नारायणी कला मन्दिरमा चितवनमा कवि राजु स्याङ्तानलाई सुन्न कवि/लेखकहरूको बाक्लो उपस्थिति रहेको थियो । कविता लिएर यात्रामा निस्किएका कवि स्याङ्तान कविता सुनाउनकै लागि चितवन पुगेका थिए ।
नारायणी कला मन्दिरको हलमा कार्यक्रमकी संयोजक रञ्जना लिम्बु र कार्यक्रम प्रस्तोता अञ्जान प्रदीपले स्रोतालाई स्वागत गर्दै कार्यक्रमको बारेमा जानकारी गराए र कार्यक्रम सुरु भयो ।
कार्यक्रमको सुरुवातमा र्यापर गोरे भाइ मञ्चमा देखिए । गोरेले कवि स्याङ्तानको कविता `आमा तिमी मलाई मातेको मन पर्छ´ लाई र्याप शैलीमा गाए । उनको प्रस्तुति सकिएपछि परर ताली बज्यो ।
त्यसपछि मञ्चमा उक्लिए कवि स्याङ्तान । कविसँगै टुङ्ना र सारङ्गी लिएर सुशान्त श्रेष्ठ अनि बाँसुरी लिएर सुजन लामा पनि मञ्चमा देखिए । सुशान्त र सुजनको सङ्गीतमा राजुले आफ्ना कविताहरू पढ्न लागे ।
राजुले सुरुमा `गुमनाम ताराहरू´ शीर्षकको कवितालाई वाचन गरे । त्यसपछि `याम्बुको कथा´ सुनाए । तेस्रो कविता स्वरुप `गाउँ हराएको कथा´ र चौथो कवितामा `दाजुभाइ´ सुनाए ।
पाँचौं कवितास्वरुप उनले `छुटेको प्रचण्ड´ वाचन गर्न लागे । यो कविता वाचनअगाडि नै स्रोताले एक चरण ताली बजाए । ताली सकिए लगत्तै राजुले कविता सुनाए । कविता सकिएपछि पनि जोडदार ताली आयो ।
त्यसपछि `जीवनमा कहिलेकाहीँ´ कविता लिएर राजु अझै अगाडि बढे । लगत्तै `एउटा दासको घोषणापत्र´ सुनाए । यो कवितामा मजदूरको जीवन जोडिएको छ । `दाइ हराएको सूचना´ कवितामा कोरोना महामारीमा आफ्नै हराएका दाइको प्रसङ्गलाई समेटेका छन् । `पिपाको हुँकार´ मा सेनाको सबैभन्दा तल्लो दर्जाको कर्मचारीको कथा बुनेका छन् ।
`रामबहादुर मार्ग´ कविता सुनाएर राजुले कार्यक्रमको बिट मारे । महेन्द्र राजमार्ग निर्माणमा कविका बुवा मजदूर भएर काम गरेको प्रसङ्ग यो कवितामा छ ।
कविता वाचन सकिएपछि कवि भूपिनले राजुका कवितामाथि समीक्षात्मक टिप्पणी राखेका थिए । अन्त्यमा राजुको बीमा कवितामाथि चित्रण गरिएको नाटक मञ्चन गरिएको थियो । नाटकलाई अञ्जान प्रदीपले निर्देशन गरेका हुन् ।
मन्थन, नारायणी कला मन्दिर र कर्मी चौतारीले संयुक्तरूपमा कार्यक्रम आयोजना गरेका हुन् । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले कार्यक्रमलाई प्रबर्द्धनात्मक सहयोग गरेको हो ।
राजुको `ओ ! पेङ्दोर्जे´ कवितासङ्ग्रह हालै सार्वजनिक भएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।