
पुस्तक “यात्राको लय” नियात्राकार प्रदीप सापकोटाद्वारा लेखिएको यात्रा अनुभवहरूको एउटा सुन्दर र गहन सँगालो हो ।
यसै वर्ष प्रकाशित यो पुस्तकमा लेखकले आफ्नो दुई दशक लामो यात्राका केही अनुभवलाई १४४ पृष्ठभित्र समेटेका छन् । उनी नेपालको विभिन्न क्षेत्रहरूको भौगोलिक ऐतिहासिक र सांस्कृतिक पक्षहरूलाई गहिरो रूपमा अनुभव गर्ने अवसर पाउँछन् ।
सापकोटाको यात्राको लय भित्रका सुस्वादु रसले भरिएका विभिन्न स्थानका नियात्राहरू पढ्दा अल्छी लागेनँ मलाई । बोझ मानेन मनले । शब्दहरूको सरलताले शब्दकोश खोज्न जरूरी ठानेन । कहीँ कतै ढुङ्गा लागेन । मज्जाले सकाएँ आद्योपान्त ।
यस पुस्तकमा १७ शीर्षकमा विभिन्न स्थान र घटनाहरू समेटिएका छन् । नियात्राकार हामी पाठकलाई आफूसँगै यात्रा गराउँछन् । उनको यात्राको लयको अर्को विशेषता भनेको पाठकले पाठकीय आनन्दानुभूति गर्नसक्छ ।
‘यात्राको लय’ले केवल मनोरञ्जनात्मक यात्रा वर्णन मात्र गर्दैन, बरु यसले नेपालको इतिहास र संस्कृति प्रतिको गहिरो समझदारी पनि प्रस्तुत गर्छ । सशस्त्र द्वन्द्वका असरहरूलाई लेखकले आफ्नो यात्रासँग जोडेर प्रस्तुत गरेका छन् साथै १९१४ मा अंग्रेज विरुद्धको लडाइँमा भारतलाई सैन्य सहयोग गरेबापत उपहार स्वरूप बाँके जिल्ला पाएको ऐतिहासिक प्रसङ्ग उल्लेख गरेका छन् । राजा महेन्द्रले व्यवस्थित ढङ्गले टाउन प्लानिङ गरेर बसालेको हुनाले महेन्द्रनगर नाम रहेको सन्दर्भ पनि यस पुस्तकभित्र रहेको छ ।
ज्योतिषको भविष्यवाणी सँगै एक जँडियाले खुकुरीले झन्डै काटेको अकल्पनीय अवस्थाको बारेमा समेत वर्णन गरिएका छन् जसले हाम्रो मन झस्काउँछ । उनको भोगाइका चस्काले दुखी बनाउँछ । यो उनको जीवनको आकस्मिकता जस्तो लाग्छ । उनले त्यसमा वर्णन गरेको कुराले पाठक बीभत्स दृश्य देख्नसक्छ । उनले नेपालका विभिन्न भूगोल र प्रकृतिलाई नजिकबाट नियालेर उधिनेका छन् कृतिमा । यसमा पाठकले महसूस गर्नसक्ने भनेको यायावरीय दृष्टिचेत गोचर गर्नसक्नु हो । अनि तथ्यात्मक लयमा यात्राको लय बगेको छ । यसमा केही सूचना र जानकारीहरू पनि पाइन्छ । उनका रचनागर्भका कुरा पढ्दा स्थानीयतामा उनी मज्जैले भिजेका देखिए यो पनि नियात्राको उल्लेख गर्न लायक पक्ष हो ।
पनौतीदेखि बारा क्षेत्रको धार्मिक यात्रा भीमदत्त पन्तको इतिहासको समेत लेखकले चर्चा गरेका छन् । सातौँ नम्बरमा रहेको सहभोज शीर्षकमा लेखकले आफू बाहुनको छोरो भएर पनि एउटा दलितको घरमा रात बिताएको र त्यहाँको माहौल वातावरणको वर्णन पनि रोचक छ । त्यति वेलाको समाजमा बागलुङ जस्तो दुर्गम जिल्लामा नियात्राकारको त्यो हिम्मतलाई मनैदेखि सलाम गर्न चाहें । दलितहरूबीच नै कायम रहेको भेदभाव कार्यक्रममा सहभोज खुवाएर केही कम गर्नसक्नु निश्चय नै उल्लेख्य छ ।
पदम भुवनेश्वरी वृद्धाश्रमले छोएको मन मानव धर्म नै सबैभन्दा ठूलो धर्म हो भन्ने बुझिन्छ । साथै नेपालको स्विजरल्यान्डको रमाइलो यात्रा वर्णनले पाठकलाई अर्कै संसारतिर पुर्याउँछ । नक्सलबाडी हुँदै टाइगर हिल बरालिँदा र दार्जीलिङ घुम्दा नेपाली साहित्य सङ्गीतमा उच्च योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्झिएको लेखकको मीठो सम्झना पानाभरि छचल्किएको छ । पुस्तकमा मकवानपुरगढीको ऐतिहासिक महत्त्वबारे पनि रोचक जानकारी छ ।
