पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न पाँच वटा पुस्तक प्राप्त भएका छन् ।

……………………………………..

 

१. किनाराका गीतहरु – राजकुमार श्रेष्ठ


कवि राजकुमार श्रेष्ठको कविता सङ्ग्रह हो ‘किनाराका गीतहरु’ । कविले पुस्तकमा मानवीय संवेदना, प्रकृति र जीवन पद्घतिलाई लयात्मक तरिकाले प्रस्तुत गर्नुभएको छ ।

”सामान्यतया सृजनाको विषयमा सर्जकले केही बोल्नै पर्दैन ।” पुस्तकमा  राजकुमार श्रेष्ठ लेख्नुहुन्छ, ” त्यो आफै बोल्छ । अझ सशक्त हुन्छ काव्य । शब्द शब्दमा बारूद पड्‌काउने क्षमता हुन्छ । आँशू खसाउने लय हुन्छ । कविता आफैंमा ज्यूँदो जीवन हो, सि‌ङ्गो समाज हो, प्रकृति र पाठशाला पनि हो । र, यही धर्म निभाउन खोजेका छन, ‘किनाराका’ समग्र ‘गीतहरु’ ले । कवि प्रत्येक किनाराको अवशेषमा लुकेको छ । अरूण, क्याँवा, चारघरे, तमोर, कालखोला, छामघाट, इन्द्रावती, बागमती, विष्णुमती हुँदै कर्णालीसम्मका किनाराहरु । सन्दर्भलामो हुनसक्छ तर कवि हरेक खोल्सी, खोला, खहरे, बगर र तिनको भेल, भङ्गालो अनि धारहरुसँग परिचित छ । हरेक गीत सँग-सँगै नाचेको छ, भाका र लय मिलाएर, सकी नसकी, जानी नजानी, रहरले, कहिले करले हात हल्लाएको छ, कम्मर मर्काएको छ र अधिकांश गीतहरु सँगसँगै रोएको पनि छ । बाल्यकालमै कवि संगिनी, मारूनी र धान नाचसँग चिरपरिचित थियो । पूर्वका ती मिहिन माटा, गहन हावा, अर्थपूर्ण बादल, रूमानी हिमशिखर, खोला-खाल्सी र पखेरासँग नजीकको नाता थियो । तर आज गाउँ गाउँजस्तो छैन । टाढाबाटै देखिने स्वाँराको डील, बाल्यकालमा दगुरेका पाखा, डिही र कान्लाहरु झाडीभित्र कतै निसासिएर छट्पटाइरहेका छन् । श्वास हिरिक्कै जालाजस्ता पोलियोले थलिएका पुराना घरका भित्ताहरु । मक्किएर खस्दै गरेका चुलीगारा । अलि परबाट हेर्दा आफ्‌नै लाश नियालेजस्तो । विगतले पटक पटक पोल्छ । आफैँ बाँचेर आएको इतिहासले चिथोर्छ । कवि तिनकै भाका र लयभित्र डुबेको हो, हराएको हो र तिनकै गीतहरूमा विलीन भएको हो । त्यसकै उपज थियो पहिलो कृति ‘रोयल चारघरे’ र तिनै भावहरुले जन्माएको हो ‘किनाराका गीतहरु’ पनि । किनाराहरुलाई जसरी आकार दिन खोजिएको छ, मानवीय संवेदना, प्रकृति र जीवन पद्धतिलाई जसरी लय दिन खोजिएको छ । हो, यही हो यसको भाका, लय त्यही हो र त्यसरी नै बगेका छन् किनाराका गीतहरु ।”

पुस्तकलाई शब्दमिडिया प्रा.लि साहित्यपोस्टले प्रकाशन गरेको छ । ५९ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।

=======================

२. विम्ब – सर्वज्ञ वाग्ले


लेखक, कवि सर्वज्ञ वाग्लेको कविता सङ्ग्रह हो ‘विम्ब’ । वाग्लेको कवितामा अस्तित्वको खोज, नोस्टाल्जिया, मानवीय मूल्य, भ्रष्टाचार दुराचार प्रतिको विमती पाइन्छ ।

