सडकको पेटीमा ऊभिँदा प्वाँखजत्तिकै हलुङ्गो भएको थियो ऊ । उसको मनमा आफ्नो अस्तित्वको बिम्ब एकदमै टड्कारो र प्रखर भएको थियो । उसको दाहिने हात पाइन्टको दाहिने खल्तीमा घुसेको थियो र उसका पाँचवटा औँलाहरूले सत्तासीन अनुभूतिमा अश्लील तस्वीरहरूको रिललाई स्पर्श गरिरहेकी थिए ।

ऊ टुकुचाको पुलनेरको पेटीमा उभिएको थियो । त्यसैबखत हावाको एक झोक्का उठ्यो र सडकको धूलो उडाएर उसको अनुहारसम्म ल्याइदियो । उसले आँखा चिम्लियो ।

“यो रिल त धुनै पर्छ । त्यसपछि वास्तविक युद्धको सुरुवात हुन्छ ।” उसले मनमनै भन्यो।

रिल धुने निर्णयलाई अन्तिमरूप दिएपछि उसलाई त्यहाँ उभिरहनुमा कुनै तुक लागेन । त्यसपछि क बागबजारतिर,अघि बढ्यो ।

“साहृजी यो रिल हेर्नोस्‌ त ।” स्टुडियोभित्र पसेपछि उसले पाइन्टबाट रिल, झिक्दै भन्यो । त्यसैबेला उसको अनुहार केही कालो रङ्गमा बदलियो । यसबाट, बुझिन्थ्यो, उसको मनको खलनायक केही हदसम्म खुम्चिन थालेको छ।

“धेरै पुरानो रहेछु । हावा पसेको पनि हुन सक्छु ।”

रिल हातमा लिएपछि स्टुडियोको साहूले भन्यो।…

“हावा पसेको भए एउटा पनि फोटो बन्दैन त ?” अबोध अपराधीले जस्तो प्रश्न गर्यो उसले ।

“क्या कुरा गर्नु हुन्छ ? त्यति सामान्य कुरा पनि थाहा छैन तपाईंलाई ?” ठुस्किएर साहले भन्यो ।

सायद स्थानीय बासिन्दाको पसल थियो त्यो । पसलेको हाउभाउ र बोल्ने शैलीले त्यसै बताउँथ्यो । उसले खलनायकलाई गहिरोसित आँखा गाडेर हेर्यो र उपत्यका बाहिरको परचक्री ठानेर हेप्न थाल्यो । अब स्टुडियोको पसलेले उसलाई हेप्न थाल्यो, त्यसपछि खलनायकभित्रको अपराधी अरू बढी डराउन थाल्यो ।

“हावा पसेको भए भैगो फिर्ता दिनोस्‌ ।” उसले भन्यो ।

“त्यस्तो त नपसेको पनि हुन सक्छ ।” पसले पुनः भलादमी देखियो ।

“प्रिन्ट गरेर हेरेपछि थाहा हुन्छ हावा पसेको छ या छैन । प्रिन्ट गरेर हेर्नुहुन्छ भने चालीस रूपियाँ लाग्छ ।” पुन: पसलेले कुरा अघि बढायो ।”

“भैगो अहिले । यसबारे म पछि विचार गरेर आउँछु ।” उसले भन्यो ।

रिल फिर्ता लिएर पुनः ऊ सडकमा आइपुग्यो । एक मन त उसलाई लाग्यो – “मैले जे गरेँ ठिकै गरेँ । एउटी खाते तहकी आइमाईलाई तल झार्न यत्रो ठूलो जोखिम किन लिने ! त्यस्ता सस्ता आइमाईहरू सहरमा कति हुन्छन्‌ कति ! प्रेम गर्छन्‌, नाङ्गा तस्वीरहरू खिचाउन पनि सुरिन्छन्‌ र पछि फेरि अर्कोतिर सल्किन्छन्‌ । बजार अर्थतन्त्रमा यस्ता चरित्रहरू कति हुन्छन्‌ कति ! अनि कति जनासित शत्रुता गर्ने !”

