मानिसको सबैभन्दा गम्भीर समय हो, जवानी । जवानी अर्थात् यौनजीवन । अपवादलाई छाड्ने हो भने यो १३ वर्षदेखि ४८ वर्षसम्म करिब ३० वर्षसम्म मानिसको शरीर र मनलाई यसरी बाँधेर राख्छ, जसबाट कोही पनि उम्कन सक्दैन । यो यही उमेर हो, जसमा उसले पढ्नुपर्छ, कमाउनुपर्छ, सार्वजनिक जीवनमा छाउनु पनि पर्छ । यी सबैलाई कतै न कतै यौनजीवनले प्रभाव पारिरहेको हुन्छ ।

बाहिरबाट हेर्दा मानिस जति सभ्य, सुसंस्कृत, पठित एवं सार्वजनिक जीवन बाँचेको भएको भए पनि उसको लुकेको यौनजीवन, यौन चाहना फरक फरक हुनसक्छ । आम मानिसले सोचेको भन्दा फरक जीवन बाँचिरहेको हुनसक्छ ।

दाेस्राे प्रहर

प्राचीनकालमा मानव जीवन जब सामाजिक परिबन्धमा बाँधिन थाल्यो, त्यसयता उसको यौनजीवन पशुभन्दा फरक असहज, बहिष्कृत र अन्धकारमय हुन थाल्यो । यही कारण हरेक देश र संस्कृतिमा यौनजीवनका अनेक असहज कथाहरु पढ्न सुन्न पाइन्छ ।

मनोविज्ञानको पनि विद्यार्थी भएकाले मलाई मानिसका यस्ता यौनजीवनसम्बन्धी  कथा पढ्न सुन्न र कहिलेकाहीँ लेख्न पनि रुचि लाग्छ । यही रुचिअन्तर्गत नै मैले साहित्यकार बाबा न्यौपानेको पुस्तक ‘दोस्रो प्रहर’ पढ्ने मौका पाएकी थिएँ । यो किताब पढिरहँदा मेरो मनमा एकसाथ साहित्यकार बाबा न्यौपानेको लेखन र वामनप्रसाद न्यौपानेको काम याद आइरहेको थियो ।

पहिले सानो कुरा गर्छु, प्रशासक वामनप्रसाद न्यौपानेको । वामन एकजना कडा प्रशासक हुनुहुन्थ्यो । आफ्ना कुरा स्पष्ट राख्ने र नहुने कामलाई कुनै पनि मूल्यमा गर्दै नगर्ने । मैले पनि यस्ता कडा मिजास भनिएका प्रशासक वामनसँग धेरैअघि पटक पटक भेटेकी थिएँ । कहिले पत्रकारका रुपमा काठमाडौँको जिल्ला प्रशासन कार्यालयमा पुग्थेँ त कहिले सेवाग्राहीका रुपमा । यही कारण प्रशासक वामनप्रसाद न्यौपाने मेरा लागि असल, कर्तव्यनिष्ठ र जनताप्रति सचेत प्रशासक हुनुहुन्थ्यो ।

तर प्रशासक वामन नै बाबा न्यौपानेका रुपमा साहित्यिक क्षेत्रमा परिचित हुनुहुन्छ र यति प्रतिभाशाली कथाकार हुनुहुन्छ भन्ने मलाई कहिल्यै थाहा थिएन । धेरैपछि उहाँ साहित्य लेख्नुहुन्छ भन्ने थाहा भयाे तर किताब पढ्न साैभाग्य जुरेन । किनभने वामनप्रसाद न्यौपानेको नाममा कुनै पनि साहित्यिक वा गैरसाहित्यिक पुस्तक मेरो हातमा परेको थिएन । स्वभाविक पनि थियो, उहाँ बाबा न्यौपानेको नाममा लेख्नुहुँदो रहेछ र यही नाममा दुई वटा कथासङ्ग्रह छापिएका रहेछन् ।

यी कथा प्राप्त गर्न र पढ्न मैले करिब दुई दशक कुर्नुपर्यो ।

र, यो बेला भर्खरै ‘दोस्रो प्रहर’ कथा मेरो हातमा परेको छ । र, यो कथा पढिसकेर म निक्कै सोचमग्न छु, यौनजस्तो विषयमा उहाँले निर्धक्क कलम कसरी चलाउनु भयाे होला ! यी कथा पढिरहँदा मलाई उहाँको कुर्सीमा बसेको प्रशासकीय व्यक्तित्व पनि झलझली याद आइरहेको छ। उहाँले भेटेका कथाभित्रका पात्रहरू, उहाँको व्यक्तित्व, उहाँसँग आक्कलझुक्ल मसँग भएका सम्वाद र उहाँले लेखेका कथामा कतै तालमेल नै पाउँदिन ।

बाबा न्यौपानेको दोस्रो कथासङ्ग्रह हो– ‘दोस्रो प्रहर’ । किताब पनि यहीँ नाममा छ । दोस्रो सङ्ग्रह भएर पनि होला, पुस्तकको नाम पनि दोस्रो प्रहर राखिएको । तर कथासङ्ग्रहको नाम दोस्रो प्रहर राख्नुमा यो मात्रै कारण छैन सायद । मेरो विचारमा मान्छेको जीवनको पहिलो प्रहर बाल्यकाल हो । दोस्रो प्रहर, जवानी । अनि तेस्रो प्रहर वृद्धावस्था । पुस्तकमा मानव जीवनको दोस्रो प्रहरसँग सम्बन्धित कथाहरू भएकैले किताबको नाम दोस्रो प्रहर राखिएको हुनुपर्छ ।

उहाँले  मानिसका जीवनको सहजै नदेखिने यौनजीवनका स-साना तर अत्यन्त महत्त्वपूर्ण विषयहरूको सुषुप्त अध्ययनअनुसन्धान गरेर उठान गर्नुभएको छ। समाजमा यस्तो पनि छ है भनेर छर्लङ्गै देखाइदिनुभएको छ । उदाहरणका लागि पुस्तकको पहिलो कथा ‘झेल’लाई लिन सकिन्छ । आजको खुला र शिक्षित समाजमा पनि एउटी जवान युवतीले आफ्नी आमा र आफ्नै ठूलो बाबाबीच शारीरिक सम्बन्ध छ भन्ने थाहा पाउँदा पटक्कै पचाउन सक्दिनन् । अझ यही कारण आफ्ना पिताजीले सर्लक्क घर छाडेर हिँडेको सुन्दा ती युवतीको मानसिकता कस्तो हुन्छ, हामी कल्पना गर्न सक्छौँ ।

तर जुन दिन ठूलो बुबाको मृत्यु हुन्छ, त्यही दिनदेखि आमा कामीनी मुर्झाउँछिन् । उनको जिन्दगी लुटिन्छ । यता छोरी सुलोचनाको खुसीको दिन सुरु हुन्छ । अब घरभित्र जेठाजु-बुहारीको रासलीला देख्नुपर्दैन । समय बित्दै जान्छ र उसलाई जवानीले कुत्कुत्याउन थाल्छ । उमेरले आखिर घरकै सहयोगी मधुकरलाई भेट्छे । आफूभन्दा ८–१० वर्ष जेठा, समाजमा राम्रैसँग लुकाउन सकिने सम्बन्धले कुनै न कुनै रुपमा फस्टाउने मौका पाउँछ ।

तर अन्त्यमा मधुकरको व्यवहार र घटना जसरी परिवर्तित रुपमा देख्नुपर्छ, सुलोचना अवाक नभइरहन सक्दिनन् । आखिर यौन यस्तो व्यवहार हो, जसले कहाँ कस्तो रुपमा प्रकट हुन्छ, थाहा हुन्न । यी सबै घटना घटिरहँदा पनि बाहिर समाजका लागि त्यो घर सभ्य, सुसंस्कृत जस्तो देखिइरहन्छ । अतृप्त यौनकाे कारण घरपरिवारले पाएको मानसिक एउटा पीडाको एउटा बलियो उदाहरण पनि हो यो कथा ।

बाबा न्यौपानेको कथामा प्रायः महिलाहरू यौनमा अलि लोभिएका, बहकिएका वा बढी आकर्षित देखिएका छन् । अर्कोतर्फ एउटा आदर्श पुरुष जो, यौनसँग अलिकति टाढा तर आवश्यक पर्दा सजग हुँदै त्यसमा होमिएको देखिन्छ । सङ्ग्रहको दोस्रो कथा ‘नहारिएको युद्ध’मा यसको प्रत्यक्ष उदाहरण देख्न पाइन्छ । कथाकी पात्र लता यौनमा केही खुला र आक्रामक छे । उता पुरुष पात्र विपिन आदर्शवान, तथाकथित समाजले चाहेजस्तै छ । कतिसम्म भने आफ्नै श्रीमतीलाई उसकै अघि हाकाहाकी जिस्क्याउँदा वा सुनको सिक्री लैजाँदा पनि ऊ उनीहरूसँग भिड्ने जोखिम लिँदैन । जबकि लता सिनेमाको हिरो जस्तो आफूलाई श्रीमानले बचाओस् भन्ने चाहन्छे । यही रिसले माइती हिँडेकी लता आफ्नो पुरानो प्रेमी वसन्तसँग घरजम गर्ने उद्देश्यसहित पुग्छे ।

कथासङ्ग्रहमा विपिनजस्तो समाजिक लोग्नेमान्छे ‘बाइ, मिस मारिया’मा पनि छ भने ‘महामाया’ र ‘दोस्रो प्रहर’को यात्रीमा पनि छ । दुवै कथाका लोग्नेमान्छेका कथा फरक छन् । तर उनीहरूको भित्री चरित्र कताकता एउटै जस्तो लाग्छ । महिला पाठकका दृष्टिकोणबाट पढ्दै जाँदा यस्ता पात्रहरू र उनीहरूका व्यवहार अलि हाँस्यास्पद पनि लाग्छन् । यस्ता लोग्नेमान्छेहरू कथाभरि जताततै भेटिन्छन् । कथा पढ्दै जाँदा लाग्छ, लेखकलाई सोझो, इमान्दार, यौनमा उति रुचि नभएका जवान पुरुषहरूप्रति ज्यादा रुचि छ ।

अर्कोतर्फ लताजस्ता यौनमा अधीर स्वास्नीमानिस पनि कथाभरि नै छन् । चाहे ‘सनातन’, ‘रुमानी’ र ‘एउटा लहड–वृत्त’ कथामा भएकी रुमानी होस् वा ‘स्पर्श’ कथाकी मानसी । अझ ‘कन्याग्रह’ कथाभित्रकी मानसा पनि उस्तै लाग्छे । कोही हाकाहाकी आफ्नै भाइजस्ता युवकसँग यौनको इच्छा राख्छन्, कोही आफ्नै साथीहरूसँग । ‘एकचोटि फेरि’ कथामा प्रकृति र पुरुषबीचको सम्बन्ध अझ रमाइलो छ ।

शारीरिक सम्बन्धमा दुई जिउ भएकी प्रकृतिको अवस्था पुरुषलाई थाहासम्म छैन । आमा छोरी मिलेर गर्भपतन गरिसकेपछि पनि पुरुषसँगको सम्बन्ध पछिल्लो समय यथावत् रहनुले कथाकारले महिलाको यौनअधिकारको वकालत त गरेका छन् । साथमा पृष्ठभूमिमा एउटा निरीह लोग्नेको अवस्था पनि दर्साएका छन् ।

नौ वटा कथाहरूको सङ्ग्रह ‘दोस्रो प्रहर’ पुरापुर यौनको वरिपरि घुमेको छ । केही कथाहरू पढ्दा मलाई के लाग्यो भने, यस्ता घटनाहरू त हाम्रा गाउँघरमा कति सुनिन्थे, किन लेखिएन छ ? किन उठान गरिएन छ ? उठान गरेको भए त राम्रो कथा बन्ने रहेछ नि भनेर मनमनै पछुतोजस्तो लागिरह्यो । प्राय: कथाहरू एकपटक पढेपछि जीवनभरि कहिल्यै नबिर्सने गरी सम्झनामा आइरहने खालका छन् । यौन आवेगकै कारण किताबका सबै कथा र उनीहरूका पात्र अनेक घुम्तीहरू पार गर्छन् । जीवनमा पाउनुसम्मका दुःख पाउँछन् । परस्त्री गमन र परपुरुषसँग रमाउँछन् । सायद यही कारण जीवनलाई अप्ठ्यारो अवस्थामा पनि पुर्याउँछन् । यसको एउटा उदाहरण ‘म, मेनका र पराजित विश्वमित्र’ जस्ता कथाहरूबाट पनि लिन सकिन्छ ।

कथाहरू पढिसक्दा मेरो मनमा एउटै कुरा आइरह्यो । के कथाकारले भने जस्तै समाजमा महिलाह्रू मात्र यौनमा उत्ताउला छन् त ? कथाभरि महिलाले मात्र किन यौनमा बढी चासो लिए ? किन कथाभित्रका धेरै पुरुष पात्र सोझा, निरीह र तीतो सत्यबाट विमुख देखिन्छन् ? कथाकारले  महिला पात्रले यौनमा देखाएको आवेगलाई कताकति गलत रुपमा चित्रण गरेका त छैनन् ? किन पुरुषलाई विचराको पात्र बनाए हाेलान् ?

बाबा न्यौपाने पुरुष भएकैले पुरुषप्रति सहानुभूति देखाएको त होइनन् ? जसरी महिलाले केही लेख्दा महिलामाथि सहानुभूति देखाउँछन्, त्यस्तै पुरुषहरूले पनि आफ्ना जातिलाई बढी माया पो गरेको हो कि भन्ने कथा पढ्दा लागिरह्याे ।

तर जे भए पनि उहाँले शालीन र शिष्ट भाषामा यौनमनोविज्ञानलाई उठान गर्ने आँट गर्नुभएको छ । याैन मनाेवैज्ञानिक आख्यान पढ्न रुचाउनेहरूका लागि याे कथासङ्ग्रह पठनीय छ ।