”हुन त वाग्लेको परिचय एक सर्जकको रूपमा मात्रै पनि सीमित छैन ।”  पुस्तकमा महेश पौड्याल लेख्नुहुन्छ, ”उनी एक कुशल सङ्गठक र साहित्यसेवी पनि हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजजस्तो विश्वव्यापी साहित्यिक संस्थामा विभिन्न दायित्व निर्वाह गर्दै उनी केन्द्रीय अध्यक्षसम्म बन्न सफल भए । उनको दूरदर्शी नेतृत्वमा यस संस्थालें अनेक मुकाम प्राप्त गरेको धेरैले बोध गरेका छन् । गैरआवासीय नेपाली समाजमा पनि अमेरिकाको उपाध्यक्षको रूपमा उनले लामो समय सेवा पुऱ्याएका छन्। विदेशमा, विशेष गरी अमेरिकामा कुनै पनि नेपाली अप्ठ्यारोमा परेको खण्डमा सम्झने पहिलो नाममध्येको एक सर्वज्ञ वाग्लेको हो। वाग्लेको परिचयको अर्को कडी भनेको कविको रूप हो । साहित्यका पारखीहरूले उनका फुटकर कविता विभिन्न माध्यममा लामो समयदेखि पढ्दै आइरहेकै छन्। अब भने ‘विम्ब’ कवितासंग्रह मार्फत उनी यस फाँटमा औपचारिक रूपमै प्रविष्ट हुँदैछन् । यस अर्थमा, उनलाई कविताको फाँटमा स्वागत पनि छ, र हार्दिक शुभमकाना पनि छ । ‘विम्ब’ भित्र विचरण गर्दा पाठकले वाग्लेका कविता मूलतः तीन विषयतिर बढी लक्षित भएको पाउनेछन्- पहिलो, अस्तित्वको खोजी, जसमा मान्छेले मान्छे हुनुको अर्थमा आफैंलाई सार्थक रूपमा उभ्याउन के र कस्ता आधार र मूल्यहरूको खोजी गरिरहेको छ, त्यसको परख गर्न सक्नेछन् । उनले चित्रण गरेको आस्तित्विक मान्छे सीमाहीन मान्छे हो, सार्विक मान्छे हो। ऊ कुनै निश्चित परिचयभित्र बाँधिएको पुरुष वा महिला होइन, अथवा नेपाली वा विदेशी होइन। ऊ केवल मान्छे हो, र यी कविताभित्र अटाएको स्वर कुनै पनि भूगोलको, कुनै पनि पहिचान बोकेको एउटा औसत मानवको सार्विक स्वर हो।”

त्यसैगरी पुस्तकमा सर्वज्ञ वाग्ले लेख्नुहुन्छ,”विदेश पसेपछि आफ्नो परिवार, समाज, देश, भाषा, साहित्य, संस्कृति र आफन्तको मायाले सताउँदो रहेछ । त्यसका बावजूद काम, संघर्ष र भाग,दौडले जीवनमा सोच्ने, सम्झिने र भलाकुसारी गर्ने काम त मैले भुसुक्कै बिर्सेछु । अहिले जीवन संघर्षका कथाहरू पछि फर्केर हेर्न मन लाग्छ । तथापि, पर्याप्त समय छैन अझै पनि । यो सन्सारमा साहित्य मन नपराउने मान्छे को होला ? वास्तवमा साहित्य भनेकै जीवन भोगाइको बारेमा रचना गरिएको एक विशेष गीत-संगीत सहितको काव्य हो जस्तो लाग्छ । जसलाई मनोरञ्जनात्मक हिसाबले मन र मुटुमा छुने गरी जीवित बनाइन्छ ।”

पुस्तकलाई शब्दमिडिया प्रा.लि साहित्यपोस्टले प्रकाशन गरेको छ । ४३ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।

============================

३. तरङ्गित – शान्ता शाक्य


लेखक शान्ता शाक्यको लघुकथा सङ्ग्रह हो ‘तरङ्गित ‘। लेखकले पुस्तकमा समसामयिक, कुरीति, अज्ञानता, हिंसा जस्ता विषय उठाउनुभएको छ ।
”विषयको प्रस्तुति वा संयोजनले मात्र पाठकहरू संतुष्ट हुँदैनन् ।”  पुस्तकमा ध्रुव मधिकर्मी लेख्नुहुन्छ, ”त्यसमा पाठकका लागि केही भनिएको सन्देश वा निक्र्यौल अनि विचारको प्रवाह पनि आवश्यक हुन्छ । स्रष्टा शाक्यले जीवनका लागि आवश्यक सोच र चेतना विस्तार होस् भन्ने हेतुले पनि कथाहरूको सिर्जना गरेकी छन् । कर्म लघुकथामा आफ्‌नै खुट्टामा उभिन पर्छ भन्ने सकारात्मक सोचलाई प्रश्रय दिइएको छ । सानोतिनो गल्तीले भयानक परिणाम निम्तिन सक्छ भन्ने चेतना सत्यता कथामा छ । चोटमा समस्याको समाधान आफैले निकाल्नुपर्छ भन्ने बोध गराइएको छ । यसप्रकार प्रत्येकजसो लघुकथाले सामयिक स्थितिबोध गराउनुका साथै पाठकहरूसित चेतनाको संवाद पनि गर्छ । प्रस्तुत संकलनमा स्रष्टा शाक्यले समाजमा प्रायशः देखिने भोगिने घटना, आम मानिसका समस्या, सांस्कृतिक पर्वहरूमा नारीहरूले सस्कृतिलाई भन्दा वस्त्रलाई प्राथमिकता दिने, मानिसभित्रका रहरले पैदा हुने तनाव, अचेल आमाबाबुको पीरचिन्ता छोराछोरीले नबुझ्‌नु र छोराछोरीको व्यस्ततालाई अभिभावकले थाहा पाउन नसक्नु, मानवीय संवेदनामा हास आउनु तथा सकारात्मक चेतनाको विकासका लागि लेखनलाई सक्रिय पार्नु जस्ता विषयलाई पनि सचेततापूर्वक उठाएकी छन् । यसले साहित्यलाई जीवन र समाजसित जोड्न सहज तुल्याएको छ ।”

