महिला पात्रहरू सशक्त छन् । कामाक्षी हरेक भेटमा प्रोफेसरमाथि हावी हुने प्रयास गर्छे । प्रोफेसरको पदको मात्र नभई अध्ययनरत पिएचडीलाई पनि हाँसोमा उडाउँछे ।

                     उपन्यास एउटा महत्त्वपूर्ण साहित्यिक विधा हो । जसले मानव जीवनको जटिलता र अनुभवलाई सशक्त रूपमा व्यक्त गर्न समर्थ हुन्छ । त्यसैले हेनरी जेम्सले भनेका छन् ‘उपन्यास भनेको जीवन नै हो’ । विश्व उपन्यासकै इतिहास खोदल्ने हो भने ग्रीस र रोमन साहित्यसम्म पुग्नुपर्छ । जस्तै, दोस्रो शताब्दीमा Apuleius को The Golden Ass लाई लिन सकिन्छ । सन् १९०५ मा स्पेनी लेखक मिगुएल दे सवोन्तेसको Don Quixote नै आधुनिक उपन्यासको प्रारम्भ बिन्दु हो । पछि बेलायती लेखकहरू ड्यानियल डेफो, स्याम्युएल रिचर्डसन आदिले लोकप्रिय बनाए । यसरी हेर्दा उपन्यासको इतिहास दुई हजार वर्षको भए पनि आधुनिक उपन्यासको उमेर चार सयदेखि चार सय ५० वर्षको होला । नेपालमा वीरसिक्का (गिरीवल्लभ जोशी) १९३५ तिर प्रकाशित भएकाले झण्डै डेढ सय वर्ष पुरानो इतिहास छ ।

‘इन्द्रधनुषका पुतलीहरू’ कृष्णप्रसाद बस्ताकोटीको दोस्रो उपन्यास हो । एक कविता, एक कथासंग्रहका साथै हरिहर गुफा सम्बन्धी खोजमूलक पुस्तक प्रकाशित गरिसकेका स्रष्टाले आफ्नो पहिलो उपन्यास ‘नयाँ जातको रुख’मा देशको कृषि र शिक्षा सम्बन्धी आफ्नो अवधारणा प्रभावकारी रूपमा राखेका थिए । यस उपन्यासमा उच्च शिक्षाको खस्कँदो अवस्थाका साथै माओवादी द्वन्द्व र पछिल्लो मूल्य, निष्ठा र नैतिकतामा खस्कँदो राजनैतिक परिवेशलाई आधारभूमि बनाई घटनाहरू सजीव र स्वाभाविक रूपमा टपक्कै टिपेर आकर्षक रूपमा कथावाचन गरेका छन् ! यसले नेपालको राजनैतिक, शैक्षिक र सामाजिक परिवेशमा गुम्फित घटनाहरू र त्यसको सम्भाव्यतालाई पूर्ण सचेततापूर्वक ध्यानमा राखेर खिप्न सफल छन् । उपन्यासले नेपाली समाजको समस्याग्रस्त अव्यवस्थालाई दर्साउँछ र आफ्नै वरिपरि घटेका घटनाहरूलाई चलचित्र हेरे झैं अनुभूति गराउँछ । उपन्यासले जुन पात्र र परिवेशलाई दर्शाएका छन् ती सजीव लाग्छन् । विख्यात साहित्यकार सरुभक्त भन्छन् ‘यो नेपाली इतिहास र परिवेश बोकेको सामाजिक यथार्थवादी उपन्यास हो ।’

