कविडाँडा राष्ट्रिय साहित्य सम्मान २०८१ बाट पाँच जना गजलकार सम्मानित हुनुभएको छ ।

कविडाँडा राष्ट्रिय गजल उत्सव २०८१ का अवसरमा शनिबार उहाँहरुलाई सम्मानित गरिएको हो । कविडाँडा साहित्य समाज चितवनले भरतपुर–४, यज्ञपुरीमा आयोजना गरेको गजल उत्सव उद्घाटन समारोहमा गजलकारहरु कृष्णहरि बराल, गोविन्दराज विनोदी, घनश्याम न्यौपाने परिश्रमी, बुँद राना र ज्ञानुवाकर पौडेललाई सम्मान गरिएको हो । उहाँहरुलाई समाजका अध्यक्ष एलबी क्षेत्रीले दोसल्ला ओढाई सम्मानपत्र दिनुभएको थियो ।

सम्मानित गजलकार पौडेलले गजलको लागि उर्वर ठाउँ चितवनमा सम्मानित हुन पाउँदा गौरव लागको अनुभूति सुनाउनुभयो । उहाँले नेपाली गजलको विकासले फड्को मारेको बताउनुभयो । नेपालमा गजल लेख्नेहरुबिच सैद्धान्तिक मतभेद भएको बताउँदै पौडेलले लेखनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

‘छन्द वा बहरमा नलेखिएको गजल छाप्न हुँदैन, गाउन हुँदैन भन्नु क्रुर विचार हो’ गजलकार पौडेलले भन्नुभयो,‘जसरी किनारको चट्टानले नदीको प्रवाह रोक्न सक्दैन, त्यसरी नै छन्द वा बहरको अवरोधले गजलको प्रवाहलाई रोक्ने सक्ने छैन ।’

‘नेपाली गजलको सैद्धान्तिकीकरण आवश्यकता र प्रमुख सवालहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्दै डा. दीपककुमार खड्काले कस्तो हुनु पर्छ भन्ने उपदेश सिद्धान्त हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । ‘नेपाली गजललाई फारसी गजलको विशुद्धताले मापन गर्ने दृष्टिकोणमा उपनिवेशवादी चिन्तन छ’ उहाँले भन्नुभयो, ‘नेपाली गजललाई नेपाली काव्यशास्त्रबाट अध्ययन गर्नुपर्छ ।’

गजलको बहस, विमर्श र वाचन कार्यक्रममा गजल मञ्च चितवनका पूर्वअध्यक्ष प्रभाकर पण्डितले स्वागत मन्तव्य र गजलकार पुष्प अधिकारी अञ्जलिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कविडाँडा साहित्य समाजका सचिव लेखराम सापकोटाले सहजीकरण गरेको कार्यक्रममा प्राध्यापक नारायणप्रसाद शर्मा गैरेले गजलको सैद्धान्तिक स्वरुप र समकालीन नेपाली गजलका प्रवृत्तिबारे बोल्नुभएको थियो ।

त्यसैगरी ‘आजको नेपाली गजल धारैधारको महामेलामा गुणस्तरको सकस’ शीर्षकमा प्यानल बहस गरिएको छ । गजलकार ज्ञानुवाकर पौडेल, भुवन बोहरा निस्तेज र रमेश प्रभातसँग विनोद अनुजले बहस चलानुभएको थियो।

कार्यक्रमको अन्त्यमा गजलवाचन राखिएको थियो । कविडाँडाका सहसचिव एवम् गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले सहजीकरण गरेको कार्यक्रममा सागर तिमिल्सिना, निर्दोष जीवन, प्रदीप रोदनलगायतले गजल प्रस्तुत गर्नुभएको थियो ।