साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

चुनौतीको चाङ ठूलो छ, घरधन्दा र स्कुलले सबै समय खान्छ – कविता राई

२०७७ को महोत्सवमा सँगै सहभागी हुने क्रममा उनै कविताले यो पंक्तिकारलाई भनेकी थिइन्, "एकपटक यो महोत्सव जितेरै छोड्छु भाइ ।" मलाई कविता उःबेलै जब्बर लागेकी हुन् । नभन्दै अर्को वर्ष उनी प्रज्ञा राष्ट्रिय कविता महोत्सवमा प्रथम भइन् । अझ महत्त्वपूर्ण कुरा त, सोही वर्ष उनको उपन्यास कृति "गुरु" बजारमा आयो ।

Chovar Blues Mobile Size

शब्द र कवितासँग मज्जाले खेल्न सक्ने उनको भविष्यको बारेमा सायद पण्डितलाई पूर्वाभाष भएर होला न्वारनमा पण्डितले उनको नाम कविता राखिदियो । कालान्तारमा उनै कविताले कविताको माध्यमबाट आफूलाई भोजपुरको दुर्गम गाउँबाट पुरै देश विदेशमा आफ्नो नाम स्थापित गराइन् । २०७८ को राष्ट्रिय कविता महोत्सवमा प्रथम भएर उनले गाउँमा रहेर पनि राम्रा रचना गर्न र राष्ट्रिय पहिचान बनाउन सकिन्छ भनेर प्रमाणित गरिदिइन् । त्यसो त कविताप्रतिको लगावकै कारण विगत तीन चार वर्षदेखि राष्ट्रिय कविता महोत्सवमा निरन्तर सहभागिता जनाउँदै आएकी थिइन् उनी । २०७७ को महोत्सवमा सँगै सहभागी हुने क्रममा उनै कविताले यो पंक्तिकारलाई भनेकी थिइन्, “एकपटक यो महोत्सव जितेरै छोड्छु भाइ ।” मलाई कविता उःबेलै जब्बर लागेकी हुन् । नभन्दै अर्को वर्ष उनी प्रज्ञा राष्ट्रिय कविता महोत्सवमा प्रथम भइन् । अझ महत्त्वपूर्ण कुरा त, सोही वर्ष उनको उपन्यास कृति “गुरु” बजारमा आयो । एक स्थापित कविले अचानक उपन्यास प्रकाशन गर्दा अनौठोजस्तो लागे पनि यो अनौठो विषय रहेन, किनकि धनकुटाकी यी श्रष्टाले पहिलो उपन्यास कृतिमै राम्रो प्रभाव छोड्न सफल भएकी छन् ।

षडानन्द नगरपालिका १२, भोजपुरमा २०३८ सालमा जन्मेकी कविता राई हाल टेम्के नैतिक -९ भोजपुरमा स्थायी बसोबास गर्छिन् । माता राजमाया किँरात र पिता तिलकबहादुर किँरातकी छोरी कविताले नेपाली विषयमा एम.एड. गरेकी छन् भने विगत लामो समयदेखि शिक्षणलाई आफ्नो पेसा बनाउँदै आएकी छन् ।

कविता राई

“आमा र जून” कवितासङ्ग्रह, ‘गुरु’ उपन्यास र “खरानीको बादल” बालकथासङ्ग्रह प्रकाशित गरेकी राई दैवज्ञराज न्यौपाने स्मृति पुरस्कार २०७६, राष्ट्रिय कविता महोत्सव २०७८ मा प्रथम, हतुवागढी शब्दघर सम्मान २०७८, भोजपुर प्रतिभा पुरस्कार, बेलायत २०७८ र नव प्रतिभा पुरस्कार २०७८, १ नम्बर प्रदेश सरकारबाट सम्मानित भैसकेकी छन् ।

कविता, गीत, गजल, कथा, उपन्यासमा कलम चलाउने राईका काठमाडौं तथा भोजपुरमा एकल कविता वाचन सम्पन्न भएको छ । २०५० सालदेखि लेखन आरम्भ गरेकी उनले २०५२ सालमा रेडियो नेपाल बाल कार्यक्रमको कथा प्रतियोगितामा प्रथम भइन् भने २०५२ मा लेखेको गीतले विरेन्द्रशिल्ड प्रथम पुरस्कार जितेको थियो । उनी हाल नेपाल समाचार पत्र दैनिकको भोजपुर जिल्ला संवाददाता, दियालो विकासे मासिक पत्रिकाको सम्पादक, मधुमास साहित्यिक पत्रिकाको सहायक सम्पादक, शिलिचुङ साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक(यी तीन पत्रिका भोजपुरबाट भोजपुरबाट प्रकाशित हुन्। ) रहेकी छन् । यस्तै नारी साहित्य प्रतिष्ठान भोजपुरकी अध्यक्ष र यलम्बर प्रतिष्ठान काठमाडौंकी सदस्य रहेकी छन् । प्रस्तुत छ, उनै कवि/लेखक कविता राईसँग भर्खरै प्रकाशित उपन्यास “गुरु”मा केन्द्रित रहेर साहित्यपोस्टका लागि अजित उत्सवले गरेकाे कुराकानीकाे सम्पादित अंश:

sagarmani mobile size

भर्खरै यहाँको पहिलो उपन्यास कृति ‘गुरु’ बजारमा आएको छ, कस्तो पाठक प्रतिक्रिया पाउइरहनुभएको छ ?