लेखकले गढीमा गरेको यात्रा र त्यहाँ भेटिएका ऐतिहासिक वस्तुहरूको वर्णनले पाठकलाई नेपालको प्राचीन इतिहाससँग जोड्न सक्षम बनाएको छ । दार्जीलिङको रमाइलो घुमघाम र भौगोलिक दृश्य, नेपालको विभिन्न भौगोलिक सुन्दरताको वर्णनले पुस्तकलाई अझै सिँगारेको छ । लेखकले आफ्नो यात्रामा भारतीय प्रहरीसँगको एक अप्रिय अनुभव पनि उल्लेख गरेका छन् । अनुभव पनि उल्लेख गरेका छन् जहाँ तस्वीर खिच्ने क्रममा क्यामरा खोसिएको थियो । यो घटनाले नेपालको छिमेकीसँगको सम्बन्ध र सीमा समस्याको चर्चा मात्र होइन बरु यात्राको क्रममा देखिने अप्ठ्यारा पक्षहरूसँग पाठकलाई परिचित गराउँदछन् । तराईका बाढी पीडितहरूको दयनीय अवस्था र मुसहरहरूको बस्तीका पीडाहरू खोतलखातल पारेर उजागर गर्न उनी सफल भएका छन् ।
अनि त्यहाँ हुने राजनीतिक चलखेलका कुरा पनि सार्वजनिक गरेका छन् । सुकुटेको रमाइलो पल तथा साहित्यिक यात्राका क्रममा विभिन्न साहित्यकारहरू सँगको कुराकानी र साहित्यिक माहौल आदिको बारेमा नियात्राकारले उल्लेख गरेका छन् ।
पुस्तकमा समेटिएका विविध घटनाहरू र ठाउँहरूको उल्लेखले पाठकलाई नेपालको ऐतिहासिक सांस्कृतिक र राजनीतिक पृष्ठभूमिको गहिराइमा पुर्याउँछ । पुस्तकले नेपालको विविधता र परम्परालाई सजिलैसँग बुझ्न सहयोग पुर्याउँछ । नियात्राकारले आफ्ना यात्राका अनुभवहरू मार्फत नेपालको सुन्दरताको वर्णन मात्रै गरेका छैनन् उनले यात्राका क्रममा सामना गरेका चुनौती र संघर्षहरूलाई पनि प्रस्तुत गरेका छन् ।
नेपालको विविध ऐतिहासिक सांस्कृतिक र पर्यावरणीय दृष्टिकोणले बुझ्न चाहने पाठकहरूका लागि ‘यात्राको लय’ निकै महत्वपूर्ण स्रोत साबित हुन सक्छ । नेपाललाई अझ भौगोलिक ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको सम्मान गर्न पाठकलाई प्रेरित गर्छ । देशप्रेम दर्शाउँछ । छिमेकीको बलमिच्याइँ प्रति आक्रोशित बनाउँछ ।
“यात्राको लय” पुस्तकले पाठकलाई नेपालको भौगोलिक सुन्दरता ऐतिहासिक गौरव र सामाजिक सन्दर्भहरूको गहिराइमा पुर्याउँछ भने दार्जीलिङ बारे केही जानकारी पनि दिन्छ । प्रदीप सापकोटाको सरल र प्रभावशाली लेखनशैलीले पुस्तकलाई अझै पठनीय बनाएको छ ।
नियात्राकारले आफ्नो व्यक्तिगत अनुभवहरूलाई कथाशैलीमा प्रस्तुत गर्दै नेपालको विभिन्न ठाउँहरूको विशेषता र त्यहाँ भएका ऐतिहासिक घटनाहरूलाई सरल भाषामा प्रस्तुत गरेका छन् । यो पुस्तक यात्रालाई मात्र होइन नेपालप्रतिको प्रेम र अभिमानलाई पनि समेट्न सफल भएको छ ।
“यात्राको लय” केवल एउटा यात्रा पुस्तक मात्र नभएर नेपालको सांस्कृतिक इतिहास र पर्यटनको जीवित दस्तावेज हो । यो पुस्तकले प्रदीप सापकोटालाई एउटा सफल लेखकको रूपमा उभ्याएको छ र पाठकलाई यात्रा इतिहास र संस्कृति प्रतिको गहिरो समझदारी दिने प्रयास गरेको छ ।
नेपालका गन्तव्यहरूको फोटोग्राफी, सांस्कृतिक धरोहरहरूको सरस वर्णन ऐतिहासिक घटनाहरूको झल्को र समाजमा देखिएका विविध पक्षलाई समेट्दै यो पुस्तक यात्राप्रेमी र इतिहासमा रुचि राख्ने पाठकहरूका लागि एक अवश्य पढ्नुपर्ने सामग्री बनेको छ । प्रदीप सापकोटाको ‘यात्राको लय’ ले पाठकहरूलाई नेपालको दश वर्षे द्वन्द्वको विषम परिस्थिति बारे नयाँ पुस्तालाई जानकारी दिन्छ भने विविधता, र सुन्दरता प्रतिको नयाँ दृष्टिकोण दिन्छ ।
नियात्राका सबै खाले विशेषताहरू निजात्मकता, तथ्यात्मकता, अनुभूतिले भरिएको वैयक्तिक भाव मिसाएर लेखिएका नियात्राहरू पठनीय लाग्छन् । सरल भाषाले गर्दा सामान्य पाठकले पनि बुझ्न सक्छ । पाठकलाई भावुक बनाउँछ, आक्रोशको ज्वार उराल्छ, राष्ट्रभक्ति देखाउँछ, पर्यटकलाई आकर्षित गर्छ । सुन्दर वैभवता बोकेको देश जहाँ पनि यात्रा गर्न प्रेरित गर्छ । देशलाई केन्द्रमा राखेर लयबद्ध यात्रा गर्ने कृतिकारलाई हार्दिक बधाई ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

