एक सैनिक र एक साधक हुन् अमृत । जीवनको तरुणावस्थामा पुग्ने बित्तिकै समयको भेलले उनलाई सैनिकजस्तो कठिनाइपूर्ण पेसामा हुत्त्यायो । अमृत र सैनिक ! झलक्क हेर्दा पटक्कै नमिल्दो संयोग । उनको मुहारको कोमलता, निर्दोष मुस्कान र आध्यात्मिक चिन्तनयुक्त जीवनशैली देख्दा कसैले पनि यो मान्छे पूर्व सैनिक हो, भनेर ठहर गर्न सक्दैन । तर यथार्थ भने यही हो ।
दुई वर्ष पहिला मात्र ‘एकान्त भीड’ नाममा कवितासङ्ग्रह प्रकाशित गरी नेपाली साहित्यिक परिवेशमा दरिलो उपस्थिति देखाएका अमृतले अहिले आफ्नो सैनिक जीवनको सम्झनालाई समेटेर ‘यादको कोलाज ‘ नाम दिई नयाँ कृति बजारमा ल्याएका छन् ।
हुन त बजारमा यति बेला आफ्ना संस्मरणात्मक कृति लेखी वा लेखाइ बजारमा ल्याउने रहर थुप्रै पेसामा रहेका मानिसहरूले देखाएका छन् । तीमध्ये कतिपय संस्मरणहरूलाई पाठकहरूले थपक्क उठाएर आँखामा पनि राखेका छन् र मदन पुरस्कार गुठीजस्ता चर्चित संस्थाले पुरस्कृत पनि गरेका छन् । तर कतिपय संस्मरणहरू भने आत्मश्लाघा बाहेक केही नहुँदा पाठकले नाक खुम्च्याउन पर्ने अवस्था पनि रहेको छ ।
अमृतको संस्मरण भने भारतीय सैनिक जीवनसँग मात्र सम्बन्धित रहेकोले ती कमीकमजोरीबाट बच्ने मौका उनलाई छ । किनभने सैनिक जीवन भनेको सार्वजनिक जीवनभन्दा पनि दुर्भेद्य अनुशासनको पर्खालभित्रको जीवन हो । भोग्नेहरूको लागि यो जीवन जति कठिनाइपूर्ण छ, सर्वसाधारणका लागि उत्तिकै कौतुहलतापूर्ण पनि छ । उनले आफूले भोगेका यथार्थ घटनाहरूको माला गाँस्ने काम यस कृतिमा गरेका छन् । उनको जीवन अध्यात्मवाद र भौतिकवादको सङ्गम पनि बनेको छ । आध्यात्मिक चेतनाका सौन्दर्यहरूलाई आफ्नो अभीष्ट बनाएका अमृतले यस कृतिमा आफ्नो सैनिक जीवनका उतार-चढाव बयान गर्दागर्दै आफ्ना चैतन्यका रङ्गहरू भर्न छुटाएका छैनन् ।
वैयक्तिक अनुभूति र वस्तुगत प्रसङ्गका तत्त्वहरू समावेश भएको यस कृतिमा बाह्र अध्यायहरू छन् । पहिलो अध्याय ‘परेड ग्राउण्ड‘मा जब यौटा जवान सैनिकमा भर्ती भएर सैनिक क्याम्पमा पुग्छ, त्यसपछि उनले सामना गर्नुपरेका तालिमका फलामे कठिनाइ र अपार चुनौतीहरू कसरी पार लगाउँछ भन्ने कुराको रोचक वर्णन छ ।
‘ब्यारेक र सिपाही’मा तालिमपछि कार्यक्षेत्रमा पहिलो पटक कम्ब्याट ड्रेस लगाई पठानकोट खटिँदाका रोमाञ्चक अनुभूतिको वर्णन छ । यसैबीच पहिलोपल्ट छुट्टीमा घर आउँदाका भावनात्मक प्रसङ्गहरू पनि छन् । जसले पाठकलाई आफ्नो जीवनको पूर्वस्मृतितर्फ डोर्याउँछ ।
