पोखरा । शब्दालय, पोखराको शुभारम्भ प्रकाशन तथा आयोजनामा संयुक्त कृति ‘दामली अक्षर’ एक समारोहका बीच लोकार्पण गरिएको छ। प्रणय दिवसको अवसर पारेर आयोजित कार्यक्रममा कृतिका स्रष्टाहरू लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी, दीपक समीप र जीवन सागर भण्डारीका धर्मपत्नीहरू क्रमशः मैंया थापा, रीता अधिकारी ‘ऋतु’, शर्मिला श्रेष्ठ र मञ्जु भण्डारीले पुस्तकको संयुक्त रूपमा विमोचन गर्नुभएको हो।
कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ र रमेश श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। शुभकामना दिने क्रममा बिम्बकवि रमेश श्रेष्ठले अक्षरको शक्ति र सौन्दर्यको महिमासहित ‘दामली अक्षर’ को सफलताको कामना गर्नुभयो। साहित्यकार तीर्थ श्रेष्ठले नेपाली मुक्तक लेखन तथा वाचनमा पोखराको महत्वपूर्ण स्थान रहेको उल्लेख गर्दै समकालीन पोखरेली कवि–साहित्यकारहरूको सहकार्यले नेपाली मुक्तक र समग्र साहित्यिक क्षेत्र समृद्ध हुने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी साहित्यकार सरुभक्तले नेपाली तथा विश्वसाहित्यमा संयुक्त कृति प्रकाशनको परम्परा र इतिहासबारे चर्चा गर्दै ‘दामली अक्षर’ र शब्दालय, पोखराको सफलताको कामना गर्नुभयो। पोखराका चार सर्जकलाई एउटै कृतिमा भेटिनु नेपाली मुक्तकमा पोखरेली सर्जनशीलताको सुन्दर प्रतिनिधित्व भएको उहाँको भनाइ थियो।
कार्यक्रममा स्रष्टाहरूका तर्फबाट डा. ईश्वरमणि अधिकारीले शब्द सूक्ष्म देखिए पनि आफैँमा प्रकाश, सौन्दर्य र शक्ति भएको उल्लेख गर्दै ‘दामली अक्षर’ मानवीय संवेदनाहरूको समष्टिगत स्वरूप भएको धारणा राख्नुभयो। लक्ष्मण थापाले आफू अपूर्ण यात्रारत स्रष्टा भएको उल्लेख गर्दै अक्षरको आराधनामा निरन्तर लागिरहने बताउनुभयो।
दीपक समीपले स्पष्टता, सघनता, सूक्ष्मता र भावको तीक्ष्णता मुक्तकका प्रमुख सौन्दर्य भएको उल्लेख गर्दै कृतिका मुक्तकहरूमा त्यसतर्फ विशेष सजगता अपनाइएको जानकारी दिनुभयो। जीवन सागर भण्डारीले लेखन तथा प्रकाशन यात्राका सन्दर्भ प्रस्तुत गर्दै शब्दालयलाई अक्षरजीवीहरूको साझा घरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कृति लोकार्पण कार्यक्रममा साहित्यकार तथा पोखराका विभिन्न वाङ्मयिक संस्थामा सक्रिय कवि रीता अधिकारी ‘ऋतु’ले दामलीहरूको सहयात्राले आगामी दिनमा अझ बढी सार्थकता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सृजनात्मक सफलताको शुभकामना दिनुभयो। उहाँले कृति विमोचनमा नारी शक्तिको सहभागिताले सिर्जनात्मक निरन्तरताको सन्देश दिएको धारणा पनि राख्नुभयो।
सम्पूर्ण उपस्थित महानुभावहरूलाई सभाध्यक्ष मानेर सम्पन्न कार्यक्रम कवि अमृत क्षेत्रीले सञ्चालन गर्नुभएको थियो। उहाँले ‘दामली अक्षर’ र शब्दालय भविष्यमा काव्यिक बहस र साहित्यिक चिन्तनको केन्द्रका रूपमा विकसित हुने विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ फाल्गुन २०८२, आईतवार 










