काठमाडौं । साहित्यकार नारायण ढकाल को छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक गरिएको छ। पब्लिकेसन नेपालय को कालिकास्थानस्थित आरशालामा शनिबार आयोजित कार्यक्रममा ढकालले आफ्नी नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै कृति लोकार्पण गरिएको हो।
लोकार्पण समारोहमा ढकालले आफ्नो पाँच दशक लामो साहित्यिक यात्राका अनुभव साझा गर्दै किशोरावस्थामा लेखिएको जासुसी उपन्यास प्रकाशन हुन नसकेको प्रसङ्ग सुनाउनुभयाे । त्यसपछि विश्वप्रसिद्ध लेखकहरूको कृति खोज्दै निरन्तर अध्ययनमा लागेको र पढ्ने बानी आजसम्म उस्तै रहेको उहाँले बताउनुभयाे ।
बस, कलेज, घर तथा अन्य स्थानमा लुकीलुकी पुस्तक पढ्ने बानीले आफूभित्रको लेखक जागृत भएको स्मरण गर्दै ढकालले जीवनका विविध अनुभव—विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, जेल यात्रा, पत्रकारिता, सांसद जीवन र सामाजिक गतिविधि—आफ्नो साहित्यिक सिर्जनाको आधार बनेको उल्लेख गर्नुभयाे ।
ढकाल साहित्यलाई केवल भावुकताको अभिव्यक्ति मात्र नभई राजनीति, इतिहास, अर्थशास्त्र र समाजप्रतिको प्रश्न तथा प्रतिबद्धताको माध्यमका रूपमा लिनुहुन्छ । उहाँले उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ लाई विश्वासघातविरुद्ध आफ्नो स्वप्न–दुस्वप्नको अभिव्यक्तिका रूपमा व्याख्या गर्नुभएकाे छ ।
कार्यक्रममा नेपालयका सम्पादक विमल आचार्यले ढकालको पाण्डुलिपिले आफूलाई गहिरो प्रभाव पारेकाले कृति प्रकाशन गरिएको बताउनुभयाे । उहाँका अनुसार आफ्ना लेखनप्रति दृढ विश्वास र निरन्तर परिष्कार गर्ने प्रवृत्तिले ढकालको साहित्यिक व्यक्तित्वलाई विशिष्ट बनाएको छ।
२०३० सालमा पहिलो कथा प्रकाशनसँगै सुरु भएको ढकालको साहित्यिक यात्रा ५२ वर्ष पार गरिसकेको छ। उहाँका हालसम्म छ उपन्यास, सात कथा सङ्ग्रह, तीन निबन्ध सङ्ग्रह, दुई बालकथा सङ्ग्रह र एक कविता सङ्ग्रह प्रकाशित छन्।
नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले संस्थाको प्रकाशन यात्राबारे जानकारी दिँदै आगामी दिनमा नयाँ पुस्ताका लेखकका कथा, कविता र निबन्ध पनि प्रकाशन गर्ने योजना रहेको बताउनुभयाे ।
दुई सय ८६ पृष्ठको यस उपन्यासको मूल्य ६ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ। पुस्तक देशभरका पुस्तक पसल तथा अनलाइन माध्यममार्फत उपलब्ध रहेको प्रकाशकले जनाएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 









