काठमाडौँ । प्रसिद्ध साहित्यकार गोविन्दराज विनोदीलाई लीलाध्वज थापा साहित्य प्रतिष्ठानले लीलाध्वज स्रष्टा सम्मानबाट सम्मानित गरेको छ। बालुवाटारस्थित बाल नमुना माविमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले विनोदीलाई नगद १० हजार रुपैयाँसहित सम्मान प्रदान गर्नुभएको हो ।
यो सम्मान लीलाध्वज थापाको स्मृतिमा स्थापित प्रतिष्ठानद्वारा त्रैमासिक रुपमा प्रदान गरिने रचना वाचन तथा स्रष्टा सम्मान/पुरस्कार कार्यक्रम अन्तर्गत प्रदान गरिएको हो। विनोदीका कवितासङ्ग्रह, गजलसङ्ग्रह, बाल साहित्य, तीन खण्डकाव्य र महाकाव्य गरी डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन्। नेपाली साहित्यमा विनोदीको लामो समयदेखिको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
विनोदी हाल अस्वस्थ रहेकाले उक्त सम्मान तथा पुरस्कार उहाँकी सुपुत्री शोभा गिरीले ग्रहण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले विनोदीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि ज्ञाननिष्ठ ज्ञवालीसहितका साहित्यकारहरूले लीलाध्वज थापा र उहाँका कृतिहरूबारे चर्चा गर्नुभएको थियो । समालोचक ज्ञवालीले वाचन गरिएका रचनाहरूको प्रशंसा गर्दै पुरस्कार सम्मानको महत्त्वबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा सुशील रिजाल, राजेन्द्र खनाल, श्रीराम सिंह बस्नेत, जित कार्की, दिलीप श्रेष्ठ, सुभाषचन्द्र पौडेल, अरुण खड्का, उत्तम विचारलगायतका स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । अन्य सहभागी स्रष्टाहरूमा कुमार नेपाल, विजयध्वज थापा, सुशीला रिजाल, सुन्दर खड्का, बलराम बिष्ट, अच्युत दत्त पाण्डे, ज्ञाननिष्ठ ज्ञवाली, बासुदेव ठकुरी, माधव घिमिरे, केशव ज्ञवाली, पवन कुमार बुढाथोकी, जे के एन खडेरी लगायत रहनुभएको थियो । सबै स्रष्टाहरूले विनोदीको सुस्वास्थ्यको कामना गर्नुभएको थियो ।
उत्तम विचारले सहजकर्ताको भूमिका निर्वाह गरेको कार्यक्रममा अध्यक्ष थापाले हालसम्म ८० जना अग्रज स्रष्टालाई स्रष्टा सम्मान, ७ जनालाई साहित्य सम्मान र ४ सय ५० भन्दा बढीलाई कदरपत्र प्रदान गरिसकेको जानकारी दिनुभएको थियो । उहाँले कार्यक्रममा उपस्थित सबै स्रष्टाप्रति आभार व्यक्त गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










