(कविता परम्परागत छन्दमा लेख्ने कि मुक्त लयमा लेख्ने भन्ने विषय कविको वैयक्तिक स्वतन्त्रता र निजी छनोटको विषय हो । लेखनमा विविधता आफैमा एउटा सौन्दर्य हो । छन्दकविता या गद्यकविता भनेर एकले अर्काको अपमान गर्नु भन्दा पारस्परिक सम्मानको संस्कार विकसित गर्नु जरुरी छ । मूल कुरो विचारको सौन्दर्य हो । कविताप्रतिको निष्ठा, इमानदारी, साधना र समर्पण हो । छन्दोबद्ध लयमा लेखे पनि छन्दमुक्त लयमा लेखे पनि जिम्मेवारीपूर्वक लेखौँ । कविताप्रति खेलाँची नगरौँ ! कवितालाई सस्तो नबनाऔँ ! कवितालाई बजारको पुतली पनि नबनाऔँ !!
नेपाली छोटा कविताहरूको यस शृङ्खलामा पाँच कविका पाँच कविता समावेश गर्ने क्रममा छन्दसाधनामा सिद्धि प्राप्त गरेका कविहरू लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, निर्मोही व्यास र गोविन्दराज विनोदीका १ श्लोकमा संरचित कविता रहेका छन् । पछिका केही शृङ्खलामा पनि यो क्रम जारी रहनेछ ।— डा. विप्लव ढकाल)
१. पिंजराको प्यासा मैना
(लेखनाथ पौड्याल)
हड्डीको पिंजरा शरीर उसमा मैना म भन्ने चरो
त्यो क्याँ क्याँ गरदो छ शान्तिरसको पानी बिना भै खरो
चारा इन्द्रिय–लभ्य यो विषयको लाखौँ खन्याए पनि
भित्री व्याकुलता र दाह उसको छुट्दैन कत्ति पनि ।।
२. धूलो
(लक्ष्मीप्रसाद देवकोटा)
धूलो यो छ स्वदेशको म यसमा पानी बनी मिल्दछु
बर्बर् बर् गहमा बनीकन सदा रोई यहाँ झर्दछु
यो मेरो पन मेटिने असल हो बास्ना भएको फणा
फुल्ने मै छु पछाडि फूल यसमा सुँघ्ने हजारौँ जना ।

माधव घिमिर
३. उन्मुक्त आनन्द
(माधव घिमिरे)
मीठो बाफ उडीरहेछ फुलमा रेखा परी हर्हरी
जोरी अञ्जुलि अर्चनासमयमा नाचेसरी अप्सरी
माटोको फुल हूँ मभित्र पनि ता त्यै मृत्तिका गन्ध छ
आफै अर्पिनुमा स्वयं सकिनुमा उन्मुक्त आनन्द छ ।
४. आँसु
(निर्मोही व्यास)
अमूल्य रत्न हो आँसु झार्न हुन्न जहाँसुकै
रत्नका पारखी हुनन् भेटिने जति जोसुकै
स्वार्थी, निष्ठुरले आफ्नै सोझ्याउँछ सधैँ दुनु
कसाईसामु बाख्राको म्याँ म्याँको अर्थ के हुनु !
५. जीवन्त भावना
(गोविन्दराज विनोदी)
ननापौँ जिन्दगीलाई यो आयतनविहीन छ
पुरानो कसले भन्छ ? मन नित्य नवीन छ
सीमाबद्ध कहाँ हुन्थ्यो अनन्त कल्पना पनि
मार्न खोजेर के मर्थ्यो जीवन्त भावना पनि !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ माघ २०८२, मंगलवार 

१. पिंजराको प्यासा मैना
२. धूलो
४. आँसु 








