काठमाडौँ । पेज टर्नर प्रकाशनले नेपाली साहित्यका चर्चित छन्द कवि गोविन्दराज विनोदीको उपचारका लागि सहयोगको अपिल गरेको छ । क्यान्सर जस्तो प्राणघातक रोगसँग जुझिरहनुभएका विनोदीको छन्दोबद्ध कविता सङ्ग्रह ‘अलङ्कार इन्द्रेणी’ प्रकाशित गर्दै पेज टर्नरले सहयोगका लागि अपिल गरेको हो ।

कवि विनोदी र साहित्यलाई माया गर्ने पाठक, आफन्तजन तथा शुभचिन्तकहरूलाई उक्त पुस्तक खरिद गरी उहाँको उपचारमा सहयोग गर्न पेज टर्नरले सार्वजनिक अपिल गरेको हो । पुस्तकको बिक्रीबाट प्राप्त सम्पूर्ण रकम कवि विनोदीको स्वास्थ्य उपचारमा खर्च गरिने पेज टर्नरका सञ्चालक जयराम तिमल्सिनाले बताउनुभयो ।

“जीवनभर नेपाली भाषा, साहित्य, छन्द र काव्यको उत्थानमा समर्पित कवि विनोदीको यस कठीन घडीमा उहाँलाई भौतिक, आर्थिक र नैतिक साथको आवश्यकता परेको छ ।”, जयराम तिमल्सिना भन्नुहुन्छ, “उहाँले जीवनभर अरुलाई ज्ञान, समय र प्रेरणा बाँड्नुभयो तर अहिले उहाँ आफैँ सहयोगको अपेक्षामा हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संस्थागत रूपमै उहाँको उपचारमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध गरेका हौँ ।”

पुस्तकको मूल्य ३ सय रुपैयाँ रहेको छ । पुस्तक खरिद गर्न इच्छुक पाठकहरूले पेज टर्नर बागबजार, काठमाडौँ, सम्पर्क नं: ९८५११३३७७१ सम्पूर्ण किताब नारायणगढ, सम्पर्क नं: ९८५५०६५१३८ किताबघर हेटौँडा, सम्पर्क नं: ९८४५२८९७९० सम्पर्क गर्न सकिनेछ ।