साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई अध्ययनशीलता, कामप्रतिको निष्ठा, परिणाममुखी सक्रियता र समन्वयकारी प्रभाव हुनुभएको पुण्यप्रसाद न्यौपानेकृत पहिलो गैरआख्यान कृति “हिँडिएका पाइलाहरू”  प्राप्त भएकाे छ ।

३ सय १२ पृष्ठमा आबद्ध यस पुस्तकमा ‘बाल्यावस्था’, ‘निजामती सेवामा तीन दशक’, ‘स्टाफ कलेजको रूपान्तरण’, ‘परिवर्तन क्रमका अप्ठेराहरू’ लगायत ‘लेखनका अभिरुचि’, ‘सामाजिक सञ्जाल’ र ‘सन्दर्भ सामग्री’ तथा ‘तस्बिरहरू’ समेट समावेश छन् ।

धराशायी बनेको स्टाफ कलेजलाई सुधार्ने चुनौती स्विकार्दै १० वर्षमा कायापलट गर्नु भएका न्यौपानेले यस पुस्तकमा बाल्यकालका स्मृतिदेखि सानै उमेरमा विद्यालयको प्रधानाध्यापक हुँदाका अनुभवसँगै जिल्ला शिक्षा अधिकारी तथा जिल्लाकै प्रशासन सञ्चालनका अनेकन् पलहरूलाई विविध आयाममा पस्कनु भएको छ ।

प्राक्कथनमा लेखक लेख्छन्, “प्रस्तुत पुस्तकले मेरो जीवनका सबै पक्ष र पहलुलाई समेटेको छ म भन्दिनँ । मेरो यस्तो दाबी कदापि हुने छैन । पुस्तकमा सबै कुराहरू समावेश गर्ने भन्दा जीवनमा महत्त्व राख्ने घटना-परिघटना नछुटुन् भन्ने कोसिस गरेको छु र टिपेको छु । जीवनका महत्त्वपूर्ण मोडहरू अलि बढी उजागर गरिएका छन् । खासै अर्थ र उपादेयता नभएका घटनालाई चित्रण गर्न चाहेको छैन । त्यसरी नै निजी जीवनमा त्यति धेरै महत्त्व नराख्ने सन्दर्भलाई पनि कोट्याउने प्रयास भएको छैन । परिवार र समाजको चित्रणबाट बाल्यकाललाई यथार्थपरक ढङ्गले प्रस्तुत गर्ने जमर्को गरेको छु । सार्वजनिक सेवामा रहँदाका गतिविधिलाई बढी बेली बिस्तार गर्ने भन्दा निजी भोगाइ र अनुभूतिहरूसहित प्रशासनिक क्षेत्रका मूल्यमान्यताको साथसाथै विद्यमान विसङ्गतिहरू औँल्याउने प्रयत्न गरेको छु । यसले तत्कालीन सार्वजनिक प्रशासनलाई चिनाउन केही मद्दत गर्नेछ ।”

पुस्तकलाई साहित्यपोस्ट समूहले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।