उपन्यासको प्रमुख पात्र प्रोफेसर हो, ऊ त्योबाहेक बीमा एजेन्ट र जग्गा दलालीको काम पनि गरेर धन प्रशस्तै कमाएको एकल पुरुष पनि हो । पुतलीका विषयमा विद्यावारिधि पनि गर्दैछ । यसरी उच्च शिक्षित र उच्च पदस्थ व्यक्तिहरू आफ्नो अवस्थामा सन्तुष्ट भै तनमनले सेवा प्रदान नगरी चारैतिर छिरलिने क्रम समाजमा व्याप्त छ । यस्तो परिवेश असुरक्षाले ल्याएको हो वा महत्वाकांक्षाले वा अहंको प्रदर्शन ?  उसलाई उपन्यासकारले असलपात्र भनेका छन् । तर वास्तवमा असल हुन नसकेको असलपात्र भन्दा उचित होला । बाबुआमा परित्याग गरेको, पत्नीसँग पारपाचुके, प्राध्यापक भएर दलाली गर्ने अनेक ठाउँमा जोडिएको र हाल विवाहिता एक बच्चाकी आमासँग अनमेल प्रेममा फँसेको मान्छे जताबाट हेरे पनि पूरा असल लाग्दैन । कहिलेकाहीँ असल देखिन खोजे पनि स्वार्थप्रेरित लाग्छ । कुचो लगाउँने केटीका बाबुदाइलाई सहयोग गर्छ, तर त्यो निःस्वार्थ छैन । एउटै असल काम के देखिन्छ भने, पैसा भएर पनि पद खरिदमा रुचि देखाउँदैन, अध्ययन र काममा मिहिनेत देखाएको छ ।

नायिका कुचो बोक्ने केटी अत्यन्तै विपन्न परिवारबाट आएकी हो । वास्तविक नाम कामाक्षी भए पनि यो नाम एक ठाउँमा मात्र नाम उल्लेख छ । ऊ परिवार पीड़ित, माओवादी पीड़ित र कुरूप समयको थप्पडले थिलोथिलो परेकी महिला हो । सानै छँदा आमा पोइल जानु, सौतेनी आमाको उत्पीड़न, माओवादी अपहरणमा पर्नबाट जोगिन किशोर उमेरमै अर्को किशोरसँग भागेर पोखरा आएर संघर्ष गरेकी एक सन्तानकी आमा हो । अहिले कार्यालयमा कुचो लगाएर जीवन गुजारेकी छे । अल्पशिक्षित भए पनि जीवनका अनेक हण्डरहरूको पाठ पढेर खारिएकी छे, कडा छे, वाकपटु छे, सचेत छे, दार्शनिकका जस्ता कुरा गर्छे । तर विवाहेत्तर सम्बन्धमा अल्झिएकी छे ।

अन्य पात्रहरूमा माओवादी लडाकु, केटीको बाबु, दाजुभाउजू, प्रोफेसरको बाबु निरप्रताप, आमा, सेनाको मेजर, गणपति, पूर्वपत्नी, छोरो, मावलीका हजुरबा, जमिन्दारकी छोरी, जमिन्दार, मन्त्री, रातो ज्याकेटवाला पूर्वलडाकु, हवल्दार, डा. तण्डुकार, डा. पुण्डरिक आदि छन् । विशेषगरी यी पात्रहरू झल्याकझुलुक आउँछन् र कथालाई अगाडि बढ्न मद्दत पु-याउँछन् ।

कथा पोखराकै क्याम्पसको परिवेशमा बुनिएको भए तापनि अगाडि बढ्ने क्रममा सिरुबारी, रुण्टिगढी, दाङको होलेरी जंगल, मध्यतराई, काठमाण्डौ र अन्य ठाउँका परिवेशमा अगाडि बढ्दै पोखराकै बैदाममा आएर टुङ्गिन्छ । एउटा बैठकमा कुचो बोक्ने केटीलाई देखेपछि प्रोफेसर प्रेम गर्न पुग्छ र कथा अगाडि बढ्छ । उपन्यासभित्र प्रेम त छ नै, द्वन्द्व पनि छ । माओवादी द्वन्द्वको सेरोफेरो पनि छ र शान्ति प्रकृयापछिको रुपान्तरित मुहार पनि छ । प्रोफेसर माओवादीको चङ्गुलमा फँस्नु, चन्दा बुझाई छुट्नु, फेरि सेनाको पक्राउमा पर्नु आदि घटना तत्कालीन माओवादी र राज्यपक्षबाट पाएका सास्तीका झलक हुन् । त्यसैगरी, प्रोफेसर र उसको बाबुबीचको द्वन्द्व, पतिपत्नीको द्वन्द्व, कुचो बोक्ने केटी, उसको बाबु र दाजुलाई माओवादीले दिएको पीडा, कलेजमा दुई प्रोफेसरहरू डा. तण्डुकार र डा. पुण्डरिकबीचको द्वन्द्व र विवादले वर्तमान परिवेशको तस्वीर उतारेको छ ।

