दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङद्वारा आयोजना हुँदै आएको नियमित एकल रचना वाचन कार्यक्रमको ८३औँ शृङ्खलामा साहित्यकार स्मृति योगीले आफ्ना रचनाहरू वाचन गर्नुभएकाे छ ।
शुक्रबार सम्पन्न कार्यक्रममा स्रष्टा योगीले कविता, गजल र मुक्तकमार्फत् आफ्ना अनुभूति, व्यक्तिगत भोगाइ तथा समाजप्रतिको दृष्टिकोण श्रोतामाझ प्रस्तुत गर्नुभएकाे थियाे । वाचन गरिएका रचनामा माया–प्रेमका सूक्ष्म भाव, व्यक्तिगत अनुभूति, समाजको यथार्थ, समसामयिक राजनीतिक परिवेशप्रतिको व्यङ्ग्य तथा वर्तमान सामाजिक अवस्थाका चित्रहरू समेटिएका थिए।
संवेदनशील भावनालाई कलात्मक शैलीमा प्रस्तुत गर्नुभएकाे थियाे योगीका रचनाले समाजभित्र विद्यमान विकृति र विसङ्गतिमाथि प्रश्न उठाउँदै श्रोताको ध्यान खिच्न सफल देखिन्थ्याे। सरल शब्द चयन र गहिरो भाव समेटिएका उहाँका सिर्जनाले उपस्थित श्रोताहरूलाई गहिरो प्रभाव पारेको थियो।
कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका पूर्व सदस्य डा. अमर गिरीले लेखक र साहित्यकार समाज, देशको माटो र स्वयम् आफूप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै यी सबै गुण स्मृति योगीका रचनामा स्पष्ट देखिएको बताउनुभयाे। साहित्यमा सानो कविताले पनि सिङ्गो आख्यान बोकेको हुन सक्ने उल्लेख गर्दै उहाँले योगीका रचनाले समाजमा विद्यमान विकृति र विसङ्गतिलाई प्रत्यक्ष तथा साङ्केतिक रूपमा उजागर गरेको धारणा व्यक्त गर्नुभयाे ।
“साहित्यिक रचना सधैँ सजिलै बुझिने खालका मात्र हुँदैनन्, साङ्केतिक अभिव्यक्तिलाई बुझ्ने संवेदनशील पाठक पनि आवश्यक हुन्छ,” डा. गिरीले भन्नुभयाे । उहाँले योगीलाई लेखनमा निरन्तरता दिन आग्रहसमेत गर्नुभयाे ।
राप्ती साहित्य परिषद् केन्द्रका पूर्व अध्यक्ष पुरुषोत्तम खनालले योगीका वाचित रचनाले समाजको यथार्थसँगै सर्जकका निजी भोगाइलाई सशक्त रूपमा समेटेको भन्दै प्रशंसा व्यक्त गर्नुभयाे । जीवनका अनुभूतिको कलात्मक प्रस्तुति साहित्यलाई अझ जीवन्त बनाउने उहाँको धारणा थियो।
राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुरेश पाण्डेले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने कार्यक्रमको सहजीकरण परिषद्का सचिव घनश्याम केसीले गर्नुभएकाे थियाे । कार्यक्रममा साहित्यप्रेमी, सर्जक तथा पाठकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस किसिमका साहित्यिक कार्यक्रमले स्थानीय साहित्यिक वातावरणलाई चलायमान बनाउनुका साथै नयाँ र स्थापित सर्जकलाई साझा मञ्च प्रदान गर्ने आयोजकको भनाइ थियो। स्मृति योगीको एकल रचना वाचनले राप्ती क्षेत्रको साहित्यिक गतिविधिमा थप ऊर्जा थपेको उपस्थित साहित्यकारहरूको धारणा रहेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










