‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८१’ को अन्तिम सूचीमा पूर्व तबलावाधक, छापा व्यवसायमा लामो समयदेखि सक्रिय जयराम तिमल्सिनालाई आख्यानकारका रुपमा उभ्याउने उपन्यास ‘धीमहि’ पर्न सफल भएको छ । यो सूचीमा आफ्नो पहिलो (डेब्यु) कृतिका रूपमा आख्यान लेखेका तीन लेखक समावेश छन् ।
लेखक तिमल्सिनाले उपन्यासमार्फत् आत्माद्वन्द्व व्यवस्थापनका विकल्पहरूको खोजी गर्दै नयाँ विमर्शका लागि प्रशस्तै ठाउँ छोडेका छन् । आत्मद्वन्द्वका आयाम र परिणामहरूलाई उपन्यासकारले मिहीन र कलात्मक तवरले पुस्तकमा प्रस्तुत गरेका छन् । तिमल्सिनाले उच्च कल्पना तथा विशृंखलित सपनाहरुको समागमबाट उपन्यास तयार गरेका छन् । वैदिक समाज, संस्कार र संस्कृतिमा निरन्तर ह्रास आइरहेको वर्तमानप्रति उपन्यासकार असन्तुष्ट देखिन्छन् । पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो ।
अन्तिम सूचीमा रमणको कथासङ्ग्रह ‘कथा हुन्, कथा हैनन्’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, र बालिका वान्तावाको उपन्यास ‘प्याउली’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८१’ प्रदान गरिनेछ ।
‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८१’ का लागि ०८१ सालमा प्रकाशित डेब्यु आख्यानकारका ४४ आख्यान कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा ४४ कृतिबाट ११ कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ कृतिको ‘छोटो सूची‘ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ आख्यान विधाका कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।
कथा संरचना, घटनाहरूको संयोजन र सिलसिला, दृष्टिकोण निर्माण, नवीनता, सामाजिकता र समयचेत, चरित्रकार्य, प्रस्तुति तथा शीर्षक सार्थकता लगायत आख्यानका विविध आयमहरूलाई आधार बनाई कृतिहरूको मूल्याङ्कन गरिएको मूल्याङ्कन समूहले जनाएको छ ।
यसअघि पुरस्कारको छोटो सूचीमा रमणको कथासङ्ग्रह ‘कथा हुन्, कथा हैनन्’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, पुरुषोत्तम बजगाईंको उपन्यास ‘नीलो प्रेम’, ज्ञानेन्द्र काफ्लेको उपन्यास ‘नौला शिक्षकहरू’ र बालिका वान्तावाको उपन्यास ‘प्याउली’ रहेका थिए ।
‘साहित्यपोस्ट आख्यान पुरस्कार’को प्रायोजन साहित्यकार चैतन्य अधिकारीले गर्नुभएको छ । जापानको सागा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा विद्यावारिधि गर्नुभएका अधिकारी पोखरेली युवा सांस्कृतिक परिवारको सचिवसमेत हुनुहुन्छ । अधिकारीका ‘जुद्ध शमशेरका नाममा’ र ‘झरीको किनार’ कवितासङ्ग्रह प्रकाशित छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२८ जेष्ठ २०८३, बिहीबार 








