साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई भवानी खतिवडाको “आकाश ओढेको डोल्पो” प्राप्त भएको छ । भवानी खतिवडा सशक्त नियात्राकार हुनुहुन्छ । उहाँकाे ‘घामभन्दा पहिले’ नियात्रासंग्रह धेरै चर्चित छ ।
“आकाश ओढेको डोल्पो” २ सय ११ पृष्ठमा फैलिएको छ । जसमा ‘बाटो लागेपछि’, ‘हेल्लो ड्रागन फल !’, ‘भेरीको तीरैतीर’, ‘भेलपुरी जोडी’, ‘फोक्सुण्डोको शे रमाइलो’, ‘यार्सा चिर्यस’, ‘ती नौ थान पुतली’, ‘चीसो रातः मीठो सम्झना’ आदि १६ थान शीर्षक समावेश छन् ।
भुवनहरि सिग्देल लेख्छन्, “गाह्रो छ नि नारीवर्गलाई साहसिक यात्रामा हिँड्न तर यी यात्रीका पाइताला रोकिएका छैनन् । उनी सगरमाथा बेसक्याम्पतिर जान्छिन् बाटामै नीमा भेटिन्छिन्, आफ्नै अद्भुत जीवन कहानी लिएर । यहाँ डोल्पा भ्रमणमा भेटिन्छन् पदम बा र उनकी बुहारी अस्मिता । संयोग पनि अचम्म लाग्ने, तिनले पाठकलाई संवेद्य बनाइदिन्छन् । यो नियात्रा पढेर डोल्पा यात्रा गर्ने कसैले पनि पदम बा र अस्मितालाई अवश्य खोज्छन् । भाषामा जादू भर्ने कला त भवानीसँग सिके हुन्छ । शे-फोक्सुण्डोको अलौकिक वणर्न, त्यसमाथि ठाउँठाउँमा कविता र गीतका गहनाले चिटिक्कै पारेकी छिन् भवानीले, यो आकाश ओढेको डोल्पोलाई ।”
महेश पौड्याल उल्लेख गर्छन्, “भवानी खतिवडाका पाइतालामा रहर, आँट र उत्साहले चक्र कुदेको छ भन्दा अत्युक्ति हुने ठाउँ देख्दिनँ । जेजे दुष्कर, अभेद्य र जोखिमपूर्ण देखिन्छ, यही नै उनको गन्तव्य भइदिन्छ । जुन समय र मौसम प्रतिकूल लाग्छ, त्यही उनको छनोटमा परिदिन्छ । यी दृढनिश्चयी पथिकका मनमा गुनासो कहिल्यै वास बसेको देखिँदैन । डोल्पाको भ्रमणमा बाटैभरि भूगोल, कृषिबाली र कविताका झङ्कारसँगै हिँड्ने/हिँडाउने यी शब्दमल्लिका डोल्पाका दुर्गम टाकुरा, भीरपाखा, झरना र तालहरूमा आनन्दका रङ भेट्टाउँछिन् र बादलले धरतीमाथि बर्सातका छिटा छरेझैँ खुशी छर्छिन् । धरती, प्रकृति र पौरखीप्रति सदा शिरनत रहने यी स्रष्टाको सौन्दर्यचेतको सिमाना कतै पनि देखिँदैन ।”
पुस्तकलाई पेज टर्नरले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ४ सय ७५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।