तर एकैछिनपछि उसको मन अर्कोतिर कोल्टे फेर्यो । उसले मनमनै भन्यो – “तर मैले सित त प्रेम गरेको थिएँ । साँचो प्रेम गरेको थिएँ । यसरी कसैको सरलतालार्इ ठग्न पाइन्छ ? प्रेमको हत्या गर्न पाइन्छ ! यसको विरूद्ध युद्ध त लड्नै पर्छ । त्यस बाइफालाको वास्तविक अनुहार समाजलाई बताउनै पर्छ ।”

त्यसपछि उसले सडकको एउटा खण्डमा हेर्यो । त्यहाँ एउटा ठूलो खाडल थियो, वर्षात्‌मा परेको पानी नालीमा पठाउन बनाएको खाडल । त्यसमा छोप्ने जालीदार ढ्कनी बिग्रिएको थियो । उसले खाडलको मुखैनेर गएर चियाएर हेर्यो – त्यो निकै गहिरो थियो । भित्रपट्टि कालो अँध्यारो मात्र देखिन्थ्यो ।

ऊ अर्थात्‌ खलनायकले सोच्यो – अब मेरो गन्तव्य त्यतैतिर हुनुपर्छ । राधासितका सबै पापहरू म त्यही अँध्यारोमा बिसर्जन गर्छु । अनि त्यो प्राविधिक आत्मा भएकी आइमार्इलार्इ सदाका निम्ति बिर्सन्छु । यस्तो अर्थ नभएको युद्धमा किन धकेलिने ?”

त्यति सोचेर उसले रिललाई खल्तीबाट झिक्यो तर तत्कालै उसको मनमा अर्को अनुभूति बलियो हुन लाग्यो । उसले भन्यो – “के हरेक पराजयमा आत्मसमर्पण गरेर बाँच्नु नै जीवनको परिभाषा हों ? एउटी राधाको अत्याचारलाई सह्यो पुनः अर्की राधासित केही समय प्रेमसुत्र बाँधियो । अनि उसले पनि प्रेमको उत्कर्षको नाटक गर्दै नाङ्गा तस्वीरहरू खिचाउँछेँ। त्यसपछि उ पनि उसलाई त्यागेर अर्कैसित बहिर्गमन गर्छे – अहँ हुँदैन – जो जे हो त्यसको वास्तविक परिचय समाजले जान्न पाउनै पर्छ । म राधालाई छोड्दिनँ ”

ऊ यति ठूलो अन्तर्द्वन्द्वमा फस्यो कि उसले अँध्यारो खाल्डोमा प्याँक्छु भनेर झिकेको रिल पुन: पाइन्टको खल्तीमा थन्क्यायो ।

“ठीक छ, यो रिलेमा हावा पसेको वा नपसेको तथ्य पछि जाँचौँला । अब आज म यसबारे पटक्कै सोच्न चाहन्नँ ।” त्यसपछि ऊ त्यहाँबाट फटाफट रत्लपार्कतिर हिँड्यो ।

रत्नपार्क नपुग्दै अलिक अगाडि एउटा होटेले थियो । पश्चिमकी कुनै गाउँकी थकाल्नीको होटेल हो त्यो, लज र रेस्टुराँ संयुत्तरूपमा भएको। तिब्बती शैलीको म:म: त्यहाँ निकै सस्तोमा पाइथ्यो । तसर्थ पराजित खलनायक होटेलभित्र पस्यो । “म:म: एक प्लेट है साउनी ।” उसले बिजेता बन्ने शिथिल कोसिस गर्दै भन्यो ।

होटेल सुनसान थियो, तर उसको मन भने राधाको भूतले उत्तिकै आक्रान्त थियो।

अचानक उसको मनमा एउटा विचारले जन्म लियो । “कूनै अर्की राधासित तुरुन्तै मित्रता गर्ने हो भने कमसेकम यो तनाव अस्थायीरूपमा मात्र भए पनि समाप्त हुन्छ।” उसले फैसला गर्यो।

त्यसपछि उसको दिमागमा पत्रकार राधाको सम्झना भयो। ऊ निकै भद्र र सज्जन पनि छे । प्रेम र अर्थव्यवस्थाबाट धेरै हन्डर, ठक्कर र वियोग भोगेको अनुभव छ उसमा । उहिलेउहिले खलनायकसित उसको राम्रै सम्बन्ध पनि थियो । अहिले पनि उसको मुख्य समस्या पैसा नै हो। काठमाडौंमा बाँच्न र हाँस्न पैसा अनिवार्य चाहिन्छ । त्यसैकारण उ पत्रकार बनेकी थिई । उसलाई राम्रोसँग लेख्न नआए पनि उ महिला भएकोले यो क्षेत्रमा टिकेकी थिई । उसप्रति सबैतिरबाट अतिरिक्त सहानुभूति थियो ।