त्यसैगरी पुस्तकमा शान्ता शाक्य लेख्नुहुन्छ, ”आख्यान विधानको एक सानो छोटो उपविधा भएपनि आफै पूर्ण मानिएको कम समयमा पढेर तरङ्गित गराउने चट्टको चटनी नै लघुकथा हो जस्तो लाग्छ । अन्य विधाको तुलनामा अग्रगतिमा लोकप्रियता हासिल गरेको यस उपविधाको उत्थानमा हरबखत सक्रिय रूपमा मेहनत गरी खटिनु हुने लघुकथाकी अभिभावक लता म्यामलगायत सम्बन्धित सम्पूर्ण व्यक्तित्वहरूको श्रेयले गर्दा हो जस्तो लाग्छ । हुनत मैले २०८१ सालमा नै नेपाली भाषामा लघुकथासंग्रह प्रकाशित गर्ने सोच गरेकी थिएँ तर नेपालभाषाको लघुकथाले पहिलो स्थान लियो । व्यस्तताको कारणले गर्दा हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता के सी म्यामसँग कुरा राख्दा नेपालभाषामा निकाल्ने हो भने ध्रुव मधिकर्मी सरसँग सम्पर्क गर्नु भन्ने सल्लाह बमोजिम ‘लाय्लामाया क्वय्’ नामक नेपालभाषाको लघुकथा प्रकाशित भयो ।”

पुुस्तकलाई सिर्जना अभियान नेपाल प्रकाशन गरेको छ । ५२ ओटा लघुकथा सङ्ग्रहित पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।

=================

४. विस्मयको घेराबाट –विपिनचन्द्र बनेपाली


गजलकार विपिनचन्द्र बनेपालीको गजल सङ्ग्रह हो ‘विस्मयको घेराबाट’ । पुस्तकमा बनेपालीले मानवता, प्रेम राष्ट्रियता, विसङ्गति र समसामयिक राजनीतिक विषयलाई समेटनुभएको छ ।

”विस्मयको घेराबाट प्रत्येक व्यक्तिको जिन्दगीको यात्रामा भेटिन्छन् । कतिपय मेटिन्छन् । ”पुस्तकमा वियोगी बुढाथोकी लेख्नुहुन्छ, ”कुनै कुनै मात्र स्मृतिमा राखेर लेखिन्छन् । कतिपय त्यसै पनि स्मृतिबाट छेकिन्छन् । मेटिने र छेकिनेको अनुपातमा थोरै मात्र लेखिन्छन् । लेख्दा आफ्ना पाइतालाका डोबहरू हुन् कि हृदयमा लागेको डोब नै किन नहोस् लेख्दा अरूलाई पनि बाँडिन्छन् । र, कतिपयले उस्तै उस्तै र दुरुस्तै भएको भाव व्यक्त गर्ने गरेका पनि पाइन्छन् । हामी प्रत्येकले विस्मयको घेराबाट उल्लेख्य मात्रामा अनुभूत गरेकै हुन्छौँ । यसबाट कोही पनि अछुतो छ भन्ने यो पङ्क्तिकारलाई लाग्दा पनि लाग्दैन । सबैले अनुभूत गरेकै हुनुपर्छ भन्ने लाग्छ । हामीले भोग्दै आएको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रबाट मात्र प्रताडित हुनु परेको छैन । अन्याय, अत्याचार, भ्रष्टाचार र बेथितिको सिकार भएकै छौंभन्दा फरक पर्दैन। हुँदा खाने र हुनेखानेमा अन्तर नभएको होइन । लाग्छ कथा, व्यथा उस्तै उस्तै हुन् । यिनै भोगाइका डोबहरू युवा गजलकार विपिनचन्द्र बनेपालीको गजलभित्रको भाव हो । भोगेकै कारण नै लेखिन्छन् भोगाइहरू ।”

