साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई भाषा-साहित्य क्षेत्रमा सक्रिय रहँदै आएका कवि अनिल श्रेष्ठकृत कविता सङ्ग्रह “आरु फुलेको साँझ” प्राप्त भएकाे छ ।
तेस्रो संस्करण जनमत प्रकाशनले बजारमा ल्याएको हो र यसमा ‘के यी कविता तिम्रा आँखाजस्तै सुन्दर हुनेछैनन्’, ‘गाउँलाई सोध्याछ भन्दिनू है दाइ’, ‘तटबन्ध’, ‘लामखुट्टेको मुद्दा’, ‘नदी र गीत’लगायत ३७ थान कविता सङ्ग्रहित छन् ।
भूमिकामा रुद्र खरेल लेख्छन्, “सेतो आतङ्कको मृत्यु-पीडालाई कवि अनिलले प्रकृतिका माध्यमबाट कति लोभलाग्दोसँग पस्किदिए । उनको कविताको गति, लय, संवेद्यता र विम्ब चयन हेर्दा, मलाई एउटा ठिटो भूपी जन्मन लागेको आभास हुन्छ, यद्यपि उसका आफ्नै युगसन्दर्भ र चटक्कै छुट्टिने विम्बहरू छन् ।”
भूमिकामा रोजेन्द्र सुवेदी लेख्छन्, “सत्यका परिधिमा वर्तमानलाई समेटेका प्रस्तुत सङ्ग्रहमा नेपाली समाजको बहुल यथार्थलाई सहज ढङ्गले प्रस्तुत गरेको देखिन्छ । नेपाली समाजका विश्वराजनीतिले अनपेक्षित ढङ्गले आत्मसात् गरेका पक्षलाई सिर्जनाको वस्तु बनाएका छन् अनिलले । यस सङ्ग्रहका कविताले वर्तमान शताब्दीमा रुग्ण बनेर बसेका ‘लाइ’परेका कीराहरू पहिल्याउन र टकटक्याउन प्रयत्न गरेका छन् । यस सङ्ग्रहका कविताले जाति, धर्म, संस्कृति, वर्ग, सत्ता र सामन्त् वर्गले जोगाइराखेका, सहज रूपमा पालेका ऐजेरुहरू विस्तारै धर्मराउन र खुस्काउन लागेका तथ्यहरू पनि आत्मसात् गरेका छन् ।”
१ सय ४३ पृष्ठमा बुनिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।