आत्मविश्वासी, स्वाभिमानी र दृढ निश्चयी स्वभावका प्रा.डा.लक्ष्मणप्रसाद गौतम नेपाली साहित्यमा परिचित नाम हो । उत्कृष्ट र सुन्दर कृतिहरूसँग संवाद गर्न मन पराउने गौतमका समालोचनाहरू गहन र उत्कृष्ट कोटिका रहेका छन् । उहाँले हालसम्म १९ ओटा साहित्य समलोचनाका पुस्तकहरू प्रकाशन गराइसक्नुभएको छ । निबन्ध, कथा एवं कवितामा पनि उहाँको कलम चलेको हुन्छ । समलोचनाका विधि र पद्धतिहरू भए पनि वस्तुवादिता वा वस्तुगतता भित्र अनुसन्धान पद्धति अवलम्बन गरेर समलोचना लेखिनुपर्छ भन्ने मान्यता बोक्दै यस क्षेत्रमा निरन्तर कलम चलेको छ उहाँको ।

प्रस्तुत छ, नेपाली समालोचना साहित्यका अग्रणी सर्जक एवं प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमज्यूसँग साहित्यपोस्टका लागि छविरमण सिलवालले गरेकाे कुराकानीकाे सम्पादित अंशः

यहाँको लेखनका प्रारम्भिक दिनहरू कस्ता थिए ?

मेरो लेखनको आरम्भ सोह्र वर्षको उमेरदेखि भएको हो । त्यति बेला म प्रवेशिकामा पढदै थिएँ । प्रकाशनको सर्वसुलभता थिएन । कुनै पत्रिकामा एउटा रचना छापिनु ठूलो कुरा हुन्थ्यो र एक महिनासम्म चर्चाको विषय हुन्थ्यो । यस्तो परिस्थितिमा २०३६ को ‘नयाँ पुकार’ पत्रिकामा मेरो ‘मातृभूमि’ शीर्षकको कविता प्रकाशित भएको हो । त्यस समयदेखि अहिलेसम्म निरन्तर लेखिरहेको छु । मेरो पहिलो पुस्तक पाठ्यसामग्रीसँग सम्बन्धित थियो र त्यो २०४६ मा प्रकाशित भएको हो भने मेरो समालोचना यात्राचाहिँ २०४८ देखि सुरु भएको हो ।

प्रा.डा. लक्ष्मणप्रसाद गौतम

लेखक भएर बाँच्न कत्तिको सजिलो रहेछ ?

आर्थिक रूपमा भन्नुभएको हो भने नेपालमा लेखेकै भरमा बाँच्ने स्थिति अत्यन्त कम छ र थोरै सङ्ख्याका लेखक मात्र लेखनले बाँचेको अवस्था छ । अझ त्यसमा पनि मैले लेख्ने मुख्य विधा समालोचना भएकाले यस विधाका पाठक स्वतः नै कम हुन्छन् । अझ त्यसमा पनि मेरा धेरैजसो पुस्तकले दोस्रो तेस्रो संस्करणको अनुहार देखेका छन् । राम्रै समालोचनाका पुस्तक पनि पहिलो संस्करणमै सीमित रहेका अवस्थामा समालोचना लेखेर लेखक भएर बाँच्न गाह्रो छ । नुन, तरकारी पुग्छ; यथार्थ यही हो । आख्यानको बजारचाहिँ थोरैमात्र भए पनि सन्तोषजनक छ । आत्मसन्तुष्टिका रूपमा भन्नुभएको हो भने म त अत्यन्त खुसी छु । अरू भएर बाँच्नुभन्दा लेखक भएर बाँच्नु धेरै सजिलो । लेखक भएर बाँच्न आत्मिक रूपमा खुसी छु, सजिलो लागेको छ ।

हालसम्म प्रकाशित तपाईँका पुस्तकहरू कुन होलान् ?

