चितवन । कविडाँडा साहित्य समाज चितवनले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा तीन जना साहित्यकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ।

शनिबार कविडाँडाको कार्यालय कैलासनगरमा आयोजित एक समारोहमा कवि गोविन्दराज विनोदी, कवि लकास पौडेल र गजलकार अविरत सुमन (सुमन घिमिरे)लाई सम्मानित गरिएको हो।

कविडाँडा कृति पुरस्कार–२०८१ बाट कवि विनोदीको `अलङ्कार इन्द्रेनी´ काव्यलाई सम्मान गरियो भने कविडाँडा देव-खिना स्मृति पुरस्कार–२०८२ बाट कवि पौडेल र कविडाँडा वाङ्मयी युवा प्रतिभा पुरस्कार–२०८२ बाट गजलकार सुमन सम्मानित हुनुभएकाे हाे । तीनै पुरस्कारहरू जनही १५ हजार १ सय ६० रुपैयाँ राशिका रहेका छन् जुन दोसल्ला, सम्मानपत्र र नगद सहित प्रदान गरिएको थियो। कार्यक्रममा एलबी क्षेत्रीले सभापतित्व गर्नुभएकाे थियाे भने रामबाबु घिमिरे र लालमीना फाउन्डेसनकी संस्थापक मीना लामिछाने प्रमुख अतिथि रहनुभएकाे थियाे। उहाँहरूले नै सम्मानित व्यक्तित्वहरूलाई सम्मान प्रदान गर्नुभएकाे थियाे ।

समारोहमा कवि सुरेन्द्र अस्तफलले सम्मानित स्रष्टाहरूको परिचय गराउँदै उहाँहरूको साहित्यिक योगदानको चर्चा गर्नुभएकाे थियाे भने कवि भूपिनले कविताको महत्त्व र सान्दर्भिकता माथि विद्वत् प्रवचन प्रस्तुत गर्नुभएकाे थियाे । चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं र कवि एकदेव रिमालले शुभकामना मन्तव्य व्यक्त गर्दै कविता वाचन गर्नुभएकाे थियाे । समाजका उपाध्यक्ष सीताराम कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव लेखराम सापकोटाले गर्नुभएकाे थियाे ।