काठमाडौं। सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ । साधारण सभाले सर्वसम्मत रूपमा छविरमण सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नव–निर्वाचित कार्यसमितिमा रामसुन्दर देउजा उपाध्यक्ष, प्रदीप सापकोटा महासचिव, तारा केसी कोषाध्यक्ष तथा सदस्यहरूमा पूर्णबहादुर श्रेष्ठ, शुभद्रा अधिकारी र वसन्तराम नकर्मी रहनुभएकाे छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतमले पानसमा द्धीप प्रज्वलन गरेर गर्नुभएकाे थियाे । उद्घाटन मन्तव्यका क्रममा उहाँले भन्नुभयाे, “साहित्यिक संस्था धेरै खुल्छन्, तर व्यक्तिहरूबीच मन नमिल्दा धेरैजसो दीर्घकाल टिक्दैनन् । सुनकोशी संस्थाप्रति सबैमा ‘यो मेरो संस्था हो’ भन्ने भावना जागेमा मात्र यो संस्था दीगो हुन्छ । नामजस्तै काम गरेर देखाउने चुनौती छ, तर नेतृत्वमा आएका साथीहरू सक्षम भएकाले सफल हुने विश्वास छ ।”

दुई चरणमा सम्पन्न सभाको उद्घाटन सत्रमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार पवन आलोक, लघुकथा समाज, नेपालका अध्यक्ष तुलसीहरी कोइरालालगायतले संस्थाको सफलताका लागि शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।

बन्द सत्रमा महासचिव प्रदीप सापकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष तारा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । दुवै प्रतिवेदन उपस्थित सदस्यहरूले सर्वसम्मत रूपमा पारित गर्नुभएकाे थियाे  । बन्द सत्रको अध्यक्षता निर्वाचन समितिका संयोजक श्रीबाबु कार्कीले गर्नुभएकाे थियाे ।

कार्कीको संयोजकत्वमा सुमन सौरभ र अधिवक्ता विजयभक्त श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत ढंगले नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गर्दै प्रा.डा. गौतमले बधाई ज्ञापन दिनुभयाे भने निर्वाचन संयोजक कार्कीले सपथ ग्रहण गराउनुभएकाे थियाे ।

छोटो समयमै नेपाली साहित्य क्षेत्रमा उल्लेखनीय गतिविधि गर्दै आएको सुनकोशी वाङ्मय प्रतिष्ठानले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।