भोजपुर । भीमबहादुर स्मृति प्रतिष्ठान नेपाल ले यस वर्षको ‘भीमबहादुर स्मृति साहित्य सम्मान–२०८२’  साहित्यकार भीम खतिवडा (धरान) लाई प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी ‘भीमबहादुर स्मृति पुरस्कार–२०८२’ राष्ट्रिय कविता महोत्सव विजेता तथा पहिचान पुरस्कार प्राप्त स्रष्टा कविता राई (भोजपुर) लाई प्रदान गरिने भएको छ।

प्रतिष्ठानद्वारा जारी प्रेस–विज्ञप्तिअनुसार नेपाली भाषा–साहित्यको साहित्यिक श्रेष्ठता र उन्नयनमा पुर्‍याएको अमूल्य योगदानका आधारमा खतिवडालाई सम्मान तथा राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। उक्त सम्मान तथा पुरस्कार निकट भविष्यमा आयोजना गरिने औपचारिक समारोहमार्फत समर्पण गरिने जनाइएको छ।

स्वर्गीय भीमबहादुर लिम्बूको स्मृतिमा वि.सं. २०७९ सालमा स्थापना गरिएको प्रतिष्ठानले हरेक वर्ष एकजना विशिष्ट व्यक्तित्वलाई ‘भीमबहादुर स्मृति सम्मान’ र अर्का एकजना व्यक्तित्वलाई ‘भीमबहादुर स्मृति पुरस्कार’ प्रदान गर्दै आएको जनाएको छ।

यसअघि २०७९ सालमा सम्मानतर्फ पद्मश्री लीलबहादुर क्षेत्री (असम, भारत) र पुरस्कारतर्फ जानु काम्बाङ (हङकङ), २०८० सालमा सम्मानतर्फ डा. मधु माधुर्य (अमेरिका) र पुरस्कारतर्फ दीपक सुवेदी (झापा, नेपाल) तथा २०८१ सालमा सम्मानतर्फ सी.पी. शर्मा (सिक्किम, भारत) र पुरस्कारतर्फ डा. नारद पोखरेल (अमेरिका) सम्मानित भैसक्नुभएकाे छ ।

प्रतिष्ठानका संरक्षक तथा संस्थापक सुरेन्द्र लिम्बू परदेशीले सम्मान तथा पुरस्कार वितरणका लागि छिट्टै औपचारिक कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयाे ।