
काठमाडौं । नेपालकै सर्वाधिक धनराशि भएको पहिचान पुरस्कार यस वर्ष कवि राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ लाई प्रदान गरिएको छ। मंगलबार भोजपुरको चखियामा आयोजित एक समारोहमा पहिचान पुरस्कार कोषले यो पुरस्कार प्रदान गरेको हो।
४ लाख २ हजार रुपैयाँ राशिको यस प्रतिष्ठित पुरस्कार कवि स्याङ्तान छोराको उपचारार्थ भारतमा रहेकाले उहाँको तर्फबाट कवि/प्राज्ञ चन्द रानाहोंछाले ग्रहण गर्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य एवं मातृभाषा विभाग प्रमुख लेखक/कवि राजन मुकारुङले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।
पुरस्कार समारोहमा साहित्यकार सुमित्रा बाङ्देल ‘चेली’ र कवि/साहित्यकार कविता राईले पुरस्कृत कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ र कवि स्याङ्तानको साहित्यिक व्यक्तित्वबारे प्रकाश पार्दै आफ्नो विचार व्यक्त गर्नुभएको थियो । उहाँहरूले स्याङ्तानको सिर्जनाले समसामयिक सामाजिक विषयलाई मार्मिक ढङ्गले उजागर गरेको बताउनुभयो ।
समारोहको समापन पश्चात् उपस्थित विभिन्न स्थानबाट आएका कविहरूले आ–आफ्ना रचना वाचन गरी कार्यक्रमलाई थप सार्थक बनाउनु भएको थियो । ‘ओ पेङ्दोर्जे’ को यो पुरस्कारले नेपाली साहित्यमा युवा पुस्ताको योगदानलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
