नवलपुर । २०८२ सालको माधव वियोगी साहित्य पुरस्कारबाट नवलपुरको गैंडाकोट निवासी कवि गोविन्दराज विनोदी बिहीबार सम्मानित हुनुभएकाे छ ।
छन्दनायक माधव वियोगीको जन्मदिवसका अवसरमा गत कार्तिक २९ गते नै उक्त पुरस्कार प्रदान गरिने घोषणा गरिएको भए पनि विनोदीको उपस्थिति हुन नसक्दा पुरस्कार बिहीबार औपचारिक रूपमा प्रदान गरिएको हो।
गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित कार्यक्रममा नगद रु. २५ हजार राशिसहितको पुरस्कार छन्दनायक माधव वियोगीले शन्तकवि विनोदीलाई हस्तान्तरण गर्नुभएकाे थियाे । पुरस्कार वितरण समारोहमा बोल्दै वियोगीले नेपाली भाषा–साहित्यमा गोविन्दराज विनोदीको प्रेरणादायी योगदान रहेको उल्लेख गर्दै विशेष गरी छन्दकविताको पुनर्जागरणमा उहाँको भूमिका गहकिलो रहेको बताउनुभयाे ।
पुरस्कृत प्रतिभा कवि विनोदीले आफूले गरेका सत्कर्मको प्रतिफलस्वरूप यो सम्मान प्राप्त भएको अनुभूति व्यक्त गर्दै आगामी दिनहरूमा पनि भाषा र साहित्यको विकासमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभयाे।
सोही कार्यक्रममा मुक्तककार तथा उत्कृष्ट छन्दकविता वाचक शिव त्रिपाठीको ‘जिन्दगीका सय टुक्रा’ शीर्षक कृतिको सार्वजनिकरण गरिएको थियो। साथै चने शुभ शर्माले विनोदीद्वारा रचित कविता वाचन गर्नुभएकाे थियाे ।
कार्यक्रममा पोखरा, चितवन र नवलपुरका साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष छन्दमणि त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष छन्दिका त्रिपाठीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे सचिव शिव त्रिपाठीले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










