हालै बजारमा आएको राजु स्याङ्तानको कविता संग्रह “ओ पेङ्दोर्जे !”को चर्चासँगै सुनसरीमा कविता वाचन सम्पन्न भयो । पोएट्री टुरको पहिलो कार्यक्रम धरानस्थित किरात राई यायोख्खा सुनसरीको भवनमा कवि स्याङ्तानले आफ्ना दमदार संगीत मिश्रित कविताहरू प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा स्याङतानले १० वटा कविता वाचन गर्नुभयो । ‘छुटेको प्रचण्ड’, ‘आमा तिमी मात’, ‘जीवनमा कहिलेकाहीँ’, ‘बीमा’, ‘च्याङ्बाको रहर’, ‘पिपाको हुङ्कार’, ‘पोष्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह’, ‘गुमनाम ताराहरू’ लगायतका कवितामा दर्शक गम्भीर मुद्रामा देखिन्थे ।

कार्यक्रमका आयोजक नेपाल तामाङ घेदुङ संघ समन्वय समिति, सुनसरी र तामाङ बौद्धिक समाज रहेको थियो।

कवि स्याङ्तानले कार्यक्रममा पटक-पटक धराने कवि तथा कवि मनहरूलाई धन्यवाद दिनुभएको थियो ।

कविता वाचनपश्चात कवितासंग्रह पुस्तकमाथि ‘प्यानल डिस्कसन’ गरिएको थियो । छलफलमा प्राडा टङ्क न्यौपाने, कवि सुदीप पाख्रीन र कृतिका सर्जक राजु स्याङ्तान हुनुहुन्थ्यो भने कवि इन्दु योन्जनले सहजीकरण गर्नुभएको थियो ।

छलफलमा कवि सुदीप पाख्रीनले राजुको कविताले आफूलाई आफ्नो समुदायको मिथक र भाषाप्रतिको प्रेम जगाएको र आफूले यस्तो काम किन गर्न सकिँन होला ? भन्ने चुकचुकी जगाएको बताउनुभयो ।

प्राडा टङ्क न्यौपानेले राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ले नेपाली भाषा र साहित्यलाई थप समृद्ध बनाएको बताउनुभयो । उहाँले प्रश्न गरे के यो नेपाली(खस) भाषा मात्र नेपाली हो ? यहाँ रहेका अन्य समुदाय अनेपाली हो ? हाम्रो यही मानसिकताले नेपाली भाषा र साहित्य विश्वव्यापी हुन नसकेको जिकिर गर्नुभयो । राजुको कविता पढ्दा आफूलाई खास नेपाली साहित्य पढेको अनुभूति रहेको बताउनुभयो ।

पुस्तकका सर्जक स्याङ्तानले सदियौँ वर्ष पुरानो मिथक र हाम्रो संस्कृति चटक्कै कतै छुट्यो, कतै हरायो या हराइयो । तर नयाँ सचेत पुस्ताको आगमनपश्चात् केही शुभ सङ्केत देखिन थालेको बताउनुभयो । ‘हामी धेरैपछि परेका छौँ । अरु समृद्ध बनेर टेक्नोलोजीलाई टेकेर अरु फड्को मार्ने दाउमा छ, तर हामी टेक्नोलोजीमा यता न उता बनेर मनोरन्जनको नाममा अलमलिरहेका छौँ ।’, एक प्रश्नमा उहाँले भन्नुभयो, ‘यो मेरो कृति मेरो समुदाय या नेपाली साहित्यलाई पुग्दो लेखन हैन। अरु कैयौं गर्न बाँकी छ । यद्यपि सुरु भने चैँ पक्कै हो ।’