ओहो ! कस्तो प्रश्न सोध्नुभयो ! विवरण नै पेश गर्नुपर्ने भयो त ! कान्छो कृतिबाट विवरण नै दिएँ है त –

(१)    आधुनिक नेपाली छन्दकवितामा युगीन यथार्थ (२०७७) समालोचना

(२)    ऊहापोह (२०७४) कथासङ्ग्रह

(३)    लघुकथाको रचनाविधान (२०७२) समालोचना

(४)    चितवनको साहित्यिक रूपरेखा (२०७२) समालोचना

(५)    कविताको सैद्धान्तिक विमर्श (२०६९) समालोचना

(६)    नेपाली कथाको इतिहास (सह–२०६९) समालोचना

(७)    राजनीतिक आन्दोलन र समकालीन नेपाली कविता (२०६८) समालोचना

(८)    उत्तरवर्ती नेपाली समालोचना – केही प्रतिरूप (२०६८) समालोचना

(९)    समकालीन नेपाली कविताका प्रवृत्ति (२०६६) समालोचना

(१०)   नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना (२०६६) समालोचना

(११)   नोबेल पुरस्कार विजेता साहित्यकार (सह–२०६२) जीवनीपरक समालोचना

(१२)   विज्ञान शब्दकोश (सह–२०६०) कोशग्रन्थ

(१३)   समकालीन नेपाली कविताको विम्बपरक विश्लेषण (२०६०) समालोचना

(१४)   सान्दर्भिक समालोचना (२०५७) समालोचना

(१५)   चितवनको साहित्य – सर्वेक्षण र विश्लेषण (२०५२) समालोचना

(१६)   नन्दको काव्यिक परिवेश (२०५२) समालोचना

०     अन्य शैक्षणिक पुस्तक २०४६ देखि (३ वटा मात्र)

०     सम्पादित ग्रन्थहरू १८ वटा

०     सम्पादित पत्रिकाहरू ३२ वटा

०     फुटकर समालोचना विभिन्न पत्रिकामा करिब ६५० भन्दा बढी

०     विभिन्न पत्रिकामा कविता र निबन्ध गरी करिब १०० भन्दा बढी ।

साहित्य र राजनीतिका बारेमा आफ्नो विचार राखिदिनुहुन्थ्यो कि !

यसबारे धेरै बोल्न मन लागेन । एक वाक्यमा यत्ति भनेँ – साहित्य मेरा लागि सबैभन्दा प्रिय र राजनीति मेरा लागि चरम घृणायोग्य कुरा !

छविरमण सिलवाल

वर्तमान राजनीतिक अवस्थाप्रति यहाँको धारणा ?

नेपालको वर्तमान राजनीतिजस्तो कुरूप, घृणास्पद र निर्लज्ज राजनीति नेपालको इतिहासमै थिएन । हजारौँ मान्छे मरिरहेको यस्तो अवस्थामा पनि सरकार निर्लज्ज किसिमले सत्ताको उन्मादमा छ । यस्तै स्थितिलाई सङ्केत गरेर खुमनारायण पौडेलले एउटा कविता लेखेका थिए– ‘………वेश्याको कापमा उत्सव मनाइरहेछ ।’ अहिलेको राजनीति ठीक त्यस्तै छ ।

एउटा सफल लेखक बन्नका लागि के गर्नुपर्ला ? आफ्ना अनुभव केही छन् कि ?

पहिलो कुरा त यहीँ प्रश्न आउँछ, सफल लेखक कस्तालाई भन्ने ? चर्चित लेखक सफल हो कि प्रतिष्ठित लेखक सफल हो ? यस कुरालाई गम्भीरतापूर्वक मनन गर्नुपर्छ । अहिले जमाना विज्ञापनको छ । जो जति चर्चित भयो, ‘सेलिब्रेटी’ भयो, उसैलाई सफल मान्ने आम प्रवृत्ति छ । म यसमा आंशिक सत्यता मात्र देख्छु । चर्चा क्षणिक हुन्छ, त्यसले इतिहास निर्माण गर्दैन । प्रतिष्ठित लेखक चर्चा चाहँदैन । यी दुईका बीचको भिन्नता कसले पर्गेल्ने ? त्यो पर्गेल्ने भनेको सचेत पाठक (सबै पाठक सचेत हुँदैनन्) र हाम्रो सरकारी साहित्य निकाय प्रज्ञा-प्रतिष्ठानले हो । चर्चित साहित्यकार बन्न के गर्नुपर्छ; त्यो तपाईँ बुझिहाल्नुहुन्छ तर प्रतिष्ठित लेखक बन्न पहिलो कुरा त लेखनमा साधना र समर्पण नै हो । प्रतिभा आफ्नो ठाउँमा छ । प्रतिभालाई तेजिलो बनाउने काम साधना र समर्पणले गर्छ । दोस्रो कुरा हार्दिक र बौद्धिक दुवै किसिमका पाठकको भोक मेटाउने र तरङ्गित पार्ने कृति हुनुपर्छ । अरू लेखकले लेखेकोभन्दा फरक विषय र फरक शैलीमा लेख्न सक्यो भने त्यो लेखक सफल हुन्छ । ‘फलानो पुस्तक यति महिनामै यति प्रति बिक्यो’ भन्ने कुरा मात्र मापनको आधार हुँदैन । अहिले पनि लेखनाथ, देवकोटा, विपी, पारिजात आदि नै किन सबैभन्दा बढी पढिन्छन् ? यस प्रश्नमा मनन गर्नुपर्छ । तेस्रो कुरा कुनै पनि लेखकका रचना वा कृतिले कुनै नवीन विचार, चिन्तन र दृष्टिकोण दिनुपर्छ । त्यो दिन नसक्ने लेखकले इतिहासमा पृथक् स्थान लिन सक्दैन । यसबारे मेरो अनुभव भन्नुहुन्छ भने अरू कुरा मेरो लेखनका सम्बन्धमा मैले भन्ने होइन, पाठकले भन्ने हो । म यत्ति मात्र भन्न सक्छु– साहित्यप्रति, लेखनप्रति म प्रतिबद्ध छु र साधना एवम् समर्पण पनि छ । अहिलेलाई यत्ति भनूँ ।