हजुर हो, मेरो पहिलो उपन्यास ‘गुरु’ भर्खरै बजारमा आएको छ । चैत अन्तिम हप्ता सार्वजनिक भएको हो । साङ्ग्रिला बुकले प्रकाशन गरेको हो । अहिले जति पाठकको हातमा पुस्तक पुगेको छ र ज-जसले पढ्नु भएको छ । मन पराइदिनु भएको छ । म उपन्यास पढेर रोइराछु भन्नु भा छ केही पाठकले ।

अजित उत्सव

पाठकले गुरु उपन्यास किन पढ्ने ? अर्थात् यसबाट पाठकले पाउने कुरा के हुन् ?

पाठकहरूको पनि आआफ्नै पठन स्वाद हुन्छ, क्षेत्र हुन्छ । पढ्ने विषयको रोजाइ हुन्छ । एउटै पुस्तकले सबैखाले पाठकको इच्छा पूरा गर्न त सक्दैन। तथापि हामी नेपालीहरूले विगत चालिस वर्ष अघिदेखि हालसम्म भोगेको समय कालखण्डको दर्पणछायाँ मेरो उपन्यासमा पाउनु हुनेछ । विशेष गरेर शिक्षकको कथा भएकोले शिक्षकहरूले आफूलाई पाउनु हुनेछ । द्वन्द्वकालमा ज्यान गुमाउने शिक्षकहरूको कथा लेखेको छु। संक्रमणकालीन समयमा सर्वसाधारण मान्छेले भोगेको सास्ति पढ्न पाउनुहुनेछ । प्रेमिल मान्छेहरूले वास्तविक प्रेम‌ पाउनुहुनेछ । जसमा अधिकांश वास्तविक घटना र सन्दर्भहरूलाई उपन्यासको कथानक बनाएको छु । त्यसैले पढ्न रुचि हुने पाठकहरूले यो उपन्यास पढ्नु पर्छ भन्ने आग्रह गर्दछु । मुख्यपात्र सहदेव जो मध्यम वर्गीय नेपाली, उसले नेपालको संक्रमणकालीन समयमा गरेको सङ्घर्ष, प्रेममा गरेको त्याग र विद्यार्थीको लागि समर्पण गरेको समयबाट पाठकमा अवश्य पनि सकरात्मक प्रभाव पार्ने आशा लिएको छु ।

एउटा स्थापित कविले पहिलो कृतिको रूपमा उपन्यास लेख्नुको कारण के होला ? कसरी प्रेरित हुनुभयो ?

कथा कविता सानैदेखि लेखे पनि गाउँमा बस्ने मान्छे भएकाले उति चर्चा कमाउन नसकेको हुँ । गतवर्ष राष्ट्रिय कविता महोत्सव जितेपछि अलिबढी चिनिने मौका मिल्यो । उपन्यास लेख्ने प्रेरणाको सन्दर्भमा जब म शिक्षक बनेँ, सोही समयदेखि शिक्षकको बारेमा केही लेख्ने सोचेको हुँ । तर के लेख्ने, कसरी लेख्ने भन्ने थाहा थिएन । नेपालको सन्दर्भमा सबैभन्दा हेलाको पेसा मानिन्थ्यो शिक्षकलाई, एउटा बिराउने शाखा पिराउने भनेजस्तो केही गलत शिक्षकको कारण सबै शिक्षकलाई दोषी ठहराइन्थ्यो। शिक्षकको मर्यादाक्रम पनि नहुने, तलब पनि रोएर चार महिनामा बल्लबल्ल पाइने। आफूलाई निकै अपमानित महसुस हुन्थ्यो । कति विद्यार्थी प्रगति गर्थे कति विद्यार्थी अरब जान्थे र बाकसमा प्याक भएर आउथे । यस्ता घटनाहरूले मेरो मन बहुत पोल्थ्यो । यस्तै कुराहरूबाट लेखनको सुरुवात गरेँ । एक-दुई च्याप्टर लेखिसकेपछि एकजना साथीले पत्याउनै गारो पर्ने खालको उहाँको जीवन कथा सुनाउनु भो त्यसपछि अलि यो उपन्यास मोडियो र यस्तो बन्यो ।

उपन्यासको कथा र पात्रहरू कसरी जन्माउनु भयो ?

