप्रति सचेत रहँदै र भोलिका दिनमा प्राप्त रहने सार्थक अनि यथार्थपरक प्रतिक्रियाको उचित मूल्यांकन गर्दै आगामी लेखन कर्ममा सुधार गर्ने बताउनुभयो।