सम्मान पुरस्कारबारे यहाँको दृष्टिकोण के छ ? आफ्ना केही अनुभव ?

लेनदेनका, आदान–प्रदानका र मनसुनअनुसार भनसुन गरिएका पुरस्कार सम्मानबाहेक लेखनको स्वच्छ मूल्याङ्कन गरेर दिइने सबै किसिमका पुरस्कार सम्मानप्रति मेरो सम्मान छ । यसमा विकृति पनि धेरै छन् । एउटा संस्थाको मान्छेलाई अर्को संस्थाले सम्मान पुरस्कार दिन्छ र एक महिना नबित्दै अर्काले त्यसको पैँचो तिर्छ अनि अर्को कुरा स्रष्टाहरूमा पुरस्कार सम्मान पाउनका लागि अनेक किसिमले प्रभाव पार्ने प्रवृत्ति पनि छ । पुरस्कार त्यसरी मागेर लिने कुरा होइन । मागेर लिएको त भिक्षा हुन्छ । त्यसलाई कसरी पुरस्कार भन्ने ? पुरस्कारमा देखिएका यी विकृतिप्रति मेरो विमति छ । कसैका लागि अरू कसैले दिन योग्य भएमा सिफारिस गर्नु बेग्लै कुरा हो, मैले पनि अरुलाई सिफारिस गरेको छु तर लेखक आफैँले माग्नु र धाउनु कदापि राम्रो होइन । म पनि धेरै सम्मान पुरस्कार पाउनेमध्येमै पर्छु । मैले यति कडा कुरा किन गरिरहेको छु, बुझिहाल्नुभयो । अँ, तपाईँले रोचक अनुभवका कुरा गर्नुभयो नि ! केही अचम्मका संयोगचाहिँ छन् मसँग । मैले धेरै वर्षपहिले रत्न श्रेष्ठ पुरस्कार पाएँ, त्यसपछि ईश्वर बराल समालोचना पुरस्कार पाएँ, दुई-तीन वर्षअघि चेतना साहित्य संरक्षण पुरस्कार पाएँ । गज्जबको संयोग के भने ती सबै पुरस्कार ग्रहण गर्ने समारोहमा नै अर्को वर्षदेखि यसको राशि बढेर यति बनाइएको छ भनेर त्यही मञ्चबाट घोषणा भई ती पुरस्कारको राशि दोब्बर भएका थिए । सहकाल ल्याउने भन्छन् नि ! त्योचाहिँ भएको छ, अचम्मको संयोग ।

यहाँको साहित्यिक सक्रियताका पछाडि के छ त्यस्तो रहस्य ?

कुनै रहस्य छैन छविजी ! विश्वविद्यालयका आफ्नो कर्तव्यभिन्नका यावत् काम, सार्वजनिक व्यक्ति भएकाले तदनुरूप आइपर्ने काम र केही पारिवारिक सामाजिक कामहरूबाट बचेको समय कत्ति पनि दुरुपयोग गर्दिनँ । अरू कामहरूको चाप नभएका बेला त्यो समय पनि अध्ययन–लेखनमा नै जान्छ । यसै कारणले पनि सक्रियता देखिएको होला । यदि ईश्वरले आएर एउटा मात्र वरदान माग भन्ने हो भने म समय माग्छु । यसबारे अहिले यत्ति भनूँ ।

साहित्यमा राजनीतिक हस्तक्षेपप्रति यहाँको धारणा ? नेपाल सरकारले साहित्यलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?