यो निक्कै जटिल रहेछ । कथानक, उपन्यासमा कथाको परिवेश, उपन्यासको उद्देश्य आदि कुरालाई ख्याल गरेर पात्रको रचना गर्नु बहुत गारो रहेछ । पात्रहरू जन्माउनेक्रममा आफ्नै साथीहरू सम्झेँ, उनीहरूको चरित्र, उपद्रो, छुल्याईँ सम्झेँ, नाम सम्झेँ, त्यसो गर्दा पात्रहरूको सिर्जना गर्नु केही सजिलो भो । त्यसैगरी कथाको कल्पना गर्नु पनि सजिलो भयो । तर कथाका प्लटहरू शिलशिलेबार मिलाउनु, एकअर्कासँग जोड्नु कठिन नै भो । सुरु च्याप्टर सबैभन्दा अन्तिममा लेखेको हुँ । अन्तिम च्याप्टर सकेर कति बिचका च्याप्टरहरू लेखेको हुँ । पहिलो पटक उपन्यास लेखेको भएर पनि यस्तो भएको हुनसक्छ । तर उपन्यास कसरी सक्ने, के दिने भन्ने कुरामा भने म प्रष्ट थिएँ ।

केका लागि र कसका लागि लेख्नुहुन्छ ?

म त आत्मसन्तुष्टिको लागि लेख्छु । तर आफूले लेखेको कुराले अरुको मन छोइदिए हुन्थ्यो भन्ने त अवश्य लाग्छ ।

उपन्यासका कुनै पात्रले तपाईंलाई प्रतिनिधित्व गरेका छन् कि छैनन् ?

त्यस्तै म आफू नै त छैन । हामीले भोगेको समय त नितान्त छ नै । उपन्यासको मुख्य महिला पात्र चम्पाको आनीबानी मसँग केही मिल्छ ।

तपाईंले उपन्यासमा मूल पात्रका रूपमा सहदेवलाई उभ्याउँदा अरू सहायक पात्रहरूको भूमिकाप्रति अन्याय गरेँ कि जस्तो लाग्दैन ?

त्यस्तो त लाग्दैन । सहदेवप्रति नै अलि बढी कठोर भएर उसलाई धेर दुःख दिएँ कि भन्ने लाग्छ । कतिपय पाठकले चाहिँ चम्पालाई अन्याय गर्नु भो । चम्पाका कुरा कम आए भन्नु भएको छ भने कतिले चाहिँ टुहुरा भएदेखि सहदेवलाई हुर्काउने, पढाउने अनि पछि जनयुद्धमा गएर मारिएकी माइली दिदीलाई अन्याय गर्नु भो भन्नु भएको छ ।

यहाँलाई लेखनमा प्रभाव पार्ने कुराहरू के के हुन् ? के कुराले यहालाई लेख्न अभिप्रेरित गर्छ ?

म धेरै लेख्ने मान्छे होइन । जे देख्यो त्यसैमा लेखिहाल्ने बानी पनि छैन र सक्दिनँ पनि । तर यस्तै केही कुरा हुन्छन्, मन छुने स्वतस्फूर्त लेख्न मन लाग्छ । यस्तै र यही कुराले प्रेरित गर्छ भन्ने छैन । सानोमा चाहिँ म लेखेको कुरा आमालाई सुनाउथेँ । आमा रुनुहुन्थ्यो । आमालाई मन पर्ने लेख्दो रछु भन्थेँ र अझै लेख्थेँ।

लेख्नुपर्छ भनेको तर लेख्न नसकिरहेको कुनै विषयवस्तु छन् कि ?

छ अवश्य पनि । बिस्तारै भन्छु ।

तपाईं एक शिक्षिका, गृहिणी र मोफसलको गाउँमा बस्ने मान्छे, अध्ययन र लेखनमा कत्तिको चुनौती छ ?

चुनौतीका त चाङ ठूलै छ । एक त समय नै हुँदैन। घरधन्दा र स्कुलले खान्छ सबै समय । नानीहरूको पढाइ । अर्को कुरा पढ्ने फुर्सद हुँदैन र गाउँमा भनेजस्तो किताब पाइँदैन। मैले लेख्ने पढ्ने भनेको रातिको समय हो । यो उपन्यास मैले रातिको समय सदुपयोग गरेर लेखिसकेको हुँ ।

पुस्तक प्रकाशन हुनुअघि र प्रकाशनपछि लेखकीय जिम्मेवारीमा केही फरकपन महसुस गर्नुभयो ?

निकै फरक हुन्छ । प्रकाशन पूर्व एक किसिमको उत्साह हुन्छ । प्रकाशनपछि फरक उत्साह र डर हुने रहेछ। लेखिसकेपछि आफूलाई एक किसिमले पूर्ण महसुस पनि हुने रहेछ ।

यसपछिका योजनाहरू के के छन् ?

अब चाँडै किताबको विभिन्न ठाउँमा समीक्षा कार्यक्रम सक्नुछ । प्रकाशकसँग सहकार्य गरेर बजार प्रवर्धन गर्नुछ । अर्को उपन्यासको कथा सोचिरहेकी छु ।

कहिलेसम्म लेखिरहनुहुन्छ ?

लेख्न सकुन्जेल लेखिरहने छु ।

प्रतिक्रिया
Loading...