यो सबै सोचेपछि खलनायक अचानक बुद्धत्व प्राप्त गरेको अनुभूतिमा पुग्यो । उसले मःम: टेबुलमा आइपुग्नुभन्दा अगाडि आफैलाई भन्यो – “यो राधालाई प्रेम गर्नु नै त्यो राधासँग बदला लिने सर्वोत्तम तरिका हो ।”

उ उठेर होटेलको काउन्टरमा गयो र पत्रकार राधालाई होटेलमा डाक्न धमाधम अङ्क थिच्न थाल्यो । त्यसपछि फर्केर आएर उसले युद्धरफ्तारमा म:म:का ताता डल्लाहरू भुँडीभित्र घुसार्यो ।

राधा अमात्य नामकी त्यो केटी रातो वर्णकी भए पनि हिसी परेकी थिई । अघिल्लो राधामा जति मादकताको राप थियो उसमा पनि त्यत्तिकै थियो । “म तिमीसित मित्रता गाँस्न लालायित छु । अझ तिमीलाई मान्य हुन्छ भने हामी जीवनसाथी पनि बन्न सक्छौँ ।” उसले राधा आउनासाथ पहिलो संवाद ओकल्यो । “चेपारो घस्न त तपाईंलाई कसले भेट्छ र ? भन्नोस्‌ त आज कति वर्षपछि मलाई सम्झिनुभयो तपाईंले ?” बाङ्गो नखरा पार्दै राधाले भनी ।

“बिचमा त्यस्तै पर्यो । एउटा अप्रत्याशित दुर्घटना नै भनौँ । अब त्यस्तो हुँदैन । अब सधैँ नै म तिमीलाई सम्झन्छु ।” उसले भन्यो ।

त्यसैबीचमा उसले एक बोतल बियर ल्याउन आदेश थियो ।

“तिमी बियर खान्छयौ ?” उसले सोध्यो ।

“अहँ खान्नँ, कहिल्यै खाएकी छैन ।” उसले भनी ।

“नेवारकी छोरी भएर पनि बियर खाएकी छैनौ !” उदेक मान्दै उसले प्रश्न गर्यो।

“अहँ, यस्तो चीज मलाई बच्चैदेखि मन परेन, तर मेरा दिदीहरूचाहिँ खान्छन्‌ ।”

“तिमी बियर नखाने तर तिम्रो साथीले बियर खाएपछि तिम्लाई गन्हाउँदैन ?” उसले सोध्यो।

लाज मानेको नाटक गरी उसले । तदनुरूप उसको मुन्टो केही निहुरियो ।

साँझ निकै ढल्किसकेपछि खलनायकले उसलाई आफ्नो डेरातिर जान आग्रह गर्यो । उसले सहर्ष अनुमति प्रदान गरी । डेरामा पुगेपछि खलनायकले एकदमै मायालु भावमा उसलाई भन्यो –

“के तिमी मसित बिहा गर्न तयार छ्यौ !” यो प्रश्न गर्दा ऊ अघिल्ली राधालाई होच्याउँदै छु भन्ने ठानिरहेको थियो । “स्पष्ट भन के तिमी मसित बिहा गर्न तयार छौ !” उसले त्यो प्रश्न फेरि दोहोर्यायो ।

“यो प्रश्नको उत्तर दिनुभन्दा अघि म तिमीबाटै एउटा प्रश्नको उत्तर चाहन्छु ।” उसले पनि उस्तै तर्जमा खलनायकको टाउकाको कपालमा मायालु औँलाहरू छिराउँदै भनी ।

उ झस्क्यो अचानक । अघिल्ली राधासितको प्रेमको विछोडमा पनि यस्तै वातावरणको सिर्जना भएको थियो । पत्रकार राधाले पनि हुबहु अघिल्ली राधाकै शैलीमा त्यो प्रश्न गरेकी थिई ।