साहित्य भान्साकोठा हो र राजनीति शौचालय ! भान्साघरभित्रै वा भान्साकोठाभित्रै शौचालय भइदियो भने कस्तो होला ? आफैँ मनन गर्न सक्नुहुन्छ । शौचालयले भान्साघरमा हस्तक्षेप गरेपछि भान्सामा बसिसाध्य होला ? रह्यो सरकारको कुरा ! सरकार कुनै राजनीतिक दलको हुन्छ र साहित्यलाई राजनीतिनिरपेक्ष बनाउनुपर्छ भन्दै सरकार भाषण गर्छ र सबैभन्दा बढी राजनीतिक हस्तक्षेप सरकारले नै गरिरहेको हुन्छ । भाषणमा चाहिँ साहित्यलाई हेर्ने सरकारी दृष्टिकोण अत्यन्त राम्रो छ तर व्यवहारमा झाराटराइ मात्र छ । तपाईँको यो कुरा सरकारी हस्तक्षेपको सन्दर्भसँग पनि जोडिन्छ । जस्तो कि प्रज्ञा-प्रतिष्ठानको गठन कुरा ! सरकारले साहित्यको संरक्षण गर्ने हो, हस्तक्षेप होइन । म त भन्छु प्राज्ञहरूको नियुक्ति सरकारले गर्ने होइन । त्यसका लागि भूतपूर्व कुलपति/उपकुलपतिहरूसमेत भएको उच्चस्तरीय एउटा प्राज्ञिक परिषद्‌को सामूहिक र गम्भीर छलफलबाट उच्च प्रज्ञा–चेतना झएका व्यक्तित्वहरू नियुक्त हुनुपर्ने हो । यहाँ त संस्कृतिमन्त्री र प्रधानमन्त्रीको गोजीबाट झिकेर नियुक्ति गर्ने चलन छ । विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा पनि त्यही हाल छ अनि कसरी हुन्छ साहित्यको उन्नति ? मूल जरैदेखि यस्ता नीतिनियममा नै आमूल परिवर्तन ल्याउनुपर्छ । नत्र प्रज्ञा प्रतिष्ठानका कुनै उत्सव वा अन्य संस्थाका साहित्यिक कार्यक्रममा मन्त्रीले साहित्यको व्याख्याता बनेर साहित्य र साहित्यकारलाई भाषणको खेतीमा फुर्क्याएका भरमा मख्ख पर्नुबाहेक केही छैन । तसर्थ साहित्यलाई हेर्ने सरकारी दृष्टिकोणबाट म सन्तुष्ट छैन ।

असल नागरिक जन्माउन असल साहित्यको आवश्यकता पर्छ भन्छन् नि, के यो सत्य हो ?

आंशिक सत्य हो, किनकि नेपालका सन्दर्भमा राम्रा साहित्यिक कृति पढेर, त्यसबाट प्रभावित भएर आफ्नो जीवनशैलीमा नै परिवर्तन ल्याई साँच्चै असल नागरिक भएका व्यक्ति दुई-तीन सय जना पनि होलान् र ? मलाई शङ्कै लाग्छ, तथापि असल साहित्यले पाठकका मानसिकतामा चाहिँ गहिरो प्रभाव पार्छ तर त्यसका लागि अध्ययन संस्कृतिको विकास हुनुपर्छ । हामीकहाँ पठनसंस्कृति त त्यति नभएको देशमा अध्ययन संस्कृतिको कुरा त अझै पर (पठन र अध्ययनमा धेरै फरक छ) । विदेशतिर हेर्‍यौँ भने एक घण्टाको हवाइजहाज यात्रा, पानीजहाज यात्रा वा रेलयात्रामा पनि मानिसहरूका हातमा पुस्तक हुन्छ । नेपालमा मैले अहिलेसम्म त्यस्तो देखेको छैन । भारतका हरेक रेलवे स्टेसनहरूमा पुस्तकपसल हुन्छ तर हामीकहाँ त्यो चेतना अत्यन्त कम छ । केही राम्रा होटल र रेस्टुरेन्टहरूमा साहित्यिक पुस्तक राखेको देखेको छु । पठन–अध्ययनलाई हामीले आफ्नो जीवनशैली, संस्कार र संस्कृति बनाउन सक्यौँ भने असल नागरिक जन्माउने असल साहित्यले नै हो ।

नेपाली सृजनात्मक साहित्यका लागि समालोचना कत्तिको जरुरी छ ?