उपन्यासकारले द्वन्द्व मात्र हैन, पात्रहरूबीचको अन्तर्द्वन्द्वलाई पनि कुशलतापूर्वक उतारेका छन् । प्रोफेसरले कुचो बोक्ने केटी मन पराउनु, केटी कहिले सकारात्मक देखिनु कहिले वेवास्ता गर्नु, लोग्नेले पठाएको छोकडा प्रोफेसरलाई अमिलो लाग्नु र केटीभित्र छोरा, अरबमा भएको लोग्ने र प्रेमीबीचको अन्तर्द्वन्द्वका चित्रहरू प्रतिबिम्बित छन् ।

सामाजिक यथार्थवादको धरातलमा लेखिएको यस उपन्यासले वर्तमान सामाजिक परिवेशलाई गजबले चित्रण गर्ने प्रयास गरेको छ । यहाँ उच्चपदस्थ मानिसमा द्रव्यमोहले निम्त्याएका विसङ्गति देख्न सकिन्छ । दुनिया बदल्ने भनेर जङ्गल पसेर एक दशक लडाई गर्ने माओवादीमा कसरी मूल्यह्रास भैरहेछ, देशका महत्त्वपूर्ण पदहरू कसरी टुँडिखेलका भेडाच्याङ्ग्रा झैं बिक्री भैरहेकोजस्ता कुराको चित्रणले देशमा नैतिक धरातलका सम्पूर्ण आयामहरू समाप्त भई ठूलो बेथितिको सिर्जना भएको देखाउँछ ।

उपन्यासमा शैक्षिक क्षेत्रमा देखिएको कुण्ठा, अतृप्ति र विसङ्गतिलाई पनि उजागर गर्ने प्रयास गरिएको छ । विद्यावारिधिजस्तो गरिमामयी उपाधिलाई कति हल्का रूपमा लिन थालिएको छ भन्ने मात्र हैन ती उपाधिधारीका कृयाकलापले समग्र प्राज्ञिक क्षेत्रले क्षति बेहोर्नुपर्ने कुरातिर सङ्केत गरिएको छ ।

महिला पात्रहरू सशक्त छन् । कामाक्षी हरेक भेटमा प्रोफेसरमाथि हावी हुने प्रयास गर्छे । प्रोफेसरको पदको मात्र नभई अध्ययनरत पिएचडीलाई पनि हाँसोमा उडाउँछे । दुर्व्यवहार गर्न खोज्ने हवल्दारको कडा प्रतिवाद गर्छे । कुचो बोक्नुपरेकोमा कुनै हीनतावोध गर्दिन । अर्की ट्याम्पो चालक महिला पनि दृढ देखिन्छे । सापेक्षमा पुरुष पात्र कमजोर हुन कि भन्ने देखिन्छ ।

उपन्यासको अन्त्य फरक तरिकाले गरिएको छ । त्यसपछि के भयो ? त्यसमा विचार गर्ने, अनुमान गर्ने, कल्पना गर्ने र निर्णय गर्ने जिम्मा पाठकलाई नै दिएर उपन्यास टुङ्ग्याइएको छ । उपन्यासमा परिस्कृत भाषाको प्रयोग गरिएको भए तापनि केही पात्रको मुखबाट उनीहरूको आफ्नै बोली बोलाउने प्रयास गरिएकाले रमाइलो पनि लाग्छ । तर कामाक्षी लगायतका अल्पशि़क्षित पात्रको मुखबाट उच्चस्तरको दार्शनिक अभिव्यक्ति नपच्ने झैं लाग्छ ।

लियो टोल्सटोयले उपन्यासलाई मानव आत्माको गहिरो अन्वेषणको साधन मानेका छन् । प्रस्तुत उपन्यासका उपन्यासकारले एउटा प्रोफेसर र कुचो बोक्ने केटीबीचको गहिरो प्रेमको भावभूमिमा वर्तमान बौद्धिक र राजनैतिक क्षेत्रमा भइरहेको मूल्यह्रास देखाउने प्रयास गरेका छन्, त्यो प्रशंसनीय छ । उपन्यास सबै वर्गका पाठकका लागि स्पर्शशील र पठनीय भएको मेरो ठहर छ ।