‘एकलव्यको देशमा

हरेका दिन काटिन्छ

शिष्यको बूढी औँला’

एकलव्यको देशमा

एकलव्यको देशमा

यो कवितांश शीर्षक र शीर्ष कविता ‘एकलव्यको देशमा’ उल्लेख गरिएको छ ।

साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि कैलाशकुमार पाण्डेयकृत कवितासंग्रह “एकलव्यको देशमा” प्राप्त भएको छ ।

यसमा ‘धरहरा’, ‘उहिलेको कुरा’, ‘वन राउत अर्थात् राउटे’, ‘सडकसँगको साइनो’, ‘मैले बिराएँ’, ‘पिङ’, ‘आकामाथि आलेख’, ‘एउटा बाढी’, ‘तिम्रो नजरमा’, ‘पाटनमा उभिएर हेर्दा’, ‘केही हाइकु’, ‘चार मुक्तक’ आदि ७२ थान कविता समावेश छन् ।

आफ्नै कुरामा लेखक लेख्छन्, “समयसँग सबै पराजित हुन्छन् । अर्जुनको युगमा कर्णको धनुविद्या कमजोर रह्यो । सधैँ कर्ण पराजित रहे । अर्जुनकै खातिर एकलव्यको औँला काटिएको थियो । समय जित्नेहरूका लागि मात्र हो । इतिहास विजेताकै लेखिन्छ । तर, प्रतिभा, परिश्रम, पराक्रम पराजितसँग पनि हुन्छ । बलियाको मात्र होइन, निर्धाका कुरा पनि सुनिनुपर्यो । गरिबसँग पनि विचार हुन्छ । मन–मस्तिष्क त सबैसँग हुन्छ । सीमान्त आवाजले समग्रतालाई चिनेको हुन्छ । लेख्दै गर्दा बुनिएका आकाश छुने रहर कल्पनामै छन् । केही शब्दमा उतारेको छु ।”

भूमिकामा डा. नवराज लम्साल लेख्छन्, “कैलाशजीका कविताले वर्तमानलाई पक्रेका छन् र स्थानीयताको रङलाई सुकोमल तरिकाले टपक्क टिपेका छन् । अर्मपर्म, ऐँचोपैँचो र सेउलीपातीका कथा, घरेलु द्वन्द्व र सामाजिक अन्यायका विषय छरपस्ट छन् । समाजका कथालाई कविताको बान्कीमा मज्जाले कस्न खोजेका छन् । कविले टिप्ने समाज नै हो र पढ्ने, बुझ्ने पनि समाज नै हो । समाज, समय र संवेदनाको त्रिवेणीमा इतिहास, भूगोल र संस्कृतिको आकृति देखिएन भने लेख्नु नामको लेख्नुको के अर्थ र ? कवि कैलाश यसतर्फ सचेत देखिन्छन् । यो उनको सुन्दर पक्ष हो ।”

सम्पादन हाउसद्वारा प्रकाशित, १ सय ७८ पृष्ठमा आबद्ध यस पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।