साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि तथा अनुवादक भीम ठटालको नवीनतम पुस्तक “अभिव्यक्तिको सत्ता” प्राप्त भएको छ ।

१ सय ७२ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘निर्माणको गाीत’, ‘अन्यात्रोपस्थिति’, ‘तलाऊ, रोडा र पानी’, ‘घर, भूकम्प र राजनीति’, ‘अडिटहरू र अनियमित विचारहरू, ‘राष्ट्रगान अनि म’, ‘भित्ताहरूसँग’, ‘उन्मुक्ति’, ‘धर्मयुद्ध’, ‘आकर्षण अनि मुक्ति’ लगायत ५४ कविता संग्रहित छन् ।

“भारतीय नेपाली कविताको परिप्रेक्ष्यमा हेर्नु हो भने पनि भीमको परिचय पाउन सकिनेछ । भारतीय कविता मूलतः जातीय चेतना, सामाजिक, बिडम्बना, राष्ट्रिय चेतना र आस्तिक नै रहेका छन् । यही प्रवृत्ति सिक्किमेली कवितामा पनि पाइन्छन् । यद्यपि समाजको एक विशिष्ट वर्गलाई लिएर गरिएको चिन्तन जस्ता विषयवस्तुमा भने थोरैको कलम चलेका छन् ।” भूमिकामा पेम्पा तामाङ उल्लेख गर्छन्, “सिक्किममा प्रशासनिक सेवामा रहेर सिर्जनात्मक लेखनमा आउने र अध्येता धेरै त छैनन् तर जो जति थिए उनीहरू मध्ये अधिकांशले आफ्नो प्रशासनिक अनुभव र त्यहाँ रहेका यथार्थ चित्रण गर्ने गरेको देखिँदैन । भीमको कविता यहीँ आएर विशेष आकर्षणको बन्दछ । सिक्किमको नौकरशाही, सत्तासीन समूह र नौकरशाही तन्त्रभित्रका विविध मुद्दा कविताको विषयवस्तु बन्न पुगेको भीमका कविताहरूमा देख्न पाइएका छन्। यसैले यो सङ्कलन समकालीन सिक्किमको काव्यात्मक प्रतिबिम्ब भएको छ । ‍…भीमले आफ्ना कविताहरूबाट समाजका विभिन्न तहलाई समन्वय गराउने प्रचेष्टा गरेको बुझिन्छ । समाजवाद शब्द केही कवितामा आए पनि समाजवादी कवितामा रहने वर्ग निक्खर राजनैतिक कविता हुनबाट बचाएको छ ।”

शुभकामनामा रेमिका थापा लेख्छिन्, “भीम ठटाल ऊर्जालाई साध्न सक्ने स्रष्टा हुनुहुन्छ । शक्तिको प्रदर्शनमा होइन विनम्र मन्थनमा भरोसा राख्नुहुन्छ । भारतजस्तो देशमा एकजना साधारण नागरिकले आफ्नो जात, जाति, वर्ग, भाषा, आस्था, जीविका, पेशा इत्यादिका आधारमा बाँचेको आख्यान उहाँका कवितामा पनि छन् । यस्ता परिचय सङ्कटसम्बन्धी सम्बोधनमा उहाँ वैचारिक उदारता राख्नुहुन्छ । उहाँ एकालापमा होइन संवादमा, स्थिरतामा होइन गतिमा विश्वास राख्नुहुन्छ, यसकारण उहाँको काव्यभाषा निकै सहज, लचिलो र समावेशी छ। उहाँले कवितालाई कहिले पनि आफ्नो विचार र भावनाको भारी मरी मरी घिस्याउने जन्तु बनाउनु भएन ।”

कविताका बारेमा मनप्रसाद सुब्बा लेख्छन्, “सङ्ग्रहको अन्त्यतिर राखिएको कविता मुक्तिको गीत र मृगतृष्णा-मा अरू कविताभन्दा भिन्दै भाका सुन्छौं । मुक्ति-प्राप्तिको उद्देश्यले प्रेरित भई आत्मिक, आध्यात्मिक, भौतिक जम्मै क्रियाकलापहरू मृगतृष्णाभन्दा पर केही होइनन्, यही वैचारिक वीजलाई विविध बिम्बहरूमा व्यक्त हुन दिइएको छ मुक्ति-सन्धानको अनवरत यात्रा अनेक दृश्यका झलकहरूद्वारा अङ्कित छ कवितामा दृश्यका झलकहरू धार्मिक मिथकबाट छ, इतिहासबाट छ, काल्पनिक कथा (ओ हेनरीको) -बाट छ, यथार्थ कथाबाट पनि छ अनि यसरी मुक्तिको मृगतृष्णा अर्को मीथ सृजित छ कवितामा ।”

जनपक्ष प्रकाशनबाट बजारमा ल्याइएको यस पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।