खाँचो

हरिप्रसाद पौडेल स्वर्णशिखा

छन्दःउपजाति इन्द्रवज्रा र उपेन्द्रवज्रा
गणः त त ज गुरु गुरु
ज त ज गुरु गुरु
विश्रामः पाँच अक्षरमा

अधर्म हाँस्दै छ मजा लिएर
कुकर्म मात्दै छ सुरा पिएर
छ लाज उन्मत्त बनेर खुल्दै
छ भ्रष्ट आचार खुसी बटुल्दै ।

दुर्भावनाका पथ चौडिँदै छन्
उद्दन्ड बन्दै झुट दौडिँदै छन्
बग्दै चिसा लोचन ज्ञानका छन्
माथा उठेका अभिमानका छन् ।

कुतर्कका विघ्न रचेर फन्दा
मच्चाउने गर्छ अहम् वितन्डा
दुर्बुद्धिको माथ छ अग्लिएको
छ चेतनाको शिर पग्लिएको ।

घमन्ड झन्डा फहराउँदै छन्
आतङ्क डन्डा बरसाउँदै छन्
तन्काउँदै साहसले छ गोडा
दौडाउँदै छन् डरपोक घोडा ।

कुकृत्यका वर्तन छल्किँदै छन्
प्रलोभमा जीवन पल्किँदै छन्
छ धर्मको श्वास अधर्म थुन्दै
विश्वासको घात छ मार्ग चुन्दै ।

संस्कारको रक्षक बन्छ खै को
को बुझ्छ कर्तव्य र काम के हो
जो गर्छ फिर्ता हक खोसिएको
छ वीर त्यस्तो अब चाहिएको ।

दाङ

चालीस काटेपछि

गंगा आचार्य सेढाई

छन्दःशार्दूलविक्रीडित
गणःम स ज स त त गुरु
विश्रामःछ र बाह्र अक्षरमा

कस्तो भाग्य रहेछ है समयले व्यर्थै पछारी गयो
केही साध्य हुँदैन यो नियतिको रित्तो भकारी भयो
कुर्दै बित्न गय‍ो कुरूँ म कसरी खप्दै सहूँ मै कति
भन्थ्यौ है सुखमा बसौं सँगसँगै चालीस काटेपछि।

लेख्या मेट्न भने कुनै तरहले मेटिन्न कैले पनि
यस्तै हो सबकै हुने दिन महाँ जो भाग्यमा हुन्छ नि
त्यो चाँजो सब मिल्छ दैव कहिले घुर्की लगाएँ कति
भन्थ्यौ है सुखमा बसौं सँगसँगै चालीस काटेपछि ।

जाडो होस् ठिहिराउने जतिसुकै ठण्डी भएता पनि
पानीमा म त भिज्न सक्छु सहजै बानी बनाऊँ अनि
खाई गुन्द्रुक भात बस्छु झुपडी आनन्द मान्दै अति
भन्थ्यौ है सुखमा बसौं सँगसँगै चालीस काटेपछि ।

बस्ने आस थियो जमेर घरमा छोरा र छोरी लिई
होस् आनन्द र शान्त यो हृदयमा आश्वासनै झन् दिई
सारा भौतिक ती सबै धनहरू होला जगेर्ना कति
भन्थ्यौ है सुखमा बसौं सँगसँगै चालीस काटेपछि ।

नुवाकोट

 

झरी

तीर्थराज भट्ट

छन्दःशार्दूलविक्रीडित
गणःम स ज स त त गुरु
विश्रामःछ र बाह्र अक्षरमा

झर्दा निर्झरझैँ झरी धरतिमा आनन्द यो आउँछ
देख्दा भूतलमा खुशी रहरमा यो गृष्म मुस्काउँछ
छन् सारा घर गोठ ती गुड सबै को हाँस्न सक्लान तर
भत्केको घरमा कसोरी रहला भूकोपको पीडित

कालो मेघ उठेर ढाक्छ नभमा छेकी प्रभा मण्डल
कालो बादल धेर गर्जन हुदा बर्सन्छ गंगाजल
मानौँ भेट्न हतारिएर धरती उर्लन्छ आकास नै
त्यै बेला झरिले दिने जगतमा स्वर्गीय आभास नै।

तिर्खाएर धरा पुकार्दछ सरी धूलो उठेको पल
बोकी बीज अनाजका उदरमा मिल्ला कि झैँ प्राञ्जल
सारा फाँट पहाड पर्वतहरू ओछ्याइ आफ्नो दिल
गर्छन स्वागत लाग्छ हर्षित भई बर्षा हुँदाको पल ।

पर्खी बस्छ असारमा धरतिले त्यो मेघको मीलन
त्यै बेला हुन जान्छ खेतहरुमा त्यो स्वप्न अंकुरण
दौडिन्छिन् सरिता पनि रहरमा सिन्धू म भेटूँ भनी
यस्तो दिव्य छटा महा प्रकृतिको लेख्दै गरेस् लेखनी ।

बेग्लै लिन्छ स्वरूप बोकि हिउँका मोती र हेमन्तमा
सारा जम्दछ सृष्टिको तरलता सेताम्य भै अन्तमा
हो आनन्द झरी यदि जगतमा आनन्द वर्षा भए
हो त्यो आँसु समान लोकभरमा मान्छे दुखारी भए।

काठमाडौं