“तिम्रो प्रश्न के हो ?” मुटु ढुकृढुक्‌ पार्दै खलनायकले सोध्यो ।

“मलाई बिहे गर्नुअघि काठमाडौंमा तिम्रो घर बन्छ कि बन्दैन ! मेरो प्रश्न यही हो।” उसले सपाटरूपमा भनी । खलनायकले पत्रकार राधाको अनुहारमा गहिरिएर हेर्यो। के उसलाई भ्रम त भएन ? अथवा के यो विपना हो ? कि सपना हो ? किनकि प्रश्न सोध्ने तरिका, शब्दचयन र आवाजमा समेत अघिल्ली राधासित पूर्ण समानता थियो । “तिमी अर्की नयाँ राधा होइनौ र !” रन्थनिँदै प्रश्न गर्यो उसले । नयाँ राधाले खलनायकको प्रश्नको मनसाय बुझिन । उसले आफ्नै कुरा दोहोर्याई र भनी – “विवाहपूर्व काठमाडौंमा घर बनायौ भने तिम्रो विवाहको प्रस्तावमा छलफल गर्न सकिन्छ । नत्रभने के भयो र ? आखिर हामी राम्रो मन मिलेका साथी त छँदै छौँ नि।”

पत्रकार राधाको यो इमान्दार कथन सुनेपछि उसलाई. स्पष्ट भयो – यो पनि उही राधा हो जसलाई प्रेम गर्न कुनै शर्त चाहिँदैन, तर घरजम गर्न सहरमा एउटा घर चाहिन्छ । अघिल्लीसित पनि ठीक यहीँनेर आएर वियोग परेको थियो । उसले भनेकी थिई – “के विवाहअघि राजधानीमा एउटा घर बनाउन सक्छौ ?” उसको जवाफ थियो – “तिम्रो प्रेम मेरो घरसित कि मसित ?” त्यसपछि झगडा पर्यो । त्यसपछि उसले बदला लिन कुनै समय खिचेका नाङ्गा तस्वीरहरूको रिललाई हतियार बनाउन खोज्यो । त्यही क्रममा ऊ बागबजार पुग्यो । त्यसैबीच अन्तर्द्वन्द्वमा परेर युद्धविराम गर्यो र नयाँ राधालाई लिएर डेरामा आयो । कथाको फ्ल्यासब्याक यति नै थियो ।

निकैबेरसम्म चिन्तामग्न भएको देखेर नयाँ राधा छट्पटिई । उसले फेरि पनि उसको बाक्लो कालो कपाल मुसार्दै भनी – “बेकार किन चिन्ता गरेको ! बिहेको विषयमा अहिले नै टाउको किन दुखाउनु पर्यो ? यस विषयमा पछिपछि नै कुरा गरे हुन्न ? आखिर म तिमीलाई उहिलेदेखि नै अत्यधिक माया गर्ने केटी हुँ। आइ लभ यु।”

नयाँ राधाले प्रेमको नयाँ कार्यनीति प्रस्तुत गरेपछि खलनायक कल्पनालोकबाट यथार्थमा झर्यो । यसले पुरानो राधासितको बदलाको आफ्नो अभियानलाई स्मरण गर्यो र भन्यो – “आइ लभ यु टु।”

त्यसपछि दुवै प्रणयसूत्रमा अनुबन्धित हुन तम्तयार भए। “ठीक छ, अर्को दुर्घटनाको सामना गर्न पनि हाम्रो सामु प्रेम गर्नुबाहेक अहिले अर्को विकल्प छैन ।” अन्त्यमा खलनायकले भावुक भएर भन्यो ।

 

(२०२० सालमा बागलुङ जिल्लामा जन्मनु भएका लक्ष्मणप्रसाद गौतम त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनमा प्राध्यापन गर्नुहुन्छ । 

पाँच पुस्तक लेखिसक्नु भएका गौतमले  अभिनन्दन ग्रन्थ तथा विभिन्न साहित्य पत्रिका सम्पादनसमेत गर्नुभएको छ । उहाँको सम्पादन रहेको नेपाली यौन कथा भाग २ निकै चर्चित कृति हो ।

लक्ष्मणप्रसाद गौतम
उहाँले नारायणी वाङ्मय पुरस्कार (२०५२), नवकविता सम्मानपत्र (२०५७), दोभान प्रतिभा सम्मान (२०५९), प्रतिभा पुरस्कार (२०६०) जस्ता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । उहाँ नेपाली लेखक सङ्घ तथा चितवन वाङ्मय प्रतिष्ठानसँग सम्बद्ध हुनुहुन्छ ।)