त्यसैगरी पुस्तकमा ईश्वर बुढाथोकी लेख्नुहुन्छ, ”आफ्नो सिर्जना र पुस्तकले पाठकको ध्यान तान्न नसकेपछि अनेक तिगडम गरेर चर्चित वा पुरस्कृत भएका साहित्यकारहरूका कारण साहित्यिक बजार गुलजार छ । यही साहित्यिक बजार र यसले सफल एवं उच्चकोटीको दर्जा दिएका साहित्यकारहरूद्वारा स्थापित त्यो भ्रमसाध्य साहित्यिक सफलताप्रति पटक्कै नलोभिएका साहित्यकारहरू मध्येका एक हुन्, विपिनचन्द्र बनेपाली ।”

पुस्तकलाई सिर्जना अभियान समाजले प्रकाशन गरेको छ । ५७ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य दुई सय ५० रुपियाँ रहेको छ ।

======================= 

५. पर्यावरणीय चेतना र नेपाली साहित्य – डा. अम्बिका अर्याल


लेखक डा. अम्बिका अर्यालको समालोचना सङ्ग्रह हो ‘पर्यावरणीय चेतना र नेपाली साहित्य’ । पुस्तकमा अर्यालले पर्यावरणीय चेतनाको परिचय, सैद्घान्तिक पृष्ठभूमि र विकास पर्यावरणीय समालोचनामा चलेको लहर जस्ता विषयलाई पुस्तकमा समेटनुभएको छ ।

”साहित्य जीवनको ऐना हो भन्ने मान्यता समयअनुसार बदलिँदो परिवेशसँग अझ स्पष्ट हुँदै गइरहेको छ ।” पुस्तकमा डा. अम्बिका अर्याल लेख्नुहुन्छ, ”जब पृथ्वीको आँसु बग्छ, वन काटिन्छ, खोला रित्तिन्छ, आकाश धमिलो बन्छ, तब साहित्य चुप रहन सक्दैन । अरिस्टोटलले भनेझै साहित्य प्रकृतिको अनुकरण हो । साहित्य प्रकृतिकै सन्तान हो, जसको पहिचान, पीडा र प्रेम आफ्नै पर्यावरणमा अडेको छ। पर्यावरण सङ्कटमा पर्दा साहित्य निदाउन सक्दैन । पर्यावरण हाँस्दा साहित्य रुन पनि सक्दैन । नेपाली साहित्यमा प्रकृति पहिले मानवीय ज्ञानको उद्बोधन स्थल, सुन्दरताको खानी तथा मानवदर्शनको प्रतीक थियो-सङ्कटग्रस्त थिएन । समय फेरियो । मान्छेले प्रकृतिसँगको सम्बन्ध तोड्न थाल्यो । धरतीका गर्भ चिरेर सडक बिछ्‌याइयो, खोला बाँधिए, वन मासिए, उद्योग कलकारखाना तथा रासायनिक पदार्थ बढे, कोलाहल बढे, धुँवा धुलो र विभिन्न ग्याँस फैलिए अनि पर्यावरण प्रदूषित र सङ्कटग्रस्त बने। यही बेला साहित्यले पनि आफ्नो दृष्टि बदल्न थालेको पाइन्छ । अब प्रकृति केवल सौन्दर्यको विषय होइन, चेतावनीको स्वर बन्न थाल्यो। मानिसको लोभ, विकास, उपभोगवाद र प्रविधिपूजक प्रवृत्तिका विरुद्ध साहित्य कलमधारी बनेर उभिन थाल्यो । यही मोडमा ‘पर्यावरणीय समालोचना’ (ecocriticism) को अवधारणाले नेपाली साहित्यमा प्रवेश गर्यो । साहित्यलाई मात्र होइन, जीवनलाई पनि संरक्षण गर्ने उद्देश्यले जन्मिएको यो सिद्धान्त पाश्चात्य सन्दर्भबाट आएको भए पनि हाम्रो संस्कार, धर्म, दर्शन र मौलिक परम्परामै जरो गाडेर बसेको छ। वेदहरूमा पृथ्वी, अग्नि, वायु, जल र आकाशलाई देवतास्वरूप पूजिएको तथ्यले प्राचीन संस्कृतिमा पर्यावरणीय चेतनाको सङ्केत दिन्छ ।”

पुस्तकलाई अनुसन्धान विमर्श नेपालले प्रकाशन गरेको छ । एक सय २७ पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।