‘हिउँको घर’ सैनिक जीवनको कठिनाइहरूको काव्य हो । लद्दाख, श्रीनगर, कारगिल, जस्ता ठाउँको कठोर भूगोल र ग्लेशियरसँगका सङ्घर्ष र चुनौतीका अनुभवहरू भयानक लाग्छन् । ‘सिपाहीकी प्रेमिका’मा स्रष्टाको साथी सुरेन्द्र र उसकी प्रेमिका शकुनको दुखान्त प्रेमकथा छ । ‘त्रसित कश्मीर ‘ अध्यायमा धर्तीको स्वर्ग भनिने कश्मीरमा आतङ्कवादी कहरले कति त्रासदीपूर्ण र कुरूप बनाएको छ, भन्ने प्रसङ्ग छ ।
‘देश फर्केको समय’मा आफू घरमा आएको र आफ्नो विवाहका सङ्क्षिप्त कुराहरू उल्लेख गरिएको छ । ‘कन्याकुमारीको सौन्दर्य ‘मा दक्षिण भारतको समुद्री किनारको सौन्दर्यलाई रसिलो पाराले व्यक्त गरेका छन् । ‘बारुदको गन्ध’मा पुँछमा पाकिस्तानी फौजसँगको भिडन्तको अत्यासपूर्ण प्रसङ्ग उल्लेख गरिएको छ ।
‘डल्हौजी’मा हिमाञ्चलकाे सुन्दर बस्ती डल्हौजीको बयान छ । ‘आँखामा आकाश पैतालामा पहाड’ मा सिक्किमको रोमाञ्चकता समेटिएको छ । ‘स्वर्गका साँझहरू’मा सिक्किमकै लाचुंगतिरको प्रसङ्ग छ भने ‘इतिहासको बाटोमा हिँड्दा’ आफ्नै बारेमा लेखिएको अध्याय हो ।
यो कृति आफ्नै यथार्थ अनुभूति भएकोले काल्पनिकता न्यूनतम हुनु स्वाभाविकै हो । यसमा लेखकको भावुकता र कवित्वले प्रशस्तै ठाउँ पाएको छ ।
यो कृति लेखकको सचेततापूर्ण स्मृतिको कोलाज हो । जसमा वस्तुपरक र आत्मपरक संस्मरणहरू भएको यथार्थ घटनाहरू समेटिएका छन् ।
यो कृतिको परिवेश भारतको उत्तरी सीमान्तदेखि दक्षिण कन्याकुमारीसम्म रहेको छ र लेखक छुट्टीमा घर पर्वतको गिजान आउँदाका प्रसङ्गहरू पनि छन् । आत्मपरक कृति भएकोले सहायक पात्रहरू सीमित छन् । पुस्तक पढ्दै जाँदा कौतूहल जगाउने घटनावलीहरू भरपुर छन् ।
जम्मा १२८ पृष्ठको पुस्तक एकै बसाइँमा सकिने भएकोले धेरै समय पनि खर्च गर्नुपर्दैन ।
यस कृतिको भाषा र शैली काव्यात्मक र दार्शनिकताले भरिएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा लेखकले आफ्नो लेखकीय इमान गुमाएका छैनन् । यो पुस्तक एउटा सैनिकले इमानदारीपूर्वक लेखेको काव्य हो ।
पुस्तक पढ्दै जाँदा केही अभाव पनि नखट्किने हैन । जस्तै, ‘सिपाहीकी प्रेमिका’ अध्यायमा पाठकले लेखककै प्रेम प्रसङ्गको अपेक्षा गर्छ । तर यहाँ लेखकले साथीलाई अगाडि सार्छन् । उनकै विवाहको प्रसङ्गलाई पनि अझै लम्ब्याएर रोचक बनाउन सकिन्थ्यो । घटनाका प्रसङ्गहरूलाई अझै बयान गरेको भए पाठकलाई अझै धित मर्थ्यो । त्यस्तै ‘ढल्हौजी’ भन्ने ठाउँलाई डलहौज़ी भनिने हो भन्ने मेरो जानकारीमा छ ।
म आशा गर्दछु, अर्को संस्करणमा यी झिनामसिना कमीकमजोरी हटाइने छन् । तर समग्रमा पुस्तक पठनीय र सङ्ग्रहणीय पनि छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।