यस सम्बन्धमा महाकवि देवकोटाको एउटा अभिव्यक्ति भन्न मन लाग्यो । समालोचनाका सम्बन्धमा उनले भनेका छन्– ‘समालोचनाले साहित्यलाई चिलाएको ठाउँमा ठुङ मारिदिन्छ ।’ यही एक वाक्य पर्याप्त छ सृजनात्मक साहित्यमा समालोचनाको आवश्यकता र महत्त्व बुझाउन । त्यसो त समालोचना पनि साहित्य नै हो र यसलाई त म सृजनामाथिको पुनःसृजना भन्छु । स्वस्थ समालोचना स्वस्थ सृजनाका लागि औषधि हो । अस्वस्थ भइदियो भने त घातक भइहाल्छ फेरि ।

एउटा समालोचकका आँखाले हेर्दा नेपाली साहित्यलाई कस्तो देख्नुभएको छ ?

कस्तो व्यापक तर अमूर्त प्रश्न गर्नुभयो त छविजी !

लिखित नेपाली साहित्यको इतिहास करिब साढे दुईसय वर्षको छ र यस अवधिमा नेपाली साहित्यका विभिन्न विधाउपविधाको जुन किसिमले विकास भएको छ, त्यो सन्तोषप्रद नै देखिन्छ । नेपाली साहित्यका कृतिहरूलाई विश्वसाहित्यसँग जोडेर हेर्दा प्रायः नोबेल पुरस्कार प्राप्त कृतिहरूसँग दाँजेर हेर्ने गरिन्छ । यस दृष्टिले नोबेल पुरस्कार पाएका कृतिहरूजत्तिकै स्तरीय कृतिहरू लेखनाथ पौड्यालदेखि नै लेखिएका छन् र हालसम्म त्यस्ता कृतिहरूको सङ्ख्या अत्यन्त कम होलान् तर छन् । अहिलेको साहित्यले त झन् विश्वसाहित्यमा पछिल्लो समयमा विकसित नवीन प्रवृत्तिलाई पनि आत्मसात् गरेको देखिन्छ । यो प्राप्तिपूर्ण कुरा हो तर प्रविधिको सुलभताले होला पछिल्लो समयमा कृतिप्रकाशनको सङ्ख्यात्मक वृद्धि अत्यधिक छ र त्यसका तुलनामा गुणात्मक वृद्धिदर अत्यन्त कम छ ।

नेपाली साहित्यको वर्तमान लेखनप्रति यहाँको दृष्टिकोण ?

नेपाली साहित्यको वर्तमान लेखनभन्दा पनि म वर्तमान लेखनको मूल प्रवाहको कुरा गर्छु । समग्र वर्तमान लेखनको कुरा गर्ने हो भने यसको सङ्ख्यात्मक वृद्धि र गुणात्मकताको ग्राफ धेरै तलमाथि पर्छ । तथापि सङ्ख्यामात्र मूलप्रवाह होइन, मूलप्रवाह धान्ने गुणात्मकताले हो, त्यो सन्तोषजनक छ । चामलभन्दा कनिका र भुस धेरै हुनुलाई अस्वाभाविक मान्न सकिन्न । वर्तमान लेखन भनेर मैले यहाँ २०६० को दशकन ताको पुगनपुग दुई दशकको साहित्यको कुरा गर्दै छु । यस दृष्टिले अहिलेको साहित्य बहुत्वमय अर्थात् बहुलवादी प्रवृत्तिको छ । लैङ्गिक, क्षेत्रीय, जातीय, सीमान्तीय, दलित आदिका पहिचानका कुरा साहित्यमा आउनु, केन्द्रभङ्गका कुराहरू आउनु, सबैभन्दा ठूलो कुरा साहित्यमा अन्तर्विषयकताको व्यापकता बढ्दै जानु, प्रतिरोधी स्वरहरू सशक्त भएर आउनु, साइबर संस्कृतिको व्यापक प्रभाव बढ्दै जानु, पर्यावरणीय चेतना, उत्तरआधुनिक चेतना, नारीवादी चेतना, विनिर्माणिक चेतना र अन्य प्रयोगशीलताका र मानवीय सम्बन्धहरूका पुनर्व्याख्याबारे पनि आजका कृतिहरूमा व्यापक विमर्श हुनु वर्तमान नेपाली साहित्यका मूलप्राप्ति र विशेषता हुन् । यिनै विशेषताहरू र अन्य विभिन्न कतिपय विशेषताहरूका साथ वर्तमान नेपाली साहित्य गतिशील छ । यी कुराहरू अघि मैले भनेका चामलका कुरा हुन् । कनिका र भुस निफन्न केलाउनतिर म लागिनँ है ।

यहाँका समालोचनाकृति अरूका भन्दा फरक भएको पाइन्छ, यसबारे यहाँको धारणा ?

आफ्ना समालोचनाबारे म आफैँ के टिप्पणी गरूँ र ! फरक देखिदिनुभयो, त्यसका लागि धन्यवाद । अहिलेलाई यत्ति भनूँ– समालोचनामा मलाई अरूले बनाएको राजमार्गमा हिँड्नुभन्दा आफैँले झाडी फाँडेर हिँड्न मन लाग्छ । सकेसम्म अरूले प्रायः नछोएका विषयमा कलम चलाउन रुचाउँछु । मेरा समालोचनाबारे मूल्याङ्कन गर्ने जिम्मा पाठकको हो ।

वर्तमान नेपाली समालोचनाप्रति यहाँ सन्तुष्ट हुनुहुन्छ ?

नढाँटी भन्दा म त्यति सन्तुष्ट छैन । एउटा प्ररूप (फर्म्याट) भित्र रहेर उस्तै प्रकृतिका समालोचना लेख्ने र पाठ्यवस्तुसँग सम्बद्ध भएर विधातत्त्वका आधारमा समालोचना लेख्ने प्रवृत्ति देखिन्छ अहिले पनि । अबका समालोचक त्यस प्रवृत्तिबाट मुक्त हुनुपर्छ । समालोचना सृजनामाथिको पुनःसृजना हो र गम्भीरतापूर्वक कृतिभित्र पसेर कृतिअनुकूलका सैद्धान्तिक मान्यताभित्र रहेर लेख्नुपर्छ र अन्तर्विषयकताका दृष्टिले आजको साहित्यलाई हेर्नुपर्छ भन्ने मेरो धारणा हो । यस दिशातिर कामै नभएका त होइनन् तर कम छन् ।

तपाईँ त सर्जक पनि, समालोचक व्यक्ति कसरी सर्जक हुनुभयो ?

समालोचनाभित्र पनि सृजना हुन्छ छविजी ! अघि मैले भनेँ नि समालोचना पुनःसृजना हो भनेर । हरेक व्यक्तिभित्र सर्जक लुकेको हुन्छ र मेरा सृजनाहरू पनि त्यसरी नै आएका छन् । मेरो लेखनयात्रा सृजनाबाट नै अगाडि बढेको हो । करिब पाँच दर्जन कविता र डेढ दर्जन जति निबन्ध विभिन्न पत्रिकामा प्रकाशित भएका छन् । एउटा ‘ऊहापोह’ कथासङ्ग्रह पनि साङ्ग्रिला बुक्सबाट प्रकाशित छ । कथाचाहिँ धेरै पछि लेख्न थालेको हुँ र त्यही कृति नै पहिलो आयो । नेपथ्यमा रहेर कुनै रहस्यमयी शक्तिले मलाई कथा लेख्न उत्प्रेरित गरिरह्यो र त्यसैको परिणाम स्वरूप ‘ऊहापोह’ जन्म्यो । हेरौँ निबन्धसङ्ग्रह आउँछ कि कुनै दिन ! तर पनि मलाई के लाग्छ भने मेरा सृजनाहरू मेरा समालोचनाका सह-उत्पादन (बाई प्रोडक्ट) हुन् ।

यहाँले भन्नुपर्ने अरू केही ?

तपाईँले आफ्नो सञ्चारमाध्यमबाट मेरा धारणाहरू राख्ने अवसर दिनुभयो, त्यसका लागि हार्दिक धन्यवाद ! वर्तमान सन्त्रासमय सन्दर्भमा यत्ति भन्छु– कोरोनाका कारण दिवङ्गत हुनुभएका स्रष्टाहरू र सम्पूर्ण नेपालीहरूप्रति हार्दिक श्रद्धासुमन ! सङ्क्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना ! सबैको ज्यान बचाउन सरकारमा सद्बुद्